वीरगञ्ज । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा नदी सफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका काम अघि बढाइएको हो ।
नदीमा उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसिने समस्या नियन्त्रण गर्न सम्बन्धित उद्योगलाई कडाइका साथ निर्देशन दिइएको छ। उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न निर्देशन दिँदै संयुक्त अनुगमन गर्ने जनाएको थियो ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा कात्तिक १५ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको छ । बैठकले उद्योगहरूलाई फोहोर पानी प्रशोधन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न, साना तथा मझौला उद्योगका लागि साझा प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न र नगरपालिकाको ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था गर्न निर्णय गरेको छ । नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
यसअघि नदी प्रदूषण गरेको पुष्टि भएपछि १२ उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको थियो। जरिवानामा पर्ने उद्योगमध्ये जगदम्बा स्टिल इन्डस्ट्रिज, हुलास स्टिल इन्डस्ट्रिज, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टिल इन्डस्ट्रिज रहेका छन् ।


