आज दिनभरका प्रमुख २० समाचार – Kanika Khabar
Monday, June 22Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार

    मा प्रकाशित

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१-  पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो ।  बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।  सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्जबाट काठमाडौँ ल्याउन लागिएको छ ।  प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चार वटा मुद्दा दायर गरेका छन् । भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

२-  नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको विषयमा टिप्पणी गर्दै फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न नसकिने बताएका छन् । नेता बस्नेतले कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्ने र त्यसपछि मात्र कानुनी कारबाही अघि बढ्नुपर्ने बताएका छन् । उनले भनेका छन्- ‘कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन।’ उनले यस्ता घटनालाई केवल व्यक्तिगत विषयका रूपमा मात्र नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनले यस्ता प्रवृत्तिप्रति सजग रहनुपर्ने उल्लेख गर्दै ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ प्रतिवाद गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने सक्ने बताएका छन् ।

३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले विशेष अदालत, काठमाडौँमा राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना र दुई जनाविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गर्दै मुद्धा दायर गरेको छ । अख्तियारले महानिर्देशक अर्यालसहित निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, ठेकदार कम्पनी मुएहल्बाउएर आइडी सर्भिस एवं उक्त कम्पनीका मुख्य भई कार्य गर्ने गेरहार्ड माउरेर, पाभ्ले राकिक र मणिन्द्र राज मल्ल तथा भेरिडोस एवं उक्त कम्पनीका मुख्य भई कार्य गर्ने फाबिओला बेलेरशेइन, फ्लोरान पाक्वेलिन र सिद्धार्थ थापा विरुद्ध मुद्दा दायर गरेको छ । राहदानी छपाइमा भएको अनियमितताको विषयमा सोधपुछ गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बोलाएको थियो । तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै, अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि बयान लिएको थियो ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज नहुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि आज बन्द सत्र हुन नसकेको हो । महाधिवेशनको कार्यतालिका अनुसार आज बिहान साढे ८ बजेदेखि सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिलन सकेन । अब विवाद मिलाएर मंगलबार बिहान ८ बजेदेखि बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।   महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण बन्द सत्र शुरु हुन नसकेको रास्वपा नेताहरुले बताएका छन् । बिहानैदेखि बन्दसत्र स्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सोमबार बिहान देखि नै महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए । कतिपयले उम्मेदवारी घोषणा गरेर मत माग्न समेत शुरु गरेको देखिएको थियो । आज बन्द सत्र हुन नसकेपछि रास्वपाको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ र महाधिवेशन लम्बिने भएको छ । रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

५- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ । काठमाडौंमा आज एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो । चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका हितैषी कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा गरेका हुन् । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ । बायोपिक ‘मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्नेछन् । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् ।  मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

६- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात जुलाई ६ मा हुने भएको हो । यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।

७- भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ ।  आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम फालेका थिए, जसका कारण उनीहरू गम्भीर घाइते भएका छन् । उद्धारका लागि छिमेकी घरको छतबाट कोचिङ सेन्टरको पर्खाल काटेर भित्र प्रवेश गर्ने प्रयास गरिएको बताइएको छ । यसैबीच, मुख्यमन्त्री योगी आदित्यनाथले राहत तथा उद्धारका लागि अधिकारीहरूलाई तत्काल परिचालन गरिएको र घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने बताएका छन् ।

८- चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको छ । त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ । विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ७२ करोड ६४ लाख लिटर टमास तेलको कच्चा पदार्थ आयात भएको छ । त्यस्तै यस अवधिमा पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु रहेको छ । यस अवधिमा पेट्रोल ६८ अर्ब १७ करोडको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको छ । त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ । भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ ।  अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।

९- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम नगर्ने बताएका छन् । जेरुसेलममा आयोजित एक सम्मेलनमा बोल्दै उनले अमेरिका र इजरायलबीच घनिष्ठ सम्बन्ध रहे पनि दुवै देशका आफ्ना-आफ्नै राष्ट्रिय हित रहेको र सबै विषयमा समान धारणा नहुने स्पष्ट पर्दै आफुले ट्रम्पको इशारा अनुसार काम नगरेको बताएका हुन् । उनले अमेरिका र इजरायल दुवै देशमा आफ्नो र ट्रम्पको सम्बन्धबारे गलत बुझाइ रहेको बताए । उनले भने- ‘अमेरिकामा केही मानिसहरू ट्रम्पले मैले भनेअनुसार काम गर्छन् भन्छन् भने इजरायलमा केहीले म ट्रम्पले चाहेजस्तै काम गर्छु भन्ने ठान्छन् । यी दुवै कुरा गलत हुन् ।’ नेतन्याहुले इजरायलले इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार प्राप्त गर्न नदिने दोहोर्‍याए । यस विषयमा आफ्नो सरकारले कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । उनले आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहने पनि बताए । इजरायली नागरिकको सुरक्षाका लागि त्यहाँ सैन्य उपस्थिति आवश्यक रहेको उनको दाबी छ । यसैबीच, स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच जारी वार्ता दोस्रो दिनमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका कडा अभिव्यक्तिका कारण पहिलो दिनको वार्ता तनावपूर्ण बनेको बताइएको छ । नेतन्याहुले ट्रम्पसँग केही विषयमा मतभेद रहेको स्वीकार गरे पनि कुन विषयमा असहमति छ भन्नेबारे खुलाएनन् । उनले भने- ‘हामी दुवै स्वतन्त्र र गर्विला राष्ट्रका नेता हौं । धेरै विषयमा हाम्रो सोच मिल्छ, तर केही विषयमा मतभेद पनि छन् ।’

१०- चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ ।  अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।  त्यस्तै यस अवधिमा निर्यात १२.२८ प्रतिशतले बढेको छ । विभागले ११ महिनामा निर्यात व्यापार २ खर्ब ७७ अर्ब बराबरको भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ११ महिनामा २ खर्ब ४७ अर्बको निर्यात भएको थियो ।  त्यस्तै ११ महिनामा कुल वैदेशिक व्यापार आकार २१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । ११ महिनामा गत आवको सोही अवधिमा १८ खर्ब ९२ अर्ब बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो आव भने १३  खर्ब ९७ अर्ब क्यापार घाटा रहेको थियो ।  यस अवधिमा विभागका अनुसार भारतबाट नेपालमा १० खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब ८२ अर्ब बराबरको वस्तु आयात भएको भने नेपालबाट एक अर्ब ५९ करोड बराबरको वस्तु निर्यात भएको छ ।

११- बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले राजीनामा दिएका छन् । स्टार्मरले राजीनामाको घोषणा गर्दै आफु पछि प्रधानमन्त्री बन्ने नेतालाई पुरा सहयोग गर्ने बताएका छन् । लेबर पार्टीको नेताबाट राजीनामा दिदै स्टार्मरले पार्टीको कमिटीलाई जुलाई ९ सम्म नयाँ नेता चयन गर्न आग्रह गरेका छन् । स्टार्मरको राजीनामा सँगै बेलायतमा पछिल्लो १० वर्षमा कार्यकाल पूरा नगरी पद छोड्ने उनी बेलायतका छैटौँ प्रधानमन्त्री बनेका छन् । यसअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोन्सन, लिज ट्रस र ऋषि सुनकले पनि कार्यकाल पूरा नहुँदै पद त्यागेका थिए । स्टार्मरले सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई ठूलो जित दिलाएका थिए । जुलाई ५ २०२४ मा बेलायतको प्रधानमन्त्री बनेका स्टार्मर त्यसपछि निरन्तर लोकप्रियता घट्दै गएको थियो । उनको कार्यकालमा विभिन्न विवाद, नीतिगत निर्णयमा पटक–पटक परिवर्तन तथा सुधारका वाचा पूरा गर्न नसक्दा उनको छविमा असर परेको बताइएको छ । विशेषज्ञहरूका अनुसार बेलायतमा प्रधानमन्त्री बारम्बार परिवर्तन हुनुको मुख्य कारण त्यहाँको संसदीय प्रणाली हो । बेलायती नागरिकले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा निर्वाचित गर्दैनन् । प्रधानमन्त्री आफ्नो पार्टीका सांसदहरूको समर्थनका आधारमा पदमा रहने व्यवस्था छ । कन्जरभेटिभ पार्टीमा १५ प्रतिशत सांसदले विरोध जनाए अविश्वास प्रस्ताव ल्याउन सकिन्छ भने लेबर पार्टीमा २० प्रतिशतभन्दा बढी सांसद र सदस्यको समर्थन पाए अर्को नेताले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गर्न सक्ने वयवस्था गरिएको छ ।

