काठमाडौँ । थाइल्याण्ड सरकारले ९० भन्दा बढी देशका नागरिकलाई दिँदै आएको भिसारहित बसाइ अवधि घटाउने निर्णय गरेको छ । यसमा बेलायत, अष्ट्रेलिया, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, स्पेन र संयुक्त राज्य अमेरिकाका नागरिकहरू पनि पर्ने भएका छन् ।
सन् २०२४ जुलाईदेखि ती देशका पर्यटकहरूले थाइल्याण्डमा ६० दिनसम्म बिना भिसा बस्न पाउने सुविधा पाउँदै आएका थिए । कोभिड महामारीपछि देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकारले यो व्यवस्था लागू गरेको थियो ।
तर थाइल्याण्ड सरकारले उक्त सुविधा हटाउने योजना अनुमोदन गरेको छ । अब कुन देशका नागरिकले कति समयसम्म भिसा बिना बस्न पाउने भन्ने कुरा देश–देशबीचको सम्झौता अनुसार छुट्टाछुट्टै तय गरिने भएको छ । सरकारका अनुसार सुरक्षा चुनौती र भिसा प्रणालीमा देखिएको जटिलता यस निर्णयका प्रमुख कारण हुन् ।
थाइल्याण्डमा पछिल्ला महिनाहरूमा लागूऔषध र मानव बेचबिखनसँग सम्बन्धित मुद्दामा विदेशी नागरिकहरूको संलग्नतासहितका उच्च–प्रोफाइल पक्राउका घटनाहरू सार्वजनिक भएका थिए ।
प्रधानमन्त्री अनुतिन चानवीराकुनले सरकारले अहिलेको अवस्था अनुसार नीति परिमार्जन आवश्यक रहेको बताएका छन् । उनका अनुसार यो कदम अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई सन्तुलनमा राख्न आवश्यक भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार अब धेरै देशका नागरिकले ३० दिनभन्दा बढी बस्न चाहिँ भिसा आवेदन दिनुपर्नेछ । केही देशसँगको आपसी सम्झौताका आधारमा भने छुट्टै अवधि लागू हुन सक्नेछ । नयाँ व्यवस्था राजपत्रमा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ ।
मन्त्रालयले एउटै देशका लागि फरक–फरक भिसा छुट व्यवस्था हुँदा विदेशीहरूमा अन्योल बढेको भन्दै त्यसलाई घटाउने उद्देश्य पनि रहेको जनाएको छ ।
पर्यटन थाइल्याण्डको अर्थतन्त्रको प्रमुख आधार हो । सन् २०१९ मा करिब ४ करोड पर्यटक पुगेकोमा कोभिड महामारीका कारण त्यो संख्या ठूलो मात्रामा घटेको थियो । पछिल्ला दुई वर्षमा मात्र पर्यटन पुनः सुधारतर्फ गएको छ भने यस वर्ष हालसम्म करिब १ करोड २० लाखभन्दा बढी पर्यटक पुगिसकेका सरकारी तथ्यांकले देखाएको छ ।
तर पछिल्ला समय विदेशी नागरिक संलग्न आपराधिक घटनाहरू बढ्दै गएपछि सरकार थप कडाइ गर्न बाध्य भएको बताइएको छ।


