भदौ ७ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गर्न काङ्ग्रेस जिल्ला सभापतिहरुको अल्टिमेटम (बैठकको निर्णयहरुसहित) – Kanika Khabar
Monday, May 25Nepali News Portal

भदौ ७ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गर्न काङ्ग्रेस जिल्ला सभापतिहरुको अल्टिमेटम (बैठकको निर्णयहरुसहित)

    मा प्रकाशित

भदौ ५, दाङ ।
महाधिवेशनको मिति नजिकिदै गर्दा महाधिवेशनकै बारेमा स्पष्ट हुन नसकेको काङ्ग्रेसले जिल्ला सभापतिहरुको अल्टिमेटम पाएको छ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता सार्वजनिक गर्न यही भदौ ७ गतेसम्मको अल्टिमेटम दिएर काङ्ग्रेसभित्र महाधिवेशनको रनक ल्याउन प्रयाु गरेका हुन् ।

आज शनिबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूले बैठक गरी क्रियाशील सदस्यतामा अनियमितता र ढाकछोप भएको भन्दै ७ गतेभित्र क्रियाशील सदस्यता सार्वजनिक नगरे ८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

“नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शितासम्बन्धी विषयलाई लिएर देशभरिका लाखौँ सदस्य साथीहरूको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्वसमक्ष प्रष्ट विचार राख्दै आएका हौँ,” कांग्रेस जिल्ला सभापतिहरूका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “वडा तहबाट निर्णय भई आएका नामहरू हटाउने, ठाडै केन्द्रबाट जथाभावी नामहरू थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरू इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौँ । यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन् पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक व्यक्तिको स्वार्थसिद्धि गर्न, लामो समयदेखि पार्टीमा रगत–पसिना भिजाएका निष्ठावान् नेता–कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौँ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउनेजस्ता अशोभनीय कामहरू भइरहेबाट हामी स्तब्ध भएका छौँ ।”

यस्ता छन् निर्णय– 
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस् । 

२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रूप प्रदान गरियोस् ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् ।

हाम्रो उपरोक्त मागहरूलाई सम्बोधन गर्ने गरी यही भाद्र ७ गतेभित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते)बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसनलगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी बाध्य हुने ब्यहोरा जानकारी गराउँछौँ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्