काठमाडौं, ५ पुस ।
विभागीय टोली एपिएफले अर्को विभागीय टोली पुलिसलाई हराउँदै पीएम कप टी ट्वान्टी क्रिकेट पुरुष प्रतियोगिताको उपाधि जितेको छ ।
किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसलाई २१ रनले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । उपाधिसँगै एपीएफले नगद पाँच लाख प्राप्त गरेको छ भने उप विजेता पुलिसले तीन लाखमै चित्त बुझाउनु परेको छ । बुधबार भएको खेलमा एपिएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारीत २० ओभरमा सात विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले ५६, दिलिप नाथले २३, आरिफ शेखले १२, अनिल शाहले १० र अमित श्रेष्ठले तीन र राशिद खानले चार रन बनाए । गुलशन झा पाँच रनमा र याेगेन्द्र सिंह कार्की एक रनमा अविजित रहँदा पवन सर्राफ शुन्य रनमा आउट भएका थिए ।
एपिएफका किशोर महतोले तीन विकेट लिए भने अविनास बोहरा, दिपक बोहरा र अमर रौटेलाले समान एक एक विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको एपीएफले १९ ओभर पाँच बल खेल्दै १ सय ५७ रन बनाएको थियो । एपीएफका लागि अमर रौटेलाले २९, लोकेश बमले २७, सन्दीप जोराले २४, कप्तान भेषवाकरले १९, भुवन कार्कीले १७, आसिफ शेखले नौ, प्रदिप ऐरीले सात, दिपक बोहराले ६ रन जोडे ।
पुरण बिक भने शुन्य रनमा आउट भए । त्यस्तै किशोर महतो आठ रनमा आउट हुँदा अविनास बोहरा एक रनमा अविजित रहे ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीनतीन विकेट लिए भने गुशलन झाले दुई विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक एक विकेट लिए ।