कनिका संवाददाता
बैशाख २८, दाङ ।
विश्व महामारीको रूपमा रहेका काेराेना भाइरसकाे औषधि नेपालमै रहेका दावी हाेमियाेप्याथिक चिकित्सकहरूले गरेका छन् । ती औषधिलाई नेपाल सरकारसँग सहमति लिई ठाउँठाउँमा निःशुल्क वितरणसमेत थालेको उनीहरूले बताएका छन् ।
‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि दुई गोली बिहान खाली पेट तीन दिनसम्म लगातार र त्यसपछि प्रत्येक हप्ता दुई दुई गोली आवश्यकताअनुसार महामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड–१९ बाट बच्न सकिने दाबी उनीहरूको छ । साथै सोही औषधिसहित अन्य केही थप होमियोप्याथिक औषधिबाट उपचारसमेत गर्न सकिने उनीहरूले बताएका छन् ।
औषधि वितरणका लागि उनीहरूले कोभिड–१९ महामारी रोगविरुद्ध होमियोप्याथिक समूह गठन गरेका छन् । आफूहरूको सम्पर्कमा आएका नेपाली नागरिकलाई निःशुल्क औषधि वितरण थालेको सो समूहले जनाएको छ । अहिलेसम्म दुई लाख डोज औषधि वितरण गरिसकेको र १५ लाख डोज तयार पार्न आफूहरू लागिपरेको उनीहरूले बताएका छन् ।