घोराही । कनिका खबर प्रा.लि.द्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम कनिका खबर डटकमले जिल्लास्तरीय माध्यमिक तहको हाजिरीजवाफ प्रतियोगिता ‘कनिका क्विज सिजन–४’ आयोजना गर्ने भएको छ ।
विद्यार्थीको ज्ञान, क्षमता र प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता आगामी २०८३ साल मङ्सिर २० गते आइतबार घोराहीस्थित राजविद्या पाठशालामा सञ्चालन हुने छ ।
कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउने प्रतियोगितामा दाङ जिल्लाभरिका संस्थागत तथा सामुदायिक विद्यालयलाई सहभागिताका लागि आह्वान गरिएको छ । प्रतियोगितामा दाङ जिल्ला सम्बन्धी, इतिहास, विज्ञान तथा प्रविधि, धर्म तथा संस्कृति, भूगोल, साहित्य तथा पुरस्कार, खेलकुद, समसामयिक, विविध, अडियो/भिडियो/चित्र र सामूहिक प्रश्नलगायतका विधाबाट प्रश्न सोधिनेछन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विजेता विद्यालयलाई नगद पुरस्कारसँगै प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट १० विद्यालयको नतिजा सार्वजनिक गरिने र उत्कृष्ट १० भित्र पर्न सफल विद्यालयलाई पनि प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयले तीन हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । विद्यालयहरूले २०८३ साल मंसिर १९ गते बेलुका ५ बजेसम्म kanikakhabar@gmail.com मा इमेलमार्फत समूह दर्ता गराउन सक्नेछन् ।



