काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं उपत्यका आउने–जाने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । कार्यालयले जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको रातो सतर्कता जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गरी यात्रा गर्नुपर्ने जनाएको हो । प्रशासनले काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमका सबै प्रवेश तथा बाहिरिने नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । विशेषगरी विगतका वर्षमा रातिको समयमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको स्मरण गराउँदै सम्भावित भारी वर्षा हुने दिनमा रातिको यात्रा गर्दा अझ बढी सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । राजमार्गका कुनै खण्डमा बाढी वा पहिरोका कारण सडक अवरुद्ध भएमा यात्रुलाई सुरक्षित स्थानमा मात्रै रोक्ने, आवश्यक खाना तथा पानीको व्यवस्था गर्ने र प्रहरी प्रशासनबाट सडक सञ्चालन भएको आधिकारिक जानकारी प्राप्त गरेपछि मात्र यात्रा अघि बढाउन पनि सूचनामा भनिएको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका सहायता नम्बर १००, १०३, १११४ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
२- उसुको थाउलो टोलीले जापानको आइची-नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण चीनको कुन्मिङस्थित युनान विश्वविद्यालयमा गर्ने भएको छ । खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई हुनु हुन्छ । एसियाली खेलकुदकै लागि छनोट हुनु भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यत्तैबाट टोलीसंग समावेश हुनेछन् । प्रशिक्षकमा प्रकाश महर्जन रहेका छन् । एसियाड टोली बाहेक खेलाडी निमा घर्ती मगर र प्रशिक्षक नविन बस्नेत पनि टोलीसंगै चीन जानु हुनेछ । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा खेलाडीलाई युनान विश्वविद्यालयमा प्रशिक्षणको अवसर मिलेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र चीनियाँ दूतावासका कन्सुलर वाङ दोङले एक कार्यक्रमबीच बिदाइ गरेका छन् । सो अवसरमा चीनियाँ दूतावासकी कन्सुलर वाङ याझे, नेपाल उसु महासंघका महासचिव नवारज ढुंगानालगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सदस्य–सचिव रामचरित्र मेहताले वैदेशिक प्रशिक्षणले खेलाडीको मनोबल उच्च बनाउने बताउदै एसियाडमा उत्कृष्ट नतिजाका लागि शुभकामना दिएका थिए । उनले प्रशिक्षणका लागि सहजीकरण गरिदिएकोमा चीन सरकारलाई धन्यवाद दिदै आभार प्रकट गरेका थिए ।
३- पर्वतको कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । कुश्माबाट साइकलचोकतर्फ जाँदै गरेको ग १ त ७२७३ नम्बरको ट्याक्टर शनिबार अन्दाजी १४:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । मृत्यु हुनेमा ट्याक्टर चालक जिल्ला पर्वत, कुश्मा नगरपालिका-७ बस्ने अन्दाजी २८ वर्षीय सुजन नेपाली र जिल्ला पर्वत, कुश्मा नगरपालिका-९ साइकलचोक बस्ने अन्दाजी १४ वर्षीय शिशिर लामिछाने रहेका छन् । गम्भिर घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रदेश अस्पताल, कुश्मामा मृत्यु भएको हो । घाइते भएका जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका-५ घर भई हाल जिल्ला कास्की, पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने २२ वर्षीय उदय सापकोटाको सोहि अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४- देशका अस्पतालहरुमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति बनाएर उनीहरुले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन, २०७४ बमोजिम दैनिक अधिकतम १२ घण्टा र हप्तामा ७२ घण्टाभन्दा बढी हुन नहुने तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुनुपर्नेमा अधिक समय काममा खटाइएको गुनासो गरेका छन् । उनीहरुले हप्तामा ४८ घण्टाभन्दा बढी काम गराइएमा श्रम ऐनअनुसार अतिरिक्त समय (ओभरटाइम) भत्ता उपलब्ध गराइनुपर्ने माग गरेका छन् ।
