कनिका खबर
असोज २०, मुगु ।
मुगुको सोरु गाउँपालिका–२ जडेपानीगाउँका ९ जना स्थानीयले भोकचलन गर्दै आएको करिव ११ रोपनी जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई चन्दा दिएका छन् । आफना छोराछोरीलाई गाउँघरमा घरमै गुणस्तरीय पढाइ होस् पढ्न जिल्ला बाहिर जानु नपरोस् भन्ने हिसाबले स्थानीयले माध्यमिक बिद्यालयको नाममा निशुल्क जग्गा दान गरेका हुन् ।
जडेपानी गाउँका नरजंग शाही र टोपबहादुर शाहीले १५ सय बर्ग मिटर, मेलबहादुर शाही र मञ्जन शाहीले ७ सय बर्ग मिटर, दलबहादुर मल्लले ३ सय ५० बर्ग मिटर, मानबहादुर शाहीले १ सय ३२ बर्ग मिटर जग्गा जनज्योति माध्यमिक बिद्यालयलाई निशुल्क चन्दा दिएका हुन् ।
सोही गाउँका कर्मकला शाहीले १ सय १७ बर्ग मिटर, मिमा शाहीले २ सय ४२ बर्ग मिटर र भरत शाहीले १ सय ५७ बर्ग मिटर जग्गा बिद्यालयलाई निशुल्क दिएको जनज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक सुवास रावलले बताए । २०३४ सालमा स्थापना भएको माध्यमिक बिद्यालयमा कक्षा देखि १२ सम्म पढाइ हुने गरेको छ भने कुल बिद्यार्थी संख्या ७ सय भन्दा बढी अध्ययनरत छन् । शिक्षकसहित कर्मचारीको संख्या २३ जना कार्यरत छन् ।