जेलेन्स्कीले किन फिर्ता गरे पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’ – Kanika Khabar
Sunday, June 21Nepali News Portal

जेलेन्स्कीले किन फिर्ता गरे पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’

    मा प्रकाशित

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’ फिर्ता गरेका छन् ।

पोल्यान्डका राष्ट्रपति कारोल नवरोत्स्कीले उक्त सम्मान फिर्ता लिने निर्णय गरेपछि यो कदम उठाइएको हो । योसँगै दुई देशबीच दोस्रो विश्वयुद्धसँग जोडिएको ऐतिहासिक विवाद फेरि चर्किएको छ ।

पोल्यान्डले युक्रेनले आफ्नो विशेष सैन्य इकाईको नाम युक्रेनी विद्रोही सेना (युपिए) को नाममा राखेपछि असन्तुष्टि जनाएको हो । पोल्यान्डले दोस्रो विश्वयुद्धका क्रममा युपिएमाथि हजारौँ पोल्यान्ड नागरिकको हत्या गरेको आरोप लगाउँदै आएको छ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत यो सम्मान युक्रेनी जनता र सेनाको सम्मानका लागि भएको बताएका छन् । उनले सम्मान पोल्यान्डको राष्ट्रपति कार्यालयमा फिर्ता पठाएको जानकारी दिँदै त्यसको तस्बिर र हुलाक रसिद पनि सार्वजनिक गरेका छन् ।

यो सम्मान सन् २०२३ मा तत्कालीन पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले जेलेन्स्कीलाई युक्रेनको सुरक्षा, लोकतान्त्रिक मूल्य र मानवअधिकारको संरक्षणमा योगदान दिएको भन्दै प्रदान गरेका थिए ।

यसैबीच युक्रेनका चार वरिष्ठ अधिकारीले पनि पोल्यान्डबाट पाएको आफ्नो राज्य सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् ।

तर पूर्व प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले भने यो कदमको आलोचना गर्दै एक गलत निर्णयको जवाफ अर्को गलत निर्णयले दिन नहुने बताएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्