५- युक्रेनले शनिबार बिहान रूसका विभिन्न क्षेत्रमा ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । रूसी अधिकारीहरूका अनुसार मस्कोको दक्षिण–पूर्वस्थित ताम्बोभ क्षेत्रको कोतोभ्स्क सहरमा रहेको एक सामान भण्डारण तथा वितरण केन्द्रमा भएको आक्रमणमा सात जना कर्मचारीको मृत्यु भएको छ भने २४ देखि २५ जना घाइते भएका छन् । ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिशोभका अनुसार आक्रमण रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा व्यापार कम्पनीको स्वामित्वमा रहेको गोदाममा भएको हो। उनका अनुसार मृत्यु हुने सबै कर्मचारी रातिको पालोमा कार्यरत थिए । गभर्नर पेर्भिशोभले रूसी हवाई प्रतिरक्षा प्रणालीले लक्ष्यमा पुग्नुअघि २८ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेका छन्। उनका अनुसार ती सबै ड्रोन लक्ष्यमा पुगेका भए नागरिक क्षति अझ धेरै हुन सक्थ्यो । यसैबीच अर्को ड्रोन आक्रमणका कारण मस्को क्षेत्रको नोगिन्स्क सहरस्थित एक इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ। मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार ड्रोनको भग्नावशेष खस्दा आगो लागेको हो। उक्त घटनामा दुई जना घाइते भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नजिकै रहेको प्रसूति अस्पताल खाली गराइएको छ। इन्धन भण्डारण केन्द्रमा भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। रूसी अधिकारीहरूका अनुसार उक्त केन्द्रमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारण गरिन्थ्यो। त्यहाँ २४ वटा भण्डारण ट्याङ्की रहेका छन्, जसको संयुक्त क्षमता करिब ११ हजार ५०० घनमिटर रहेको बताइएको छ। कोतोभ्स्कस्थित सामान भण्डारण केन्द्रमा लागेको आगो नियन्त्रणमा आइसकेको रूसी अधिकारीहरूले जनाएका छन्। घटनास्थलमा उद्धार तथा राहत कार्य भने जारी रहेको छ।
६- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन २ गते शनिबार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ । प्राधिकरणले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव, नदी कटान, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ । प्राधिकरणले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न तथा आवश्यकता अनुसार जुनसुकै बेला सडक बन्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, उत्खनन यन्त्र, भारवाहक यन्त्रलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले आग्रह गरेको छ। विशेषगरी खोला, खहरे, नदी किनार तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरिएको छ । प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता आवश्यक परे १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बर मोबाइलमा सुरक्षित राखी आवश्यक पर्दा तत्काल सम्पर्क गर्न आग्रह गरेको छ । साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरिएको छ ।
७- भारतको पहिलो निजी कक्षीय रकेट विक्रम-१ को प्रक्षेपण सफल भएको छ । हैदराबादस्थित निजी अन्तरिक्ष कम्पनी स्काईरुट एरोस्पेसले शनिबार आफ्नो पहिलो प्रयासमै रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो । रकेटको निर्माण र प्रक्षेपण कम्पनीले आफैं गरेको भए पनि प्रक्षेपणस्थल भने भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) को प्रयोग गरिएको थियो । रकेटलाई आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट नेपाली समयअनुसार दिउँसो प्रक्षेपण गरिएको हो । सुरुमा निर्धारित समयभन्दा केही मिनेटअघि गणना प्रक्रिया रोकिए पनि प्राविधिक जाँचपछि पुनः सुरु गरी सफल प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । सफलतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कम्पनीका संस्थापक पवनकुमार चन्दनालाई टेलिफोनमार्फत बधाई दिएका छन् । यसअघि स्काईरुटले सन् २०२२ मा विक्रम–एस नामक उपकक्षीय रकेट प्रक्षेपण गरेको थियो, जसले करिब ८९.५ किलोमिटर उचाइसम्म पुगेको थियो । यसपटकको विक्रम–१ भने पृथ्वीको करिब ४५० किलोमिटर उचाइमा रहेको तल्लो वृत्ताकार कक्षामा सफलतापूर्वक पुगेको छ। यसलाई भारतको अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । ‘मिसन आगमन’ नाम दिइएको यस अभियानअन्तर्गत प्रविधि परीक्षणसँगै कलासम्बन्धी विशेष सामग्री पनि अन्तरिक्षमा पठाइएको छ । ग्रह स्पेस, कोस्मोसर्भ स्पेस, डिक्युब्ड तथा स्काईरुटका आफ्नै अनुसन्धानसम्बन्धी उपकरणहरू रकेटमार्फत अन्तरिक्षमा पठाइएका छन् । यसका साथै कोस्मोस डायमन्ड्सले तयार गरेको ‘कोस्मिक ब्लुम’ नामक कलाकृति र १८ क्यारेट सुनबाट बनाइएको सूक्ष्म रकेट पनि अन्तरिक्षमा पठाइएको छ । उक्त सुनको कलाकृतिमा वैज्ञानिक सी. वी. रमन, विक्रम साराभाई र ए. पी. जे. अब्दुल कलाम का सूक्ष्म आकृतिहरू कुँदिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हस्तलेखनमा तयार गरेको ‘वन्दे मातरम्’ लेखिएको पोस्टकार्ड पनि यस अभियानमार्फत अन्तरिक्षमा पठाइएको छ । विक्रम–१ पूर्ण रूपमा हलुका तथा बलियो कार्बन–संयुक्त पदार्थबाट निर्माण गरिएको विश्वकै पहिलो कक्षीय रकेटमध्ये एक मानिएको छ। कार्बन फाइबर इस्पातभन्दा करिब पाँच गुणा हलुका हुने भएकाले रकेटको तौल कम भई इन्धनको उपयोग बढी प्रभावकारी हुने कम्पनीको दाबी छ । रकेटमा तीन चरणका ठोस इन्धन प्रणाली र अन्तिम चरणमा तरल इन्धनमा आधारित कक्षीय समायोजन प्रणाली जडान गरिएको छ । प्रारम्भिक तीन चरणले रकेटलाई पृथ्वीबाट अन्तरिक्षतर्फ तीव्र गतिमा उचाल्ने काम गर्छन् भने अन्तिम तरल इन्धन प्रणालीले अन्तरिक्षमा पुगेपछि उपग्रह वा सामग्रीलाई निर्धारित कक्षामा सही रूपमा स्थापना गर्न, दिशा मिलाउन तथा गति नियन्त्रण गर्न सहयोग पुर्याउछ ।
८- संखुवासभाको चैनपुर नगरपालिका –०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । घटनामा प्रयोग गरिएको खुकुरी सहित अमरबहादुर सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
९- नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ । शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउदै पुरा गरेर ९ विकेटले पराजित गरेको हो । समुह चरणमा शानदार प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो । योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ ।
१०- भारतीय क्रिकेट नियन्त्रण बोर्डले रोहित शर्माको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने चर्चा अस्वीकार गरेको छ । बोर्डका सचिव देवजीत सैकियाले इङ्ग्ल्यान्डविरुद्ध लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल नहुने स्पष्ट पारेका छन् । उनले रोहितको भविष्यबारे सञ्चारमाध्यममा विभिन्न अड्कलबाजी भइरहेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताएका छन् । सैकियाका अनुसार रोहितले भारतका लागि अझै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जारी राख्नेछन् । यसअघि भारतीय सञ्चारमाध्यमले लर्ड्समा हुने तेस्रो एकदिवसीय खेल रोहितको अन्तिम अन्तर्राष्ट्रिय खेल हुन सक्ने दाबी गरेका थिए । उक्त समाचारमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले सन् २०२७ को एकदिवसीय विश्वकपको योजनामा रोहित नपर्ने जानकारी दिइसकेको उल्लेख गरिएको थियो । समाचारमा छनोटकर्ताहरूले रोहितको स्थानमा यशस्वी जायसवालजस्ता युवा खेलाडीलाई अवसर दिने तयारी गरेको दाबी पनि गरिएको थियो । साथै, संन्यास लिने वा छनोटका लागि उपलब्ध रहने भन्ने निर्णय रोहितकै हातमा छोडिएको उल्लेख गरिएको थियो । इङ्ग्ल्यान्ड भ्रमणका क्रममा रोहितको प्रदर्शनलाई पनि यस्तो चर्चाको कारण मानिएको थियो । पहिलो दुई एकदिवसीय खेलमा उनले क्रमशः ११ र २६ रन मात्र बनाउन सकेका थिए । फिटनेसमा मेहनत गरे पनि छनोटकर्ताको सोचप्रति रोहित पूर्ण रूपमा सन्तुष्ट नरहेको र उनले यस विषयमा बोर्डका केही पदाधिकारीसँग छलफल गरेको दाबी पनि गरिएको थियो । तर भारतीय क्रिकेट नियन्त्रण बोर्डले भने यी सबै अड्कलबाजीलाई अस्वीकार गर्दै रोहित शर्माले अन्तर्राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिने स्पष्ट गरेको छ।
११- भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा विभिन्न माग राख्दै जुन २८ देखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार बिहान प्रहरीले अस्पताल लगेको छ । ककरोच जनता पार्टीले प्रहरीको टोलीले वाङ्चुकलाई जबर्जस्ती प्रदर्शनस्थलबाट उठाएर अस्पताल लगेको तथा त्यहाँ रहेका विद्यार्थीमाथि लाठी प्रहारसमेत गरेको दाबी गरेको छ । सामाजिक सञ्जालमा वाङ्चुकलाई प्रहरीले प्रदर्शनस्थलबाट लगिरहेको तस्बिर पनि सार्वजनिक भएका छन् । पार्टीका संस्थापक अभिजीत दीपकेका अनुसार आफू बिहान करिब सात बजे केहीबेरका लागि बाहिर निस्किएका बेला प्रहरी त्यहाँ पुगेको र वाङ्चुकलाई घिसार्दै लगेको दाबी गरेका छन् । घटनास्थलमा रहेका एक व्यक्तिले बिहान चिकित्सकको टोलीका नाममा करिब १० जना प्रहरी प्रदर्शनस्थलमा प्रवेश गरेको र उनीहरू चिकित्सकजस्ता नदेखिएकाले आफूहरूले प्रहरी भएको अनुमान गरेको बताएका छन् । यता, नयाँ दिल्लीका प्रहरी उपायुक्तले सामाजिक सञ्जालमार्फत दिल्ली उच्च अदालतको आदेश र विशेषज्ञ चिकित्सकहरूको सल्लाहअनुसार वाङ्चुकको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले आवश्यक उपचारका लागि अस्पताल लगिएको बताएका छन् । वाङ्चुक जुन २८ देखि आफ्ना विभिन्न माग राख्दै आमरण अनशनमा छन्। शनिबार उनको अनशन २१औँ दिनमा प्रवेश गरेको हो । शुक्रबार राति सार्वजनिक गरिएको भिडियो सन्देशमा वाङ्चुकले अनशनका कारण आफ्नो शरीरको करिब २० प्रतिशत तौल घटिसकेको भए पनि मानसिक अवस्था अझै सामान्य रहेको बताएका छन् । उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत दिएका छन् ।
१२- चिनियाँ प्रविधि कम्पनी मुनसट कृत्रिम बुद्धिमत्ताले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता मोडल किमी के–३ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई २.८ ट्रिलियन प्यारामिटर भएको विश्वकै पहिलो खुला कृत्रिम बुद्धिमत्ता मोडल भएको दाबी गरेको छ । यसमा १० लाख टोकनसम्मको सन्दर्भ सम्झन सक्ने क्षमता रहेको छ, जुन अघिल्लो किमी के–२ मोडलको तुलनामा करिब साढे दुई गुणा बढी प्रभावकारी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्तामा ‘प्यारामिटर’ भन्नाले मोडलले सिकेको ज्ञान र अनुभवलाई जनाउछ । प्यारामिटरको संख्या जति धेरै हुन्छ, मोडलले जटिल प्रश्न बुझ्ने र समाधान गर्ने क्षमता पनि त्यति नै उच्च हुन्छ । किमी के–३ मा रहेको २.