कनिका संवाददाता
बैशाख २३, दाङ ।
दाङ लगायत देशका विभिन्न स्थानमा भारी वर्षा सुरू भएकाे छ । अहिले नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।
नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
वर्षा के हाे र कसरी हुन्छ ?
वर्षा वायुमण्डलमा संकलित जलवाष्प अत्याधिक गह्रौ भएर पृथ्वीको गुरुत्वाकर्षण बलको कारण आकाशबाट पानी थोपाको रुपमा जमिनमा खस्ने प्रक्रिया हो । तर सबै वर्षा जमीनसम्म पुगदैनन, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन । कुनै कुनै बेला त सबै बर्षा हावामा नै वाष्पीभूत हुन्छन । जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरूका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।
वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजीकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।
झरिरहेको पानीको थोपालाई कार्टुनचित्रहरूमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो)मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा प्यारासुट आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरू ब्राजिल र मार्सल टापुहरूमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरूमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरू एकआपसमा ठोक्किन पुगेर हो।