कनिका खबर
साउन ५, बारा
बाराको देवताल गाउँपालिकामा आज मात्र ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर कोरोना सङक्रमितको संख्या घटिरहेका बेला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमा सङक्रमण देखिएको हो । एउटै पालिकामा यति धेरै सङ्क्रमित भएपछि जिल्लामा समुदाय स्तरमा पनि संक्रमण फैलिएको आशंका गरिएको छ ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको कोरोना भएको पाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चन्दन सिंहले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराउनुभएको हो । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।
संक्रमित हुनेमा ६ जना वडा अध्यक्ष, तीन जना कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यकर्मी रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र ठाकुरले जानकारी दिनुभयो । उनीहरु कसैमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको ठाकुरले बताउनुभयो । उहाका अनुसार संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।