सुदूरपश्चिमका क्वारेन्टाइन मृत्युस्थल बन्दै, ८ जनाले ज्यान गुमाइसके – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

सुदूरपश्चिमका क्वारेन्टाइन मृत्युस्थल बन्दै, ८ जनाले ज्यान गुमाइसके

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, बैतडी।

बैतडीको पुरचौर्डी नगरपालिका–६ भूमिराजका ६७ वर्षिय जुनी लोहारले झुलाघाट नाका हुँदै वैशाख १८ गते आफ्नै भूमिमा पाइला टेक्नुभयो । १८ गते राति उहाँको समूहमा रहेकालाई जिल्लाको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो । १९ गते पुरचौर्डी नगरपालिकामा ल्याइएको थियो । २० गते बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाँदै गर्दा उहाँको मृत्यु भयो ।

यस्तै जेठ १७ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ को एक परिवार भारतबाट डडेल्धुरा प्रवेश ग¥यो । त्यो परिवारलाई डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखियो । त्यसको भोलीपल्ट जेठ १८ गते आमाबुबासँगै आएका एक अन्दाजी ७ वर्षिय बालकले ज्यान गुमाए ।

१८ जेठमा पनि बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । जेठ १६ गते बैतडी पुर्चांैडी नगरपालिका ४ की २२ वर्षीया सुनिता लुहार गौरीफन्टा नाका हुँदै गृहजिल्ला प्रवेश गर्नुभयो । उहाँलाई पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा राखियो । मुटुकी बिरामी उहाँले औषधी सेवन नगरेको धेरै दिन भएको थियो । औषधी अभावमा लुहारको जेठ २० गते बिहान मृत्यु भयो ।

डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ असिग्रामकी एक ३० वर्षीया महिला जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर गाउँ फर्किनुभयो । उहाँको पनि जेठ २० गते मृत्यु भयो ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का ६५ वर्षीय गिठे बुढा २५ वर्षपछि जेठ १५ गते भारतबाट आएर गाउँ नजिकैको मष्टा आधारभुत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बस्नुभयो । २४ गते बिहान उहाँको क्वारेन्टाइनमा नै मृत्यु भयो ।

बैतडीको पाटन नगरपालिका ६ का ३१ बर्षीय एक पुरुष जेठ २४ गते भारतको बेंगलोरबाट पाटन आइपुगे । उनलाई बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा राखियो । हिजो साँझ साढे ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भयो । डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीका एक १९ वर्षीय युवक भारतको लुधियानाबाट फर्किए । जेठ १९ गते भारतबाट आएका उनलाई डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ को सिताराम आधारभुत विद्यालयको क्वारेन्टिनमा राखियो । ती युवकको पनि आज बिहान क्वारेन्टाइनमा नै मृत्यु भयो ।

यसरी सुदरपश्चिम प्रदेशमा भारतबाट फर्केर आइ क्वारेन्टाइनमा बस्नेहरुको ज्यान जोखिममा पर्न थालेको छ । सुदूरपश्चिमका क्वारेन्टाइन मृत्युस्थल बन्दै गएको अनुभुति स्थानीयहरुले गर्दै त्रासको वातावरण सृजना भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्