जीवन कैला
भदौ १०, बाजुरा ।
बाजुराका किसानलाइ यति वेला धान गोडमेल गर्ने चटारो छ ।तर बाजुराकै स्वामीकार्तिक गाउँपालिकामा भने यस वर्ष अझै सम्म पनि रोपाई नै हुन सकिरहेको छैन । देशैभरिका किसानलाई गोडमेलको चटारो हुँदा स्वामीकार्तिकका किसानको भने धानको बिउ खेतमै फल्न थालेको छ । सिँचाई अभावका कारण समयमा रोपाई नहुँदा किसानलाई खाद्य सङ्कटको चिन्ता परेको छ ।
स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर एकमा हाल सम्म पनि रोपाई हुन नसके पछि किसान चिन्तीत छन् । वर्षाका कारण भत्किएको नहर सञ्चालनमा आउन नसक्दा यस वर्ष रोपाई हुन सकिरहेको छैन । असारमा रोपि सक्ने गरी तयार भएको धानको बिउत्यतिकै खेर गएको स्थानीय हर्क वमले बताउनुभयो । वडा नम्बर एकमा मात्रै करिव एक सय ५६ बढि परिवारको वसोवास छ ।
कसैले फाट्टफुट् रोपाई गरे पनि अधिकांशले रोप्न पाएका छैनन् । धान गोडमेल गर्ने समय भईसक्दा सम्म रोपाई नहुँदा धानको बिउ खेतमै फुल्न र फल्न थालेको स्थानी नैन कार्किले गुनासो गर्नुभयो । कृर्षि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा ९५ प्रतिशत क्षेत्रमा धान रोपाई भयो । तर किसानहरुले धान रोप्न नपाएको विषयमा आफुहरुलाई जानकारीमा नआएको कृषि ज्ञान केन्द्र बाजुरा कार्यालय प्रमुख गोविन्द सिजापतिले बताउनुभयो ।
बाजुरामा वर्षेनि ७ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाई हुदै आएको छ । ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाईबाट धान रोपाई हुन्छ भने बाकि हेक्टरमा आकाशे पानीको भरमा धान रोप्नुपर्छ । सिँचाइ अभावले धान रोप्न नपाएपछि किसानलाइ खाद्य संकटको चिन्ता छ ।


