ह्विप जारी गरेरै भए पनि प्रदेश ५ को राजधानी र नाम पारित गर्ने नेकपाको निर्णय – Kanika Khabar
Saturday, April 18Nepali News Portal

ह्विप जारी गरेरै भए पनि प्रदेश ५ को राजधानी र नाम पारित गर्ने नेकपाको निर्णय

    मा प्रकाशित

कनिका खबर
असोज १७, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले ह्विप जारी गरेरै भए पनि सरकारले ल्याएको प्रस्तावलाई पास गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । प्रदेश ५ प्रदेशसभामा हिजो प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नामाकरण लुम्बिनी राख्ने प्रस्ताव पेस भएको छ । प्रस्ताव पेस भएपछि नेकपाले आज बिहान संसदीय दलको बैठक बोलाएको थियो । बैठकमा सहभागि साविक लुम्बिनी अञ्चलका सांसदले भने बुटवललाइ नै राजधानीको रुपमा निरन्तरता दिनुपर्ने बताएका थिए । बैठकमा सहभागी सांसदले प्रस्तावमाथि छलफल गरेर आफ्ना भनाइ राखे पनि अन्ततः निर्णयको तहमा जाँदा सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सचेतक ढकालको भनाइ छ । हिजो प्रदेशसभामा पेस भएको प्रस्तावमाथि पर्सि सोमबार बस्ने बैठकमा छलफल हुनेछ ।
तर यो निर्णयमा प्रदेशसभाका केही सदस्यहरुले विरोध गरेका छन् । नेकपा भित्रकै १४ जना सांसदले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, कपिलवस्तुका विष्णु पन्थी, पाल्पाका युवराज खनाल लगायत १४ जनाले दाङ स्थायी राजधानी बनाउने सरकारको प्रस्ताव उपयुक्त नभएको भन्दै नोट अफ डिसेन्ट लेखेको सांसद डा. कृष्ण न्यौपानेले जानकारी दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्