काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान थियो । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशत रहने अनुमान गरिएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ । प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र औद्योगिक क्षेत्रको योगदान १३.७३ प्रतिशत रहनेछ । कृषि क्षेत्रमा खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ । तरकारी तथा बागबानी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ । त्यस्तै दूध उत्पादन २५.९७ प्रतिशतले घट्दा मासु उत्पादन ७.३७ प्रतिशत र अन्डा उत्पादन ६.७३ प्रतिशतले वृद्धि भएको छ । औद्योगिक क्षेत्रको क्षमता उपयोग औसत ४२.११ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये ३०.८२ प्रतिशत औद्योगिक क्षेत्रमा गएको प्रतिवेदनमा उल्लेख छ । सेवा क्षेत्रतर्फ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ लाख ३ हजार १५० विदेशी पर्यटक नेपाल आएका छन् । घरजग्गा रजिष्ट्रेशन संख्या १०.४ प्रतिशतले घटे पनि यसबाट प्राप्त राजस्व ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप एक वर्षमा १५.३९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ६.२४ प्रतिशतले वृद्धि भएको छ । कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा क्रमशः ६५.५२ प्रतिशत र ६०.३३ प्रतिशत रहेको छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम रहेको छ । सवारी साधन दर्ता संख्या ७.२२ प्रतिशतले बढेको छ भने छनोटमा परेका सहकारी संस्थाको कुल पुँजी ०.०४ प्रतिशतले घटेको छ। यद्यपि ती सहकारीहरूको बचत ८.९१ प्रतिशत र कर्जा १.५५ प्रतिशतले वृद्धि भएको छ । पूर्वाधारतर्फ समीक्षा अवधिमा १५९.०१ किलोमिटर कालोपत्रे सडक, ४ किलोमिटर ग्राभेल सडक र ३२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको छ । बाह्य क्षेत्रतर्फ पहिलो ६ महिनामा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा पुनःश्रम स्वीकृतिसहित ३ लाख ९६ हजार ८६ जना वैदेशिक रोजगारीमा गएका छन्। संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ। यस्तै प्रदेश सरकारहरूले विनियोजन गरेको कुल बजेटमध्ये ४० अर्ब ७३ करोड रुपैयाँ खर्च गरेका छन्। राष्ट्र बैंकले सरकारी नीतिगत सुधार, बजेट कार्यान्वयन र आर्थिक गतिविधिमा क्रमिक सुधारका कारण चालु आर्थिक वर्षमा अर्थतन्त्र सकारात्मक रहने अनुमान गरेको छ। यद्यपि पश्चिम एशियालगायत क्षेत्रमा बढ्दो भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मुद्रास्फीतिमा दबाब सिर्जना गर्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।
२- अमेरिका र इरानबीच सम्भावित सम्झौतासम्बन्धी महत्वपूर्ण प्रगति भएको खबर सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार सहमतिमा तेल प्रतिबन्ध, आणविक कार्यक्रम र आर्थिक सहुलियतलगायत विषय समेटिएको प्रारम्भिक सम्झौताको मस्यौदा तयार भएको छ। यस मस्यौदामा सहमति भएपछि ६० दिनभित्र अन्तिम सम्झौताका लागि थप वार्ता गरिने बताइएको छ । प्रस्तावित मस्यौदाअनुसार इरानले तत्काल होर्मुज जलडमरूमध्य सबै व्यापारिक जहाजका लागि खुला गर्नेछ । त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउनेछ । सम्झौतामा हस्ताक्षर भएसँगै यो प्रक्रिया सुरु हुने र ३० दिनभित्र पूरा गरिने उल्लेख छ । विश्व तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य खुल्दा अन्तर्राष्ट्रिय बजारलाई राहत पुग्ने अपेक्षा गरिएको छ । आर्थिक पक्षमा अन्तिम सम्झौता नहुँदासम्म अमेरिकाले इरानमाथि कुनै नयाँ प्रतिबन्ध नलगाउने प्रस्ताव गरिएको छ । अन्तिम सम्झौता भएपछि अमेरिका र संयुक्त राष्ट्रसंघका विद्यमान प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइने जनाइएको छ । साथै इरानलाई निश्चित अवधिसम्म तेल बिक्री गर्न र त्यसबाट प्राप्त आम्दानी उपयोग गर्न अनुमति दिन तेलसम्बन्धी प्रतिबन्धमा समेत छुट दिइने प्रस्ताव छ । मस्यौदामा अमेरिकाले इरानको करिब २५ अर्ब अमेरिकी डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्ने प्रस्ताव पनि समावेश गरिएको छ । उक्त रकम प्रत्यक्ष नगद, क्षेत्रीय साझेदार राष्ट्रहरूको सहयोग तथा वित्तीय ऋण सुविधामार्फत उपलब्ध गराउन सकिने उल्लेख छ । साथै अमेरिका र उसका क्षेत्रीय साझेदारहरूले इरानको पुनर्निर्माण तथा विकास योजनाबारे पनि तेहरानसँग ६० दिनभित्र छलफल गर्ने प्रस्ताव गरेका छन् । आणविक मुद्दामा इरानले आणविक हतियार नबनाउने र प्राप्त नगर्ने प्रतिबद्धता जनाउनेछ । अन्तिम सम्झौता नभएसम्म इरानले आफ्नो वर्तमान आणविक कार्यक्रम यथावत राख्ने, युरेनियम संवर्धन विस्तार नगर्ने तथा नयाँ आणविक पूर्वाधार विकास नगर्ने मस्यौदामा उल्लेख छ । यस्तै, भविष्यको व्यापक सम्झौताअन्तर्गत इरानलाई आफ्नो उच्च संवर्धित युरेनियम भण्डारलाई आफ्नै भूमिमा कम संवर्धित स्तरमा रूपान्तरण गर्न अनुमति दिने विषय पनि समावेश गरिएको छ । आणविक कार्यक्रम, युरेनियम संवर्धन र भण्डारण व्यवस्थापनसम्बन्धी विषयमा थप वार्ता आगामी ६० दिनभित्र हुने र त्यसलाई अन्तिम सम्झौतामा समेटिने जनाइएको छ । यो मस्यौदा कार्यान्वयनमा आएमा अमेरिका-इरान सम्बन्धमा ठूलो परिवर्तन आउने, पश्चिम एशियाको तनाव कम हुने तथा विश्व तेल बजार र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
३- नेपाल प्रिमियर लिग (एनपीएल) को टिम पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । पोखरा एभेन्जर्सले आगामी सिजनका लागि भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको हो । त्यस्तै पोखराले रोहित चन्द, सन्दीप क्षेत्री, कृष्ण पौडेल, तृतराज दास र अभिषेक तिवारीलाई रिलिज गरेको छ । यसअघि शनिबार कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको थियो । कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो । त्यस्तै कर्णालीले अर्जुन घर्ती, दिपेन्द्र रावत, विपिन प्रसाद शर्मा, मनिष थापा र इमरान शेखलाई तेस्रो सिजनको लागि रिलिज गरेको छ ।
३- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको र कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताएका हुन् । उनले भने- ‘नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ ।’ उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्ने धारणा राखेका थिए । साथै यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक परिस्थिति बारेमा बोल्दै देशका सबै समुदायको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।
४- नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम भरिएको छ र किसानलाई हरियो पत्तीको भुक्तानी गर्न समेत कठिन भएको छ । यही अवस्थाका कारण असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् । सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ । नेम्वाङले यो समस्या तथ्याङ्कमा मात्र सीमित नभई किसानको जीवनसँग जोडिएको गम्भीर संकट भएको बताएका छन् । उनका अनुसार किसानले वर्षभर मेहनत गरेर उत्पादन गरेको चिया बिक्री नहुँदा आम्दानी रोकिएको छ र जीवनयापनमै समस्या देखिएको छ । चिया इलामका किसानका लागि केवल बाली नभई शिक्षा, स्वास्थ्य, ऋण भुक्तानी र परिवारको जीविकोपार्जनसँग जोडिएको आधार भएको उनले बताए । उनले उद्योग बन्द हुँदा रोजगारी, लगानी, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष असर पर्ने भन्दै यो समस्या राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उल्लेख गरे । नेम्वाङले गुणस्तर परीक्षणको विरोध नभए पनि प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवहारिक हुनुपर्नेमा जोड दिए । उनले भारततर्फको नियमअनुसार प्रयोगशाला प्रतिवेदन पाँच दिनभित्र उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइका कारण चिया गोदाममै थन्किएको बताए । सरकारसँग उनले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउन, भारतीय गोदाममा रोकिएका चियाको छिटो परीक्षण र बिक्री अनुमति दिन, प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता सुनिश्चित गर्न, उद्योगलाई सहुलियतपूर्ण कर्जा र किसान भुक्तानीको व्यवस्था गर्न तथा पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन् । नेम्वाङले चियाको उत्पादन प्रशासनिक ढिलाइमा रोक्न नहुने भन्दै तत्काल परिणाममुखी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
५- प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयका अनुसार असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने र असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो । जस अनुसार असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ३ गते जवाफ दिने तय गरिएको छ । त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ४ गते जवाफ दिने तय गरिएको छ ।
६- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना नभएसम्म देशमा शान्ति नहुने बताएका छन् । धवल शमशेर राणासँग मिलेर नयाँ राष्ट्रवादी पार्टीमा जिम्मेवारी घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रसाईले आफुहरु राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना गर्नका लागि मिलेको भन्दै आफुहरुको अन्य स्वार्थ नरहेको बताएका हुन् । प्रसाईले आफुले राप्रपा भनेको धवल शमशेर भन्ने बुझेको भन्दै चुनावको बेलामा राजा र धर्म सम्झेर जनता ढाटेको आरोप समेत लगाए ।उनले रास्वपा पार्टी र सरकार नटिक्ने भन्दै गरिबलाई प्रहार गरेको आरोप लगाए । सरकारले गरिवी लखटनुपर्नेमा गरिब लखेटेको बताउदै जंगलमा टेम्पो भीरबाट लडाएको यो सरकार धेरै नटिक्ने दाबि गरे । पुराना दलले ३५ बर्षमा सकेको अहिलेको सरकारले एक बर्षमै सक्ने आरोप लगाए ।
७- काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् । महानगरले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममार्फत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय विकासलाई प्राथमिकतामा राखेको छ । डंगोलले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै महानगरमा ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने घोषणा गरेकी छन् । साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने समेत घोषणा गरेकी छन् । महानगरले हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउने लक्ष्यसहित संस्थागत गर्ने र यस कार्यक्रममार्फत प्रत्येक वडाको आवश्यकता र विशेषता अनुसार नमुना योजना कार्यान्वयन गरिने घोषणा नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने उल्लेख गरिएको छ । साथै ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने उल्लेख गर्दै डंगोलले बन्चरेडाँडा म्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिने उल्लेख गरेकी छन् । त्यस्तै महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई अनलाइन एपमार्फत उपलब्ध गराउने र यसबाट महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक तथा सेवाग्राहीबीच आवश्यक जानकारी सहज रूपमा आदानप्रदान हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने उल्लेख गरिएको छ भने वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम संघ, प्रदेश, स्थानीय सरोकारवाला निकाय तथा विज्ञहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिने बताइएको छ ।
८- परराष्ट्रमन्त्री शिशिर खनाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको क्रममा आज बेइजिङ पुगेका छन् । उनलाई विमानस्थलमा दूतावासकी कार्यवाहक राजदुत रोशन खनाल र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् । चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
९- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना, कोशी प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँमा १७ जना घाइते भएका छन् । त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा १३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ६ जना घाइते भएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा २६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
१०- अस्ट्रेलियाले जारी फिफा विश्वकपमा विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न समुह डी अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो । अस्ट्रेलियाको जितमा नेस्टोरी इराङ्कुन्डा र कोनर मेटकाफले एक एक गोल गरेका थिए । अस्ट्रेलियाले खेलको २७औं मिनेटमा इराङ्कुन्डाको गोल गर्दै शुरुवाती अग्रता लिएकोमा दोस्रो हाफको ७५औं मिनेटमा मेटकाफले अग्रता दोब्बर पारेका थिए । यो जितपछि समुह डी मा अस्ट्रेलियाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले अर्को खेल जुन २० मा अमेरिकासँग र जुन २६ मा पराग्वेसँग खेल्ने तालिका छ । त्यस्तै टर्की भने यस खेलमा हार बेहोरेपछि दबाबमा परेको छ । अब टर्कीले जुन २० मा पराग्वेसँग र जुन २६ मा अमेरिकासँग खेल्ने तालिका छन् ।
११- बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ लालपुरमा सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुरका करिब ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेल रहेका छन् । उनी फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत थिए। दुर्घटनापछि उपचारका क्रममा उनको मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा सो दुर्घटना भएको हो । हुलाकी सडक खण्डको लालपुर क्षेत्रमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले प्रहरी टोलीलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका करिब ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार झा घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित मेडिकल कलेज कोहलपुर, बाँकेमा रिफर गरिएको छ । यस्तै ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी निवासी करिब ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल गुलरियामा भइरहेको प्रहरीले जनाएको छ ।
१२- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १२ सयले बढेर तोलाको २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर तोलाको ४८९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४८४० मा कारोबार भएको थियो ।
१३- कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले उक्त घटनाबारे गलत बुझाइ नहोस् भनी वास्तविकता स्पष्ट पारेको छ । कार्यालयका अनुसार सो क्षेत्र चुरे भेगअन्तर्गत पर्ने अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको वन क्षेत्र भएको र लामो समयदेखि सडक किनारको सार्वजनिक वन जमिनमा गैरकानुनी रूपमा भागबण्डा गर्ने, खोका–छाप्रा बनाउने र सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधि हुँदै आएको छ । वन प्रशासनले यसलाई समय–समयमा नियन्त्रण गर्दै आएको बताइएको छ । कार्यालयले जनाएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध रूपमा खोका–छाप्रा बनाइएको थियो । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो चल्ने अवस्थामा रहेको सवारी नभई चक्का र इन्जिन बिग्रिएको, सार्नसमेत कठिन हुने कवाडी संरचना मात्र भएको दाबी वन कार्यालयको रहेको छ । सो टेम्पोलाई पसलको टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरिएको कार्यालयको भनाइ छ । यसअघि एक महिना अघि नै सो संरचना हटाउन निर्देशन दिइएकोमा अन्य केही छाप्रा हटाइए पनि सो टेम्पोका सञ्चालक घनश्याम धामीले नहटाएको र वन कर्मचारीले धकेलेर उनको घरसम्म पुर्याइदिएको समेत उल्लेख छ । पछि सोही व्यक्ति फेरि टेम्पो ल्याएर सोही स्थानमा राखी पसल सञ्चालन गर्दै आएको बताइएको छ । पुनः हटाउन निर्देशन दिँदा समेत उनले अटेरी गर्दै अपशब्द प्रयोग गरेको र हटाउन अस्वीकार गरेको कार्यालयको भनाइ छ । जेठ २९ गते अतिक्रमण हटाउने अभियानका क्रममा सो कवाडी टेम्पो हटाउने प्रयास गर्दा भिरालो जमिन र असन्तुलनका कारण अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयको दावी छ । तर सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा टेम्पो धकेलेर भीरमा लडाइएको स्पष्ट देखिएको छ । सामाजिक संजालमा टेम्पो भीरबाट फालिएको विषयको चौतर्फी आलोचना भइरहेको छ ।
१४- नेपाली कांग्रेसका ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । यसअघि काँग्रेसका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो विवरण वडा तहबाट अद्यावधिक गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । जस अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआइडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको फाराम वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा तहबाट अनलाइनमा प्रविष्ट भएका फाराम आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अनुमोदन नभएमा योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था गरिनेछ । इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्लासहित बारा र खोटाङमा भने सदस्यता अद्यावधिकको समयसीमा असार ७ गतेसम्म तोकिएको छ । त्यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि यो समय असार १० गतेसम्म कायम गरिएको छ । त्यस्तै नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम संकलन कार्य असार २० गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ । त्यस्तै, शुल्क नबुझाएका सदस्यहरूको हकमा सम्बन्धित तहका सभापतिहरूलाई यथाशीघ्र शुल्क संकलन गर्न निर्देशन दिइएको छ । शुल्क नबुझाउने सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । त्यसैगरी छुट भएका सदस्यहरूले असार २० गतेभित्र आफ्नो प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । आवश्यक विवरण प्रमाणसहित निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ । वडाबाट छुट भएका सदस्यताका लागि सम्बन्धित वडाले पनि थप समय माग गर्न सक्ने व्यवस्था गरिएको छ, जसअनुसार अधिकतम ७ दिनसम्मको अतिरिक्त समय दिन सकिने समितिले जनाएको छ । यस्तै, १५औँ महाधिवेशनलाई असर नपर्ने गरी सम्पूर्ण सदस्यता अद्यावधिक कार्यलाई समय मिलान गर्ने निर्णय गरिएको छ । त्यसैगरी ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै युवा केन्द्रित अभियानमार्फत नयाँ सदस्यता वितरण गर्ने निर्णय पनि गरिएको छ । विषय विज्ञमार्फत प्रवेश पाउने तथा विभिन्न कारणले विदेशमा रहेका सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि असार २० गतेसम्म सञ्चालन हुने भएको छ । त्यस्तै पुराना सदस्यता नम्बर रहेका सदस्यहरूको हकमा उनीहरूको पुरानो सदस्यतालाई निरन्तरता दिई अद्यावधिक कायम गरिने जनाइएको छ । त्यस्तै, पहिले संकलित तर प्रणालीमा प्रविष्ट नभएका नामहरू पनि असार ७ गतेभित्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले निर्णय गरेको छ ।
१५- झापाको मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जङ्गल क्षेत्रबाट अचानक आएको जंगली हात्तीको आक्रमणमा परेकी थिइन् । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१६- स्कटल्यान्डले जारी फिफा विश्वकपमा ३६ वर्षपछि पहिलो जित दर्ता गरेको छ । शनिबार समूह ‘सी’ अन्तर्गत भएको खेलमा स्कटल्यान्डले हैटीलाई १–० ले पराजित गरेको हो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले खेलको २८औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । चे एडम्सको प्रहार गोलरक्षक जोनी प्लासिडेबाट फर्किएपछि आएको बलमा म्याकगिनले गरेको प्रहार विपक्षी रक्षकमा ठोक्किँदै जाली चुमेको थियो । सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्यान्डले विश्वकपमा अन्तिम पटक सन् १९९० मा स्विडेनलाई २–१ ले हराउँदै जित निकालेको थियो । त्यसयता टोलीले विश्वकपमा जित हात पार्न सकेको थिएन । यसअघि शनिबार नै समूहका बलिया टोली ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेपछि स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकपमा मात्र सहभागी भएको हैटी भने अझै विश्वकपमा पहिलो अंकको खोजीमा छ । खेलको १७औँ मिनेटमा स्कटल्यान्डका कप्तान स्कट म्याकटोमिनेले गरेको प्रहार पोस्टको माथिल्लो भागमा लाग्दै बाहिरिएपछि टोली गोल गर्नबाट वञ्चित भएको थियो । दोस्रो हाफमा हैटीले बराबरी गोलका केही अवसर सिर्जना गरेको थियो। ७४औँ मिनेटमा रुबेन प्रोभिडेन्सले दिएको पासलाई विल्सन इसिडोरले सदुपयोग गर्न सकेनन्। ८४औँ मिनेटमा फ्रान्ट्ज्डी पिएरोटको हेडर पनि गोलपोस्टको देब्रेपट्टि बाहिरिएको थियो । अब स्कटल्यान्डले जुन २० मा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने जुन २५ मा ब्राजिलको सामना गर्ने छ । त्यस्तै हैटीले जुन २० मा ब्राजिलको र जुन २५ मा मोरक्कोको सामना गर्ने छ ।
१७- भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अनुसार भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ जारी गरेपछि नेपाली चिया निर्यातमा विभिन्न प्रकारका गुणस्तर जाँच, जोमिखपूर्ण र अपारदर्शी नतिजा, तथा भण्डारणको अभाव जस्ता जटिल समस्याहरूका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन अवरोध भएको छ । एसोसियसनले हाल भारतीय बजारमा पुगेको करिब २ लाख किलोभन्दा बढी तयारी चिया भारतीय गोदाम मै रोकिएको अवस्था छ भने यता नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएर बसेको बताएको छ । उनीहरुले भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि नदिदा समस्या उत्पन्न भएको उल्लेख गर्दै उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको र असार १ गतेदेखि उद्योग बन्द गर्ने जनाएका छन् । एसोसियसनले भनेको छ- ‘ भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौं दिनसम्म पनि दिँदैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू थपिएका छन् । यी अनेकौं समस्याहरूका कारण उद्योगहरूले किसानहरूलाई हरियो चियापत्तीको भुक्तानी समेत दिन नसक्ने भयानक अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा हामी सम्पूर्ण उद्योगीहरू बाध्य भएर आगामी दिनमा उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौं। अतः सम्पूर्ण उद्योगहरू आगामी २०८३ असार १ गते देखि बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जानकारी गराउँदछौं ।’
१८- भारतले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो । बर्षाले प्रभावित यो खेल २५-२५ ओभर खेलाइएको थियो । अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछाएको भारतले २२.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिलले अविजित ८४ रन बनाएका थिए भने केएल राहुलले अविजित ३९ रन बनाएका थिए । त्यस्तै इशान किशनले ३४, रोहित शर्माले १६ र श्रेयस अय्यरले १२ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको ५१ बलमा १०२ रनको शतकीय पारीको मद्धतले २४.५ ओभरमा अल आउट हुदै १९४ रन बनाएको थियो । यो जित पछि ३ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल बुधबार लखनउमा हुने तालिका छ ।
१९- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको छ । यससँगै कतारले विश्वकपको अन्तिम चरणमा पहिलो पटक अंक हासिल गरेको छ । खेलभर दबाबमा रहेको कतारका लागि बुलेम खौखीले ९४औँ मिनेटमा होमाम एल अमिनको क्रसलाई हेडमार्फत जाली चुमाउँदै बराबरी गोल गरेका थिए । अन्तिम समयमा आएको उक्त गोलपछि प्रशिक्षक जुलेन लोपेटेगीको टोलीले उत्साहपूर्ण खुसी मनाएको थियो । खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राखेको थियो । पहिलो हाफमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कतारका गोलरक्षक महमुद अबुनादाले रेमो फ्रुलरलाई लडाएपछि स्विट्जरल्यान्डले खेलको १७औं मिनेटमा पेनाल्टी पाएको थियो। यद्यपि टेलिभिजन पुनर्प्रसारणमा फ्रुलर आक्रमणको सुरुआती क्रममा सामान्य अफसाइड अवस्थामा देखिएको थियो । एम्बोलोको गोलपछि स्विट्जरल्यान्ड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो । तर अवसरहरूको सदुपयोग गर्न नसक्दा स्विट्जरल्यान्डले महत्त्वपूर्ण दुई अंक गुमायो । नटिङ्घम फरेस्टका आक्रमणकर्ता डान न्दोयेले केही उत्कृष्ट अवसर खेर फाले भने रुबेन भार्गास र एम्बोलोले पनि सहज गोलका मौका गुमाए । लामो समयसम्म खेलमा कमजोर देखिएको कतारले अन्तिम क्षणमा अवसरको फाइदा उठाउँदै अप्रत्याशित रूपमा एक अंक हात पार्न सफल भयो । अब कतारले अर्को खेल जुन १९ मा क्यानडासँग र जुन २५ मा बोस्निया हर्जगोभिनासँग खेल्ने छ । त्यस्तै स्विजरल्याण्डले जुन १९ मा बोस्निया हर्जगोभिनासँग र जुन २५ मा क्यानडासँग खेल्ने तालिका छन् ।
२०- ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समुह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मरक्को १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए । खेलको २१औं मिनेटमा सैबारीले गोल गर्दै मोरक्कोलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३२औं मिनेटमा भिनिसियसले गोल गर्दै बराबरी गरेका थिए । यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् । अब विश्वकप अन्तर्गत ब्राजिलले जुन २० मा हैटीविरुद्ध खेल्ने छ भने जुन २५ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ । त्यस्तै मोरक्कोले जुन २० मा स्कटल्याण्डसँग र जुन २५ मा हैटीसँग खेल्ने तालिका छ ।


