काठमाडौँ । पृथ्वीबाट करिब ४०० किलोमिटर माथि विगत २५ वर्षदेखि मानव जातिको सबैभन्दा ठूलो अन्तरिक्ष प्रयोगशालाका रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अब आफ्नो अन्तिम चरणमा पुगेको छ।
अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२८ देखि प्रक्रिया सुरु गर्दै सन् २०३० भित्र यसलाई सुरक्षित रूपमा पृथ्वीमा खसाल्ने योजना सार्वजनिक गरेको छ। यसका लागि नासाले करिब एक अर्ब अमेरिकी डलर अर्थात् झण्डै ९ हजार ५०० करोड रुपैयाँ बराबरको योजना तयार गरेको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले आफ्नो निर्धारित आयु पूरा गरिसकेको छ। यसको सञ्चालन अवधि पटक–पटक थपिए पनि पछिल्ला वर्षहरूमा विभिन्न प्राविधिक समस्या देखिन थालेका छन्। केन्द्रलाई सुरक्षित राख्न हरेक वर्ष अर्बौं रुपैयाँ खर्च हुने भएकाले नासाले अब आफ्ना स्रोतसाधन चन्द्रमा र मंगल ग्रहसम्बन्धी अभियानमा केन्द्रित गर्ने निर्णय गरेको हो। यही कारण केन्द्रलाई सम्मानजनक र सुरक्षित रूपमा अवकाश दिने योजना बनाइएको छ।
करिब ४ लाख ५० हजार किलोग्राम तौल रहेको अन्तरिक्ष केन्द्रलाई सिधै पृथ्वीतर्फ खस्न दिइने छैन । सन् २०२८ आसपासदेखि यसलाई कक्षामा कायम राख्ने प्रक्रिया क्रमशः बन्द गरिनेछ। त्यसपछि विशेष अन्तरिक्षयानको सहयोगमा केन्द्रलाई नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलतर्फ धकेलिनेछ। वायुमण्डलमा प्रवेश गरेपछि अधिकांश भाग घर्षणका कारण जलेर नष्ट हुनेछ ।
यद्यपि केही ठूला टुक्रा पृथ्वीमा खस्न सक्ने सम्भावना रहेकाले नासाले दक्षिण प्रशान्त महासागरको एक सुनसान क्षेत्र छनोट गरेको छ । वायुमण्डलमा नजलेका अवशेषहरू त्यही समुद्री क्षेत्रमा खस्ने गरी योजना बनाइएको छ । नासाका अनुसार अन्तरिक्ष केन्द्रलाई दक्षिण प्रशान्त महासागरस्थित ‘पोइन्ट निमो’ क्षेत्रमा खसालिनेछ । यो क्षेत्र पुराना अन्तरिक्ष केन्द्र, उपग्रह तथा अन्य अन्तरिक्षीय फोहोर व्यवस्थापनका लागि विश्वभर परिचित स्थान हो । यहाँ मानिसको बसोबास छैन र जहाजको आवागमनसमेत निषेध गरिएको छ। सन् १९७१ यता करिब ३०० प्रकारका अन्तरिक्षीय अवशेष यही क्षेत्रमा खसालिएको बताइएको छ, जसमा अधिकांश अमेरिकी र रुसी अन्तरिक्ष सामग्री रहेका छन् ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले दिनमा १६ पटक पृथ्वीको परिक्रमा गर्छ। यो पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा सञ्चालनमा रहेको छ। यसको निर्माण र सञ्चालनमा हालसम्म करिब ९ लाख ५० हजार करोड रुपैयाँ बराबर खर्च भइसकेको छ। नोभेम्बर २००० देखि यसमा निरन्तर मानव उपस्थिती कायम रहेको छ ।
अमेरिका, रूस, युरोप, जापान र क्यानडाको संयुक्त परियोजनाका रूपमा निर्माण गरिएको यस केन्द्रमा अन्तरिक्ष यात्रीका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। यहाँ एकपटकमा ६ देखि ८ जना अन्तरिक्ष यात्री करिब ६ महिनासम्म बस्न सक्छन्। हालसम्म १९ देशका २५० भन्दा बढी अन्तरिक्ष यात्रीले यस केन्द्रको भ्रमण गरिसकेका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको अवकाशसँगै अब निजी क्षेत्रद्वारा सञ्चालित नयाँ अन्तरिक्ष केन्द्रहरूको युग सुरु हुने अपेक्षा गरिएको छ। नासाको सहकार्यमा विभिन्न निजी कम्पनीहरूले आफ्ना अन्तरिक्ष केन्द्र निर्माण गरिरहेका छन्। यसैबीच चीनले आफ्नो अन्तरिक्ष केन्द्र सञ्चालनमा ल्याइसकेको छ भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थानले सन् २०३५ सम्म आफ्नै अन्तरिक्ष केन्द्र स्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।


