काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने प्रयास स्वीकार्य हुन नसक्ने बताएका छन् ।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना दिदै आङदेम्बेले नेपालको संविधानले संस्थागत गरेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारका उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त नभएको बताएका हुन् ।
उनले आदिवासी जनजातिसहित सबै नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट यी उपलब्धि प्राप्त भएको उल्लेख गरेका छन् ।
आङदेम्बेले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन्। विश्व आदिवासी दिवस आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको उनले बताएका छन् । तर पछिल्लो समय सरकारका गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भएको आफूले महसुस गरेको आङदेम्बेले बताएका छन् ।
‘कमजोरी छन् भने सुधार गरौँ, समस्या छन् भने समाधान गरौँ’ भन्दै उनले संविधान संशोधन र परिमार्जनमार्फत संवैधानिक अभ्यासका क्रममा देखिएका त्रुटि र कमजोरी सच्याउन सकिने बताएका छन्। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै समाप्त पार्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ ।
आङदेम्बेले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व तथा पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनले बताएका छन्।


