सल्यान, २० साउन ।
सल्यानको बागचौर नगरपालिकामा एक शिक्षक मृत अवस्थामा फेला परेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका घर भई हाल बागचौर नगरपालिका–७ मा बस्दै आएका अन्दाजी ४८ वर्षीय हरि बहादुर ओली आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख दिपक पातलीका अनुसार ओली हिजो बेलुका खाना खाएर सुतेका थिए। आज बिहान घरबेटी कमला वलीले उठाउन जाँदा उनी अचेत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी सहायक निरीक्षक निरज खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलमा पुग्दा ओलीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृतकका आफन्त दाङको तुलसीपुरमा रहेको जनाउदै उनीहरूलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख पातलीले मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको बताए। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।


