दाङ ।त्रिभुवननगर जेसीजको आयोजनामा घोराहीस्थित गुरुकुल एकेडेमीमा सम्पन्न ‘किरण दाहाल स्मृति हाजिरीजवाफ प्रतियोगिता–२०२६’ मा सिद्धार्थ एकेडेमी प्रथम भएको छ ।
त्रिभुवननगर जेसीजको वार्षिक कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा घोराही उपमहानगरपालिकाभित्रका १५ सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ज्ञानोदय सेकेन्डरी इङ्लिस स्कुल द्वितीय र गुरुकुल एकेडेमी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई गोल्ड मेडलसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्रिभुवननगर जेसीज वर्ष २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डा. रसाइलीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता ज्ञानमूलक प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षा किताबी ज्ञानमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको विश्लेषणात्मक क्षमता, तर्कशक्ति र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, कार्यक्रमका अध्यक्ष भाटले जेसीज युवा क्षमताको विकास र नेतृत्व निर्माणमा निरन्तर क्रियाशील रहेको बताउनुभयो । विद्यार्थीहरूलाई ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक गतिविधिमा सहभागी गराउँदै भविष्यमा नेतृत्वदायी भूमिकाका लागि तयार पार्नु संस्थाको उद्देश्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा बसुन्धरा गौतम, निशान्त आचार्य र डा. लोकराज पराजुली रहनुभएको थियो । कार्यक्रम संयोजक रणबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव बाबुराम पाण्डेयले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी, जनसम्पर्क अधिकारी कृष्णदेव थापा मगर र कोषाध्यक्ष रोशन दाहालले कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा सहयोग गर्नुभएको थियो । त्रिभुवननगर जेसीजको एजुकेशन पार्टनरका रूपमा रहेको गुरुकुल एकेडेमीका प्रिन्सिपल प्रदीप राज भण्डारीको समेत उपस्थिति रहेको कार्यक्रममा जुनियर जेसीजकी महासचिव अदिति केसीले जेसीज आस्था पाठ गर्नुभएको थियो ।
विद्यार्थीहरूमा ज्ञान, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको आयोजकले जनाएको छ ।


