कनिका खबर
साउन २९, रुपन्देही ।
बुटवल उपमहानगरपालिकाले भदौ ५ गतेसम्म लकडाण्न गर्ने निर्णय गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११ः४५ बजेदेखि आगामी भदौ ५ गते राति ११ः४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा अत्यावश्यक सेवाका क्षेत्रहरु मात्र खुला रहने जनाइएको छ । खाद्यान्न, दुध तथा तरकारी ढुवानी र बिक्री खुला रहने बताइएको छ । बुटवल भएर चल्ने लामो दूरीका सवारीका साधानलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने निर्णय गरिएको छ ।
उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको उक्त बैठकमा सुरक्षा निकायका र राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागी थियो । बैठकले बुटवलबाट बाहिर जाने र बुटवल भित्रिनेहरूका लागि २४ घण्टाको समय दिएको छ ।