मुस्लिम महिलातर्फको कोटाबाट उम्मेदवार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन् । शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन् ।
कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशील सदस्यता लिएको उनले बताइन् । ‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,’ डा. अलविराले भनिन् ।
बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ । अंकित ३० वर्षदेखि कांग्रेस क्रियाशील सदस्य छन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् ।
चिकित्सा पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन् । उनी संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी हुन् ।
मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन् । ‘विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,’ उनले भनिन् ।
कपिलवस्तु- ३ को प्रदेशसभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी हुन् । आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उनी बताउँछिन् ।
न्युज कारखाना