कनिका संवाददाता
बैशाख २२, दाङ ।
सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ ।
प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा वन्देज लगाउने समेत निर्णय गरेको हो ।
कर्णाली प्रदेश संग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्र तथा सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशले नाका सिल गरेको हो ।
प्रदेशको कुनै स्थानमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट ुसमेत पठाउने निर्णय बैठकले गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
सम्बन्धित निर्माण व्यवसायीले कामदारलाई ग्रुप आइसोलेसन गरी सुरक्षा प्रबन्ध मिलाउने गरी यस अवधिमा प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।