१२-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पत्रकारहरुसँग कुरागर्दै महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनले अहिले महाधिवेशनमा भएको कमजोरी हटाउन पनि आफू योग्य दाबी गर्दै सही मान्छे सही पदमा हुनुपर्ने भन्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । रास्वपाको नयाँ नेतृत्वको चयनका लागि आजै मनोनयन दर्ता गर्ने भोली निर्वाचन हुने तालिका रहेको छ । तर प्रतिनिधि विवाद हुदा अहिलेसम्म बन्दसत्र शुरु हुन सकेको छैन ।

१३- यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो । विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ । महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ ।

१४-  गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ । जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गरेको छ । त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ५५ लाख ४६ हजार कमाई गरेको छ । यस फिल्मले ५७ हजार १३२  टिकट विक्री गरेको छ । त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ४ लाख २५ हजार कमाएको छ । यस फिल्मले कुल १८१५ टिकट बिक्री गरेको छ ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १४ सयले बढेर तोलाको २ लाख ८८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर तोलाको ४७३० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो ।

१६- फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपालको ग्रे लिष्टको अनुगमन जारी राखेको जनाउदै विभिन्न ६ सुझाव दिएको छ । एफएटीएफको पछिल्लो बैठकले नेपालसहितका २२ देशलाई तत्काल समयसीमा नपरेका क्षेत्राधिकारहरूलाई स्वेच्छिक रूपमा प्रगति प्रतिवेदन पेश गर्ने केही लचकता प्रदान गरेको जनाएको छ ।  साथै फेब्रुअरी २०२६ यताको प्रगति समीक्षा गर्दै एफएटीएफले विभिन्न ६ सुझाव दिएको छ । जसमा १- प्रमुख मनी लाउन्डरिङ (एमएल) तथा आतंकवाद वित्तीयकरण (टीएफ) जोखिमहरूको बुझाइ सुधार गर्ने; २- वाणिज्य बैंकहरू, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, डीपीएमएस तथा घरजग्गा क्षेत्रको जोखिम–आधारित नियमन सुधार गर्ने; ३- वित्तीय समावेशनमा बाधा नपुर्‍याईकन अवैध रूपमा सञ्चालन हुने भेन्डर मनी ट्रान्सफर सेवा (एमभीटीएस)/हुन्डी सेवा प्रदायकहरूको पहिचान र कारबाही प्रमाणित गर्ने; ४- मनी लाउन्डरिङ अनुसन्धान गर्न सक्षम निकायहरूको क्षमता र समन्वय बढाउने; ५- मनी लाउन्डरिङ अनुसन्धान तथा अभियोजनमा वृद्धि देखाउने; र ६- जोखिम प्रोफाइलअनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा साधनहरूको पहिचान, ट्रेस, रोकथाम, जफत र आवश्यक परेमा जफत (कन्फिस्केसन) गर्ने उपायहरू प्रमाणित गर्ने रहेका छन् । नेपालले आफ्नो रणनीतिक कमजोरीहरू सम्बोधन गर्न एफएटीएफ कार्ययोजना कार्यान्वयनमा निरन्तर काम गर्नुपर्ने समेत उल्लेख गरेको छ ।

१७- मोहम्मद सलाहको एक गोल र एक असिस्टमा इजिप्टले पछाडि परेको स्थिति उल्टाउँदै न्युजिल्यान्डलाई ३- १ गोलले पराजित गरेको छ । यो जितसँगै इजिप्टले पहिलो पटक समूह चरण पार गर्दै आफ्नो इतिहासमा नयाँ उपलब्धि हासिल गरेको छ । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डले अग्रता लिएको थियो । फिन सर्मानले टिम पेनेको राम्रो कर्नर प्रहारमा हेडमार्फत गोल गर्दै टोलीलाई अगाडि राखेका थिए । पहिलो हाफसम्म अग्रता जोगाएको न्युजिल्यान्ड दोस्रो हाफमा भने कमजोर देखियो । प्रशिक्षक होसम हसनले गरेको रणनीतिक परिवर्तनपछि इजिप्ट खेलमा पूर्ण रूपमा फर्कियो । ५८औँ मिनेटमा मोस्तफा जिकोले मोहम्मद हानीको क्रसमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि केही मिनेटमै मोहम्मद सलाहले जिकोसँग राम्रो पास आदानप्रदान गर्दै पेनाल्टी क्षेत्रभित्रबाट सटीक प्रहार गर्दै इजिप्टलाई अग्रता दिलाए । ८२औँ मिनेटमा सलाहले दिएको कर्नर प्रहारमा वैकल्पिक खेलाडी त्रेसेगुएले हेडमार्फत गोल थपेपछि इजिप्टको जित पक्का भयो । इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामा पहिलो जित दर्ता गर्दै समूह जी को शीर्ष स्थानमा उक्लिएको छ । अब शनिबार इरानसँगको खेल जितेमा समूह विजेता बन्ने अवसर उसलाई हुनेछ । न्युजिल्यान्ड भने अझै आफ्नो पहिलो विश्वकप जितको खोजीमै छ । अन्तिम ३२ मा पुग्न उसले अब बेल्जियमसँगको खेल जित्नै पर्ने दबाब रहेको छ ।

१८-  विश्व फुटबलमा बेल्जियमले इरानसँग गोलरहित बराबरी खेलेपछि उसको विश्वकप यात्रा दबाबमा परेको छ । लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको बेल्जियम दोस्रो पटक लगातार समूह चरणबाटै बाहिरिने जोखिममा पुगेको छ । खेलको सुरुआती पाँच मिनेटमै केभिन डी ब्रुनेको आकर्षक क्रसमा रोमेलु लुकाकुले सही सम्पर्क गर्न सकेको भए खेलको नतिजा फरक हुन सक्थ्यो । देशका सर्वाधिक गोलकर्ता तथा नेपोलीका फरवार्ड लुकाकुले सन् २०२५ को जुनपछि पहिलो पटक सुरुआती टोलीमा स्थान पाएका थिए । बेल्जियमलाई आवश्यक जित दिलाउने जिम्मेवारी उनकै काँधमा थियो । तर उनी अपेक्षाअनुसार प्रभाव जमाउन सकेनन् । बरु इरानका गोलरक्षक अलिरेजा बेइरानभान्दले लगातार उत्कृष्ट बचाउ गर्दै बेल्जियमका प्रयास विफल बनाइदिए । त्यसमाथि युवा रक्षक नाथन एन्गोयले खेलको ६७औं मिनेटमा रातो कार्ड पाएपछि बेल्जियम थप समस्यामा परेको थियो । यस नतिजासँगै सन् २०१८ को विश्वकप सेमिफाइनलिस्ट बेल्जियम समूह ‘जी’ बाट अघि बढ्न असफल हुने खतरा बढेको छ । अब अन्तिम समूह चरणको खेलमा न्युजिल्यान्डलाई पराजित गरे बेल्जियम अन्तिम ३२ मा पुग्नेछ । तर अन्य कुनै नतिजा आएमा उसको यात्रा अनिश्चित बन्नेछ । यता, प्रत्येक खेलअघि एक दिन मात्रै अमेरिका प्रवेश गर्न अनुमति पाएको इरानका लागि यो बराबरी ऐतिहासिक बनेको छ । यससँगै इरानले पहिलो पटक विश्वकपका सुरुआती दुई खेलमा हार बेहोर्नबाट जोगिन सफल भएको छ । अब बेल्जियमले अर्को खेल जुन २७ मा न्यूजिल्याण्डसँग र इरानले सोहि दिन इजिप्टसँग समुह चरणको अन्तिम खेलमा खेल्ने तालिका छ ।

