स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग – Kanika Khabar
Sunday, November 1Nepali News Portal

स्वतन्त्र प्रेसको रक्षा गर्न इन्सेकको माग

    मा प्रकाशित

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विभिन्न सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि गरिएको धरपकडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

आइतबार इन्सेकले विज्ञप्ति जारी गर्दै कार्तिक १३ गते पत्रकार विश्वमणि सुवेदी, शोभराज बराल र धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको र नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरी पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण भएको बताएका छन्।

प्रकाशित समाचारको विषयवस्तुलाई लिएर कसैको असहमति भए कानुनी उपचारका बाटाहरू खुला हुँदाहुँदै प्रहरी प्रशासनबाट सञ्चार गृहमाथि नै धरपकड हुनु र पत्रकारहरूलाई त्रसित पारिनु लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत भएको इन्सेकको ठहर छ।राज्यका निकायहरूबाट हुने हरेक कार्यको संस्थागत जवाफदेहिता सरकारले लिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विगत केही समयदेखि अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधिहरू बढिरहेका सन्दर्भमा सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता व्यवहारमै पुष्टि गरेर देखाउनु पर्ने पनि इन्सेकले उल्लेख गरेको छ ।

इन्सेकले भनेको छ- ‘नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ। संविधानले प्रत्याभूत गरेका हकहरू लोकतान्त्रिक शासन व्यवस्थाका आधार स्तम्भ हुन्। संविधान प्रदत्त अधिकार बरखिलाप हुने यस्ता कार्यहरूको हामी विरोध गर्दछौं। घटनाको सत्य तथ्य जानकारी गराउन भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितताको माग गर्दछौं ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्