काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्याउन अभूतपूर्व योगदान दिएको उल्लेख गरेकी छन् ।
आफ्ना श्रीमान तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दौ भण्डारीले मदन–आश्रितले कम्युनिष्ट आन्दोलनप्रति जनताको माया, विश्वास र समर्थन जुटाउँदै आन्दोलनलाई सफलताको उचाइमा पुर्याउन अभूतपूर्व योगदान दिएको उल्लेख गरेकी हुन् ।
जेठ ३ गतेको अवसरमा जारी सन्देशमा उनले नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा ‘जनताको बहुदलीय जनवाद’का प्रणेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति उच्च सम्मान प्रकट गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रवर्तित ‘जनताको बहुदलीय जनवाद’ले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्याय, समृद्धि र रूपान्तरणको मार्गदर्शन गरेको उनको भनाइ छ ।
उनले उक्त विचारले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको पनि बताएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले वर्तमानका अवसर र चुनौतीलाई ध्यानमा राख्दै अझ जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको उल्लेख गर्दै चुनौती सामना गर्न सुदृढ संगठनात्मक एकता, नेता–कार्यकर्ताको सक्रियता, त्याग र समर्पण अपरिहार्य रहेको बताएकी छन् ।
साथै उनले जनअपेक्षा र सुधारप्रतिको चाहनालाई ध्यानमा राख्दै पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाउनुपर्ने तथा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरेकी छन् ।
जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले त्यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् ।