१९- लामिन यमलले विश्वकपमा पहिलो पटक सुरुआती रोजाइमा अवसर पाउँदै खेलको १०औँ मिनेटमै गोल गरेपछि स्पेनले साउदी अरेबियालाई ४-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेनले सुरुदेखि नै दबाब बनाएको थियो । पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले यसपटक प्रभावशाली प्रदर्शन गर्दै तीन अंक हात पार्यो । १८ वर्षीय यमल पहिलो खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर त्यस खेलमा स्पेनलाई जित दिलाउन सफल नभएपछि प्रशिक्षक लुइस दे ला फुएन्तेले साउदी अरेबियाविरुद्ध उनलाई सुरुआती टोलीमा राखेका थिए । यसको प्रतिफल १०औँ मिनेटमै देखियो । मिकेल ओयार्जाबालको बायाँतर्फबाट आएको क्रसलाई साउदी अरेबियाका रक्षक हसन अल ताम्बक्तीले रोक्न नसक्दा यामालले पोस्ट नजिकबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । यससँगै यामाल विश्वकप खेलमा गोलको खाता खोल्ने १८ वर्ष वा सोभन्दा कम उमेरका दोस्रो खेलाडी बने । यसअघि सन् १९५८ मा ब्राजिलका पेलेले यो उपलब्धि हासिल गरेका थिए । स्पेनले त्यसपछि पनि निरन्तर आक्रमण जारी राख्यो । साउदी अरेबियाले कर्नरबाट आएको बल राम्रोसँग क्लियर गर्न नसक्दा ओयार्जाबालले गोलरक्षक मोहम्मद अल ओवैसलाई छक्याउँदै दोस्रो गोल गरेका थिए । त्यसको तीन मिनेटपछि उनले दानी ओल्मोको पासलाई पोस्ट नजिकबाट गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा ओयार्जाबालले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । दोस्रो हाफ सुरु हुनुअघि यामाल र ओयार्जाबाललाई विश्राम दिइए पनि स्पेनको लयमा कुनै असर परेन । खेलको ४८औँ मिनेटमा मार्क कुकुरेलाको प्रहार गोलरक्षक अल ओवैसले रोके पनि बल रक्षक अल ताम्बक्तीमा लागेर जालीमा पुगेपछि स्पेनले ४-० को अग्रता बनायो । त्यसपछि स्पेनले खेलको गति केही कम गरेको थियो । वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्ने अवसर पाए पनि उनको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो । साउदी अरेबियाका अब्दुल्लाह अल हमदानले खेल सकिन १० मिनेट बाँकी रहँदा टोलीका लागि लक्ष्यतर्फको एकमात्र प्रहार गरेका थिए । यता, इन्जुरी समयमा टोरेसले गरेको अर्को गोल भिडियो सहायक रेफ्रीको लामो परीक्षणपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो । यो जितपछि स्पेनको २ खेलमा ४ अंक भएको छ र समुह एचमा शिर्ष स्थानमा छ भने साउदी अरेबियाको २ खेलमा एक अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । अब स्पेनले अर्को खेल जुन २७ मा उरुग्वेसँग र साउदी अरेबियाले सोहि दिन केप भार्डेसँग खेल्ने तालिका छ ।

२०- विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भेर्डेको प्रभावशाली यात्रा जारी रहँदा उसले दुई पटकको च्याम्पियन उरुग्वेसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलेको छ । समूह ‘एच’ अन्तर्गत भएको खेलमा केप भेर्डेले सुरुआती अग्रता लिए पनि उरुग्वेले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो । स्पेनसँग गोलरहित बराबरी खेलेर सबैलाई चकित पारेको केप भेर्डेले २१औँ मिनेटमा केभिन पिनाको लामो दूरीको फ्रिकिकमार्फत अग्रता बनाएको थियो । उनको प्रहार रक्षापंक्तिको बीचबाट हुँदै जाली चुमेको थियो । अग्रता लिएपछि केप भेर्डे आक्रामक बनेको थियो । तर त्यसक्रममा रक्षापंक्तिमा खाली ठाउँ छाड्दा उरुग्वेले त्यसको फाइदा उठायो । माक्सी अराउजोले सिड्नी लोपेस काब्रालले आफ्नै पोस्टतर्फ फर्काएको बललाई हेडमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगुस्टिन कानोबियोले अराउजोकै पासलाई नजिकबाट गोलमा परिणत गर्दै उरुग्वेलाई २-१ को अग्रता दिलाएका थिए । उरुग्वेको निरन्तर दबाबका कारण केप भेर्डेलाई आक्रमण निर्माण गर्न कठिनाइ भइरहेको थियो । तर उसले हार मानेन र खेलमा पुनरागमन गर्‍यो । उरुग्वेका रक्षक मथियास ओलिभेराले आफ्नै क्षेत्रमा बल पास गर्ने क्रममा हेलियो भारेलालाई नदेख्दा त्यसको महँगो मूल्य चुकाउनुपर्‍यो । भारेलाले बल नियन्त्रण गर्दै गोलरक्षकलाई छलाएर खाली पोस्टमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । उरुग्वेले अन्तिम समयमा विजयी गोल गर्ने अवसर पनि पाएको थियो । फेडेरिको भाल्भेर्डेले गरेको गोल अफसाइडका कारण मान्यता पाएन । इन्जुरी समयमा दुवै टोलीले थप अवसर सिर्जना गरे पनि निर्णायक तेस्रो गोल भने निस्कन सकेन । दुई खेलबाट समान दुई अंक जोडेको उरुग्वे दोस्रो तथा केप भेर्डे तेस्रो स्थानमा रहेका छन् । दुवै टोलीको अन्तिम ३२ मा पुग्ने सम्भावना अझै कायम रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्