‘नानीबाबुहरू, हामी रोकिँदैनौँ’ : भोटेकोशी बाढीको दसौँ दिन प्रधानमन्त्री शाहको भावुक अपिल – Kanika Khabar
Saturday, September 5Nepali News Portal

‘नानीबाबुहरू, हामी रोकिँदैनौँ’ : भोटेकोशी बाढीको दसौँ दिन प्रधानमन्त्री शाहको भावुक अपिल

    मा प्रकाशित
तस्बिर एआई

काठमाडौं — देशभर श्रीकृष्ण जन्माष्टमीको उल्लास छ। ससाना नानीबाबुहरू राधाकृष्णको भेषमा सजिएका छन्, हातमा बाँसुरी बोकेका छन् र मखन खाएर रमाइरहेका तस्बिर सामाजिक सञ्जालमा छाइरहेका छन्। तर, यही उत्सवका बीच रसुवाको भोटेकोशी बाढीले प्रभावित क्षेत्रका बालबालिकाको जीवन भने शोक, पीडा र अनिश्चितताले घेरिएको छ।

भोटेकोशीमा विनाशकारी बाढी आएको दसौँ दिन प्रधानमन्त्री बालेन्द्र शाहले ती बालबालिकालाई सम्बोधन गर्दै भावुक अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विपद्मा परेका नानीबाबुहरूको पीडाप्रति संवेदना व्यक्त गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार निरन्तर लागिरहेको बताएका हुन्।

‘हाम्रा प्यारा नानीबाबुहरू’ भन्दै सुरु गरिएको अपिलमा प्रधानमन्त्री शाहले जन्माष्टमीको दिन देशका अधिकांश बालबालिका रमाइरहँदा बाढी प्रभावित क्षेत्रका बालबालिकाले भने त्यस्तो खुसी मनाउन नसकेको उल्लेख गरेका छन्।

‘यहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्’

प्रधानमन्त्री शाहले बाढीले बालबालिकाको जीवनमा पारेको मनोवