दाङ,२५ वैशाख ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आवमा एमविविएस सुरु गरेपछि आगामी आव २०८२/०८३ देखि थप ४ वटा स्नातक तहका र १३ वटा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु थप गर्ने तयारी गरेको छ । जसअनुसार स्नातकोत्तर तहमा एमडी/ एमएस र एमएस्सी नर्सिङ गरेर १३ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि स्नातकतर्फ पब्लिक हेल्थ, विएससी एमएलटि, विएसस्सी एमआइटी, वि.ओपिटी शुरु गर्ने तयारी गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिनु भयो । यसैगरी प्रतिष्ठानले आर्थिक वर्ष २०८२/०८३ देखि स्नातकोत्तर तहमा रेडियोलोजी, फिजियोलोजी, वायोकेमेष्ट्री, प्याथोलोजी, पेडियाट्रिक, नर्सिङमा थप ३ वटा, एमडि एमएस तर्फ ७ वटा सुरु गर्ने तयारी गरेको हो ।
ती शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न प्रतिष्ठानले आफ्नै पाठ्यक्रमहरु विकास गर्नुपर्ने भएकाले विहिवार र शुक्रवार गरेर दुई दिने पाठ्यक्रम विकास गोष्ठी सञ्चालन गरेको छ । गोष्ठीको उद्घाटन राष्ट्रिय योजना आयोग सदस्य प्रा.डा आरपि बिच्छालेले गर्नु भएको हो । रजिष्ट्रार लम्सालले प्रतिष्ठानको गति अब रोकिन सम्भव नरहेको र विस्तारै यसले विश्वविद्यालयको आकार ग्रहण गर्दै जाने बताउनुभयो ।


