रास्वपा दैलेखको कार्यालयमा तालाबन्दी – Kanika Khabar
Thursday, June 25Nepali News Portal

रास्वपा दैलेखको कार्यालयमा तालाबन्दी

    मा प्रकाशित

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनामा गम्भीर त्रुटि र अपारदर्शिता भएको आरोप लगाउँदै सभापति पदका उम्मेदवार प्रकाश बुढाले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् ।

निर्वाचनमा विजेता उम्मेदवारभन्दा २४ मतले पछि परेका बुढाले मतगणनामा धाँधली र लापरवाही भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उनले आवश्यक छानबिन सम्पन्न नभएसम्म निर्वाचनसँग सम्बन्धित प्रमाण नष्ट हुन नदिन तथा निष्पक्ष अनुसन्धानको वातावरण सिर्जना गर्न कार्यालयमा तालाबन्दी गरिएको बताएका छन् ।

निर्वाचन परिणामअनुसार सभापति पदमा बखतबहादुर भण्डारी ९३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बुढाले ६९ मत प्राप्त गरेका थिए । त्यसैगरी बिनी शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत पाएका थिए । निर्वाचनमा ६ मत बदर भएको जनाइएको छ भने कुल २४० मत खसेको निर्वाचन समितिले जनाएको थियो ।

तर सार्वजनिक गरिएको विवरणमा गम्भीर गणितीय असंगति देखिएको भन्दै विवाद उत्पन्न भएको छ । उम्मेदवारहरूले प्राप्त गरेको मत मात्रै जोड्दा २४६ पुग्ने देखिन्छ, जुन खसेको भनिएको कुल मत २४० भन्दा ६ मत बढी हो । त्यसमाथि बदर मत ६ समेत जोड्दा गणना भएको कुल मत २५२ पुग्ने अवस्था देखिएको छ ।

जम्मा २४० मत खसेको निर्वाचनमा २५२ मत कसरी गणना भयो भन्ने प्रश्न उठाउँदै बुढाले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि नै गम्भीर शंका उत्पन्न भएको बताएका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् ।

यस विषयमा निर्वाचन समिति तथा पार्टी नेतृत्वको आधिकारिक प्रतिक्रिया भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्