कनिका संवाददाता
असार १५, काठमाडौं ।
सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।
यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।
उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।
सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।
रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।