
एजेन्सी । भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ। ती विमानस्थलमा मार्शल तैनाथ गरिएको छ ।
निर्देशनअनुसार सबै विमानस्थलहरूमा सबै यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा त्रासको वातावरण छाएको छ । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्ताविरुद्ध हवाई आक्रमण गरेसँगै पाकिस्तानले पनि जवाफी हमला गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया तथा पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरणलगायत सहर पाकिस्तानी ड्रोनको निशानामा परेका छन् ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई समेत निशाना बनाएको बताइए पनि भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ ।
पाकिस्तानले राजस्थानको जैसलमेरमा समेत ड्रोन आक्रमण गरेको छ। पाकिस्तानले आक्रमण थालेसँगै भारतले पनि प्रतिकारस्वरुप मिसाइल हानेको समाचारमा उल्लेख छ ।
बीबीसीले पाकिस्तानले सतवारी, साम्बा, आरएस पुरा र अर्नियालाई लक्षित गरी ८ वटा क्षेप्यास्त्र प्रहार गरेको सरकारी टिभी च्यानलाई उदृत गर्दै समाचार लेखेको छ ।
यद्यपि ती सबै मिसाइलहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकेर निष्क्रिय पारिएको बताइएको छ । यस्तै अर्कोतर्फ जम्मू कश्मीरमा पूर्ण रूपमा ब्ल्याकआउट भएको छ। प्रभावित अन्य क्षेत्रमा पनि ब्ल्याक आउट गरेर सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।
राति जम्मू विमानस्थलमा विस्फोट भएको खबर छ। जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बताएअनुसार जम्मू विमानस्थल नजिकै मिसाइल हानिएको देखिएको छ।
पहलगाम हमलामा २६ पर्यटकको मृत्युपछि भारत–पाकिस्तानबीच तनाव बढेको हो । पाकिस्तानले पहलगाम हमलामा आफ्नो हात नरहेको बताए पनि भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ ।


