दङ्गीशरण, जेठ २५ ।
दाङको दङ्गीशरण गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि यन्त्रीकरण सामग्री वितरण गरेको छ।
आज सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेका हुन्।
गाउँपालिकाले हरेक वर्ष किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि यन्त्रीकरण सामग्री वितरण गर्दै आएको जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि शाखाबाट ६ लाख रुपैयाँ र हेफर परियोजनाबाट १० लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ विनियोजन गरिएको थियो। किसानहरूको तर्फबाट थप १६ लाख रुपैयाँ लागत सहभागिता जुटाइएकाले कुल ३२ लाख रुपैयाँको कार्यक्रम सञ्चालन गरिएको हो। टेन्डर प्रक्रियामार्फत खरिद गरिएका सामग्रीमध्ये २६ लाख २२ हजार २ सय १४ रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरिएका सामग्रीहरूमा २० वटा मिनी टिलर, ५ वटा रिपर, ११ वटा चापकटर, ११ वटा २ इन्च मोटर डुबाउने पम्प तथा ७ वटा ३ इन्च पानी बाहिर निकाल्ने मोटर रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले किसानहरूको बाहुल्यता रहेको दङ्गीशरणमा आधुनिक खेती प्रणालीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनले वितरण गरिएका सामग्रीहरूको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह समेत गरे।
गाउँपालिकाका कृषि शाखा प्रमुख शरु भुषालका अनुसार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएपछि प्रक्रिया पूरा गरेका कृषि समूह तथा कृषि फर्महरू छनोट गरी सामग्री वितरण गरिएको हो। उनले गत वर्ष छनोटमा पर्न नसकेका समूह तथा फर्महरूलाई यस वर्ष प्राथमिकतामा राखिएको जानकारी दिइन्।
सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, साझेदारी परियोजना महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपाने, संस्थापक अध्यक्ष विमला योगी, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोख्रेल, कृषि शाखा प्रमुख शरु भुषाल तथा हेफर परियोजनाका गाउँपालिका संयोजक गोमा भट्टराईलगायतको उपस्थिति रहेको थियो।बितरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका कृषि सहायक अधिकृत मानबहादुर डाँगीले गरेका थिए।