८ ट्रिलियन प्यारामिटरका कारण यसले अत्यन्त जटिल समस्या विश्लेषण गर्न र मानिससरह तर्क गर्न सक्ने दाबी गरिएको छ । त्यस्तै, १० लाख टोकनको सन्दर्भ क्षमताले एउटै समयमा ठूला पुस्तक, हजारौँ लाइनको सङ्केत लेखन वा विशाल कागजात सम्झेर विश्लेषण गर्न सक्ने कम्पनीको भनाइ छ । मुनसटले यो मोडल ‘खुला मोडल’का रूपमा विकास गरेको जनाएको छ । यसको अर्थ विश्वभरका अनुसन्धानकर्ता र सफ्टवेयर विकासकर्ताले यसलाई आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी नयाँ प्रविधि र सेवा विकास गर्न सक्नेछन् । कम्पनीले आगामी २७ जुलाईमा मोडलको पूर्ण प्राविधिक संरचना सार्वजनिक गर्ने घोषणा गरेको छ । किमी के–३ मा नयाँ ध्यान केन्द्रित गर्ने प्रविधि, दृश्य सामग्री प्रत्यक्ष बुझ्ने क्षमता तथा सङ्केत लेखन, अनुसन्धान र तार्किक विश्लेषणका लागि विशेष सुविधा समावेश गरिएको छ । यद्यपि कम्पनीले आफ्नो नयाँ मोडल अमेरिकाका पछिल्ला उन्नत कृत्रिम बुद्धिमत्ता मोडलहरूको स्तरमा भने अझै नपुगेको स्वीकार गरेको छ । केही अन्तर्राष्ट्रिय परीक्षणमा यसले पुराना अमेरिकी मोडललाई उछिने पनि नवीनतम मोडलभन्दा पछि रहेको जनाएको छ। मुनसटलाई चिनियाँ प्रविधि कम्पनी अलीबाबा र टेन्सेन्टको सहयोग प्राप्त छ । यसैबीच, अमेरिकी कम्पनी एन्थ्रोपिकले केही चिनियाँ कम्पनीहरूले आफ्ना कृत्रिम बुद्धिमत्ता प्रणालीबाट अवैध रूपमा जानकारी सङ्कलन गरेको आरोप लगाएको छ। एन्थ्रोपिकका अनुसार करिब २४ हजार नक्कली खाता प्रयोग गरी उसको कृत्रिम बुद्धिमत्ता प्रणाली १ करोड ६० लाख पटक प्रयोग गरिएको थियो। कम्पनीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
१३- नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका उच्च पदाधिकारीसँग बिहीबार छलफल गरेको छ । बोर्डका अनुसार विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले बजारमा स्थायित्व, तरलता र जिम्मेवार लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। नेपालमा व्यक्तिगत लगानीकर्ताको संख्या उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत कमजोर रहेको भन्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उनीहरूको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिइएको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा सहभागी निकायहरूले हालको लगानी अवस्था, देखिएका समस्या तथा आवश्यक सुधारका विषयमा आफ्ना धारणा राखेका थिए। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, उचित मूल्य निर्धारण, तरलता वृद्धि तथा सुशासन प्रवर्द्धनका लागि संस्थागत लगानीकर्ताको सक्रिय र जिम्मेवार भूमिका आवश्यक रहेको विषयमा छलफल केन्द्रित भएको थियो । छलफलका क्रममा अध्यक्ष भट्टले अबका दिनमा संस्थागत लगानीकर्ताले परम्परागत लगानी शैलीभन्दा अघि बढेर समयअनुकूल, विवेकपूर्ण र रणनीतिक लगानी पद्धति अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पूँजी बजारमा संस्थागत लगानी बढाउन आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको पनि बताए । बोर्डले संस्थागत लगानीकर्ताको दायरा विस्तार गर्दै पूँजी बजारलाई थप सन्तुलित, स्थिर र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्यसहित आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने जनाएको छ ।
१४- गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीको सहकार्य रहेको विवादित गीत ‘मास्टर्नी’ युट्युबबाट हटाइएको छ । गायक दुर्गेश थापा र फिल्म निर्माण कम्पनी आयंका फिल्मस् प्रालिले शुक्रबार बेलुका छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै उक्त गीत युट्युब तथा सामाजिक सञ्जालबाट हटाइएको जानकारी दिएका हुन् । साथै, शिक्षक-शिक्षिका र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै दुवैले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन् । यो गीतका शब्द र प्रस्तुतिकरणलाई लिएर व्यापक आलोचना भएको थियो । दुर्गेश थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘उक्त गीतका केही शब्द तथा प्रस्तुतिकरणका कारण आदरणीय दर्शक, शिक्षक–शिक्षिका तथा गुरुजनहरूको भावनामा ठेस पुगेको महसुस गरेका छौं। त्यसप्रति म तथा सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गर्दछु ।’ यस्तै, फिल्मकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले पनि उक्त गीत फिल्मभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचार-प्रसारका लागि मात्र तयार गरिएको बताएकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा सम्मानित शिक्षक-शिक्षिका पेसाको गरिमामा आँच पुर्याउने कुनै मनसाय नरहेको बताउँदै उनले गल्ती महसुस गरेको उल्लेख गरेकी छन् । सो गीत सार्बजनिक भएपछि नेपाल शिक्षक महासंघले विज्ञप्ती नै निकालेर गीतप्रति आपति जनाएको थियो । महासंघले यस गीतले समग्र शिक्षण क्षेत्रको अपमान गरेको भन्दै प्रशारण तत्काल बन्द गर्न माग गरेको थियो ।
१५- विश्व क्रिकेटका महान् अलराउन्डर तथा वेस्ट इन्डिजका दिग्गज खेलाडी सर ग्यारी सोबर्सको ८९ वर्षको उमेरमा बार्बाडोसस्थित निवासमा निधन भएको छ । क्रिकेट इतिहासकै सर्वश्रेष्ठ अलराउन्डरमध्ये एक मानिने सोबर्सले सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि ९३ टेस्ट खेल्दै ८ हजार ३२ रन बनाएका थिए भने २३५ विकेट लिएका थिए। उनले ब्याटिङ, तीव्र तथा स्पिन बलिङ र उत्कृष्ट क्षेत्ररक्षणमा समान दक्षता प्रदर्शन गरेका कारण उनलाई क्रिकेटको सर्वकालीन महान् खेलाडी मानिन्छ। सन् १९५८ मा पाकिस्तानविरुद्ध ३६५ रनको कीर्तिमानी इनिङ्स खेलेका सोबर्सले प्रथम श्रेणी क्रिकेटमा एक ओभरमा छ छक्का प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका थिए। क्रिकेटमा पुर्याएको योगदानको सम्मानस्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को वर्षकै उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित ‘सर ग्यारी सोबर्स पुरस्कार’ उनको नाममा राखिएको छ।
१६- डडेल्धुराको अमरगढी नगरपालिका –०७ खस्रेखान स्थित धनगढी-दार्चुला पक्की सडक-खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको थियो । दुर्घटनामा चालक जिल्ला बैतडी डिलासैनी गाउँपालिका –०२ बस्ने २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा गाउँपालिका –०३ बस्ने ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ । दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा थप घाईतेहरुको खोजी गर्ने क्रममा जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ३५ वर्षीया सरस्वती लोथ्याललाई घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल लगि उपचार भईरहेको छ । उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ । त्यसैगरी, जिल्ला दार्चुला अपिहिमाल गाउँपालिका –०१ बस्ने ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्याललाई गम्भीर घाइते अवस्थामा उद्धार गरी डडेल्धुरा अस्पताल पुर्याइएकोमा निज दुवै जनाको मृत्यु भएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१७- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचामा गरेको परिवर्तनप्रति एसोसियट्स राष्ट्रका खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन् । नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्डका कप्तानहरूले नयाँ व्यवस्था क्रिकेट विस्तारको लक्ष्य विपरीत रहेको भन्दै सार्वजनिक रूपमा आलोचना गरेका छन् ।आगामी विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा १४ टोलीको सहभागितामा आयोजना हुनेछ । तर नयाँ ढाँचाअनुसार सबैभन्दा तल्लो वरीयतामा रहेका तीन टोलीबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ र त्यसमध्ये दुई टोली केवल दुई खेल खेलेपछि नै प्रतियोगिताबाट बाहिरिनेछन् । यसअघि प्रस्ताव गरिएको सात-सात टोलीका दुई समूह र त्यसपछि दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था हटाइएको हो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले विश्वकपमा छनोट हुनु कुनै पनि राष्ट्रका लागि ठूलो उपलब्धि भए पनि वर्षौंको तयारीपछि अवसर नै सीमित बनाइनु अत्यन्त निराशाजनक भएको बताएका छन् । उनका अनुसार आईसीसीले विश्वभर क्रिकेट विस्तारको कुरा गरे पनि यस्ता निर्णयले एशोसियटस राष्ट्रलाई उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर झन् घटाएको छ । सन् २०२३ को विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो । तर त्यसपछि उसले पूर्ण सदस्य राष्ट्रविरुद्ध एकदिवसीय खेल खेल्ने अवसर नै नपाएको भन्दै एडवार्ड्सले यस्ता निर्णयले नयाँ पुस्ताका खेलाडीको प्रेरणा पनि कमजोर बनाउने बताए । नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले विश्वकप केवल अर्को प्रतियोगिता नभई धेरै खेलाडीको करिअरको लक्ष्य हुने बताए । उनका अनुसार विश्वकपमा पुग्न कठिन छनोट प्रक्रिया पार गरेपछि पनि वास्तविक प्रतिस्पर्धा गर्ने अवसर नपाउनु सहायक राष्ट्रप्रति लामो समयदेखि भइरहेको विभेदकै निरन्तरता हो । विश्व खेलाडी संघले पनि आईसीसीको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । संघका प्रमुख कार्यकारी अधिकृत टम मोफाटले पर्याप्त परामर्श, पारदर्शिता र स्पष्ट जानकारीबिनै प्रतियोगिताको आधारभूत ढाँचा परिवर्तन गर्नु उचित नभएको बताएका छन् । उनका अनुसार वर्षौंदेखि तय गरिएको छनोट प्रणालीअनुसार राष्ट्र र खेलाडीहरूले लगानी गरिसकेपछि अन्तिम समयमा गरिएको यस्तो परिवर्तनले उनीहरूको योजनामै असर पुर्याएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले खेलाडीहरूले सबै निर्णय आफैं गर्न खोजेका होइनन्, तर उनीहरूको करिअर र खेलको भविष्यमा प्रत्यक्ष असर पार्ने विषयमा अर्थपूर्ण परामर्श हुनुपर्ने बताए । स्कटल्यान्डका जर्ज मन्सी, नेदरल्यान्ड्सका म्याक्स ओ’डाउड र लोगन भान बिकले पनि नयाँ ढाँचाको खुलेर विरोध गरेका छन् । आयरल्यान्डका कप्तान पल स्टर्लिङले ४८ टोली सहभागी फुटबल विश्वकपले नयाँ राष्ट्रलाई अवसर दिएर प्रतियोगिताको आकर्षण बढाएको उल्लेख गर्दै क्रिकेटले पनि त्यस्तै सोच अपनाउनुपर्ने धारणा राखेका छन्। यता आईसीसीले भने नयाँ ढाँचाले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाउने दाबी गरेको छ । आईसीसीका अनुसार यस व्यवस्थाले उदाउदा टोलीलाई पनि विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउनेछ । साथै आईसीसीले पछिल्ला वर्षहरूमा क्रिकेटको विस्तारका लागि एकदिवसीयभन्दा छोटो ढाँचालाई प्राथमिकता दिँदै आएको छ ।
