नाम मात्रैका आइसियु , आइसियु छ जनशक्ति छैनन् – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नाम मात्रैका आइसियु , आइसियु छ जनशक्ति छैनन्

    मा प्रकाशित

देवेन्द्र बस्नेत
दाङ,भदौ ९ ।


गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आईसियु सेवा सञ्चालन गर्ने योजना बनायो । जसका लागि १० वटा बेड आईसियु सेवाका लागि तयार पारिए भने तीनवटा भेन्टिलेटरको व्यवस्थापन गरियो । गत वैशाख ३१ मा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले तामझाम सहित उक्त आईसियु सेवाको उद्घाटन गरे । आईसियू सेवाको उद्घाटन पछि प्रतिष्ठानको अस्पतालमा आउने गम्भीर प्रकृतिका बिरामीहरुको उपचारका लागि धेरै सहज हुने अपेक्षा गरियो । आईसियू सेवाको उद्घाटन मात्रै भयो तर सेवा सञ्चालन भने अहिले सम्म हुन सकेको छैन । कारण हो — आईसियु सेवा सञ्चालनका लागि चाहिने आवश्यक दक्ष जनशक्ति अभाव । ‘आईसियु सेवाको उद्घाटन त भयो तर सेवा सुचारु गर्न सकिएन,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले भने ‘आईसियु कक्षको उद्घाटन गरेर मात्रै भएन, आवश्यक दक्ष जनशक्ति नहुँदा सेवा सुरु गर्न सकिने कुरै भएन ।’
दाङकै बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित तीनजना गम्भीर बिरामी परे । उनीहरुलाई आईसियु अनिवार्य चाहिने भयो । यो अस्पतालमा पाँच बेड सहितको आईसियु सेवा छ । तर ती तीनजना बिरामीहरुलाई अस्पतालले आईसियु सेवा उपलब्ध गराउन सकेन । उसले आईसियुका लागि तीनैजना बिरामीलाई बुटवल रेफर गरिदियो । यो अस्पतालमा आईसियु त छ , तर सेवा सञ्चालन गर्ने जनशक्ति छैन । ‘यहाँबाट अलि बढी सिरियस केसलाई आईसियु सेवाका लागि बुटवल रेफर गर्यौँ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले भने ‘हामीसँग आईसियु त छ तर सेवा सञ्चालनका लागि जनशक्ति छैन, यसर्थ रेफर हाम्रो लागि एकमात्रै विकल्प हो ।’ उनका अनुसार बुटवल रेफर गरिएका तीनजना कोरोना संक्रमितमध्ये दुईजना निको भएर घर फर्किसकेका छन् भने अर्का एकजनाको भने अहिले पनि आईसियुमै उपचार भैरहेको डा. शर्माले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोरोना विशेष अस्पताल । यी दुई अस्पताल मात्रै जिल्लाका आईसियु सहितका अस्पताल हुन् । तर दुबै अस्पतालमा रहेको आईसियु सेवा भने सञ्चालनमा छैन । फलतः गम्भीर प्रकृतिका बिरामीहरुलाई बाहिर रेफर गर्नु बाहेक अर्को विकल्प जिल्लामा छैन ।
१० बेड सहितको आईसियु कक्ष रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एनेस्थेसिया एमडी गरेका डाक्टरहरु तीनजना चाहिन्छ । तर यो प्रतिष्ठानमा हाल एकजना मात्रै छन् । ‘हामीले भएको एकजना एनेस्थेसियाका डाक्टरसापलाई पनि त्यहाँ खटायौँ, भने अस्पतालको अन्य उपचार सेवा प्रभावित हुन्छ,’ प्याकुरेलले भने ‘प्रतिष्ठानलाई जनशक्ति उपलब्ध गराउने सवालमा कोही पनि गम्भीर देखिएन ।’ यसैगरी नर्स तथा एनेस्थेसियाका दक्ष प्राविधिक सहितको जनशक्ति यो सेवाका लागि चाहिन्छ । तर प्रतिष्ठानमा यो जनशक्ति शून्य अवस्थामा छ । प्रतिष्ठानसँग अहिले उपलब्ध जनशक्ति पनि कोरोना परीक्षणमा बढी परिचालित हुनु परेकाले प्रतिष्ठानले आफूसँग उपलब्ध जनशक्तिलाई परिचालन गर्न निकै समस्या रहेको रजिष्ट्रार प्याकुरेलले जानकारी दिए । ‘अहिले प्रतिष्ठानमा भएको जनशक्ति कोरोना परीक्षणमा मुभ भएको छ , यसर्थ हामीहरुसँग उपलब्ध जनशक्ति अन्य थप सेवाका लागि परिचालन गर्न सक्ने अवस्था छैन’ उनले भने । तर, प्रतिष्ठानमा रहेको आईसियु सञ्चालनका लागि जनशक्ति व्यवस्थापनका लागि कुनै पनि तहको सरकारले सहयोग गरेका छैनन् । प्याकुरेलले संघीय सरकार तथा प्रदेश सरकारले यसको व्यवस्थापनका लागि दायित्व बोध गर्नुपर्नेमा त्यसो हुन नसकेको वताए । यसैगरी स्थानीय सरकारहरुले समेत जनशक्ति व्यवस्थापनका लागि उपल्ला सरकार समक्ष पहलकदमी लिन ईच्छुक देखिन्नन् । ‘प्रतिष्ठानमा आईसियु सेवा सञ्चालनका लागि न त संघीय सरकारले जनशक्ति व्यवस्थापनमा गाम्भिर्य देखाएको छ न त प्रदेश सरकारले नै देखाउन सकेको छ,’ प्याकुरेलले भने ‘न त स्थानीय सरकारहरुले नै यसका लागि पहलकदमी लिन सकेका छन् ।’ प्रतिष्ठानले आईसियु सेवा सञ्चालनका लागि चाहिने आवश्यक दक्ष जनशक्तिको सुची सहित सरका समक्ष माग गरिरहेको छ । तर प्रदेश तथा संघीय सरकार प्रतिष्ठानको यो मागप्रति गम्भीर देखिएका छैनन् । तथापि प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले आईसियु सञ्चालनका लागि दौडधुप थालेको प्रतिष्ठानले जनाएको छ । ‘भिसि सापले यसका लागि दौडधुप गरिरहनु भएको छ,’ प्याकुरेलले भने ‘चाँडै आईसियु सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन होला आशा गरौँ ।’ यसैगरी आईसियु सेवा सञ्चालनका लागि आवश्यक बजेटको समेत अभाव रहने उनले बताए ।
उता बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेको आईसियु सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गरिएको अस्पतालले जनाएको छ । ‘आईसियु सेवा सञ्चालनका लागि धेरै ठूलो जनशक्ति आवश्यक पर्छ,’अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले भने ‘यसका लागि हामीहरुले प्रदेश सरकारसंग माग गरिरहेका छौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्