धनगढी । नेकपा एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
बुधबार सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधवार बसेको संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिएका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका छन् ।
मुख्यमन्त्री शाहले बुधवार बजेट बारेको विवादपछि एमालेबाट मन्त्री रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गरेका थिए ।


