कनिका खबर
असार ३१, दाङ ।
सलहको मुल्य पनि वृद्धि हुँदै जान थालेको छ । पछिल्लो चरणमा सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ ।
यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले मन्त्रालयमा उक्त प्रस्ताव पेश गरेको छ ।
नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।