१८- नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले गत जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन भएको तथा त्यसबाट नेपाल टेलिभिजनलाई आर्थिक नोक्सानी पुगेको उल्लेख छ । जसबाट करिब रु २० करोड ६१ लाख ७३ हजार ४६९ बराबरको हानीनोक्सानी भएको देखिएको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनअनुसार स्याटेलाइट ब्याण्डविथ भाडा खरिदका क्रममा प्रतिस्पर्धात्मक प्रक्रिया नअपनाई पुरानै दररेटमा सम्झौताको म्याद थप गरिएको, सेवा सुरु हुनुअघि नै भाडा भुक्तानी गरिएको, सेवा सुरु भएपछि पनि बढी रकमको बिल भुक्तानी गरिएको तथा लागत अनुमान अस्वाभाविक रूपमा बढाई आवश्यकताभन्दा बढी ब्याण्डविथ खरिद गरिएको पाइएको छ । सन् २०१२ मा प्राविधिक रुपमा असफल बोलपत्रदातालाई नै सेवा खरिदका लागि छनौट गरिएको गम्भीर विश्लेषणसहितको प्रतिवेदन समितिले मन्त्रालयलाई बुझाएको छ । त्यस्तै, प्रयोग गरिरहेको स्याटेलाइटको ‘डिजाइन लाइफ’ सकिने बेलामा सोहि सेवा प्रदायकसँग थप १० मेगाहर्ज ब्याण्डविथ खरिद गर्नेगरी सम्झौता गरिएको प्रतिवेदनले औंल्याएको छ । यस्ता कार्यका कारण विभिन्न अवधिमा नेपाल टेलिभिजनलाई आर्थिक क्षति पुगेको अध्ययन समितिले उल्लेख गरेको छ । त्यस्तै, स्याटेलाइट ब्याण्डविथको भुक्तानी प्रक्रियामा नेपाल सरकारको राजस्व खातामा जम्मा हुनुपर्ने कर तथा अन्य राजस्व दायित्वसमेत पूर्ण रूपमा पालना नभएको प्रतिवेदनमा उल्लेख छ । यसले वित्तीय अनुशासन र राजस्व व्यवस्थापनमा समेत गम्भीर कमजोरी देखिएको समितिको निष्कर्ष छ । अध्ययन समितिले सन् २०१२ को मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हितविपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उनीहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल टेलिभिजनलाई हानि पुग्ने गरी निर्णय गरेको भन्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि सिफारिस गरिएको छ । सञ्चालक समितिले निर्णयमा हेलचक्य्राइँ गर्दा सन् २०२२ जुन ६ मा नेपाल टेलिभिजनको सबै च्यानल करिब ३० मिनेट प्रशारण बन्द भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, नेपाल टेलिभिजनभन्दा बाहिरबाट सञ्चालक समितिमा नियुक्त भएका पदाधिकारीलाई संस्थाभित्रका उच्च व्यवस्थापनबाट यथार्थपरक सूचना उपलब्ध नगराइएको तथा मन्त्रालय र नेपाल टेलिभिजनका प्राविधिक कर्मचारीले आफ्नो विज्ञताअनुसार जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको पनि प्रतिवेदनले औँल्याएको छ । लागत अनुमान तयार गर्ने क्रममा भएको लापरबाही तथा अस्वाभाविक निर्णयले संस्थालाई गम्भीर आर्थिक भार परेको निष्कर्ष अध्ययन समितिको छ । नेपाल टेलिभिजनले आफ्ना च्यानल भू–उपग्रहमार्फत प्रसारण गर्न सन् २००२ देखि विदेशी स्याटेलाइट ब्याण्डविथ सेवा प्रदायक कम्पनीसँग निरन्तर रूपमा भाडा सम्झौता गर्दै आएको छ । यस अवधिमा च्यानल थप गर्ने, स्ट्यान्डर्ड डेफिनेसन (एसडी) बाट हाई डेफिनेसन (एचडी) मा स्तरोन्नति गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिदसम्बन्धी निर्णयहरूमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए । प्रतिस्पर्धा बिनै खरिद, प्रक्रियागत अनियमितता, अनावश्यक आर्थिक भार, वित्तीय अनुशासन उल्लङ्घन तथा स्वार्थको द्वन्द्वजस्ता विषय देखिएको निष्कर्षसहित प्रतिवेदनले सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
१९- नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार साँझ पाण्डेको काठमाडौंको विशालगरस्थित आफ्नै निवासमा निधन भएको हो । पाण्डे पछिल्लो समय प्याङ्क्रियाजको क्यान्सरसँग जुधिरहेका थिए । उनी २०४६ सालको परिवर्तनपछि संक्रमणकालमा बनेको अन्तरिम सरकारमा अर्थमन्त्रीसमेत बनेका पाण्डे पछिल्लो समय भने नागरिक अगुवाको भूमिकामा रहेका थिए ।
२०- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशीमा ४ जनाको मृत्यु भएको छ भने मधेशमा एक जनाको मृत्यु भएको छ । त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १८ जना, सुदूरपश्चिममा ४ जना, बागमतीमा ६ जना र कर्णालीमा २ घाइते भएका छन् ।


