
दाङ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाको आयोजनामा बिहीबार राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण विषयक वक्तृत्वकला प्रतियोगिता मेचीकाली आवासिय स्कुल घोराही दाङमा सम्पन्न भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) दाङ शाखाका अध्यक्ष धर्म बहादुर के.सी.को अध्यक्षता तथा क्यान महासघं नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष रेशम गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ११ वटा स्कुलको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दीपशिखा माध्यमिक विद्यालय घोराही दाङकी छात्रा तेजस्वी डाँगी प्रथम, गुरुकुल एकेडेमी, घोराही दाङकी छात्रा स्वस्तिका ढकाल द्वितीय, माउन्ट भ्यु बोर्डिङ स्कुल घोराही दाङका छात्र प्रज्वल गौतम र ज्ञानमाला बोडिङ स्कुल सर्रा दाङकी छात्रा अदिती के.सी. तृतीय भएका थिए ।
प्रतियोगितामा निर्णायकमा क्यान महासंघका पूर्व केन्द्रीय सदस्य डा. भीमसेन गिरी, क्यान महासंघ लुम्बिनी प्रदेशका सहसचिव कर्ण बहादुर पुन मगर, प्याब्सन दाङका सचिव आदिम के.सी. रहेका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३०००।— र प्रमाणपत्र, द्वितीय हुनेलाई रु २०००।– र प्रमाणपत्र तथा तृतीय हुनेलाई १०००।— र प्रमाणपत्र प्रदान गरिएको थियो । सोही अवसरमा सहभागी स्कुलहरुलाई सहभागी प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय उपाध्यक्ष रेशम गिरी, क्यान महासंघका पूर्व केन्द्रीय सदस्य डा. भीमसेन गिरी, प्याब्सन दाङका सचिव आदिम के.सी. प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण वलीलगायतले मन्तव्य राखेका थिए ।
क्यान महासंघ लुम्बिनीप्रदेशका सहसचिव कर्ण बहादुर पुन मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय सदस्य डा. भीमसेन गिरीले धन्यवादज्ञापन गरेका थिए भने सहजीकरण कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)दाङका जिल्ला सचिव धनेश्वर चौधरीले गरेका थिए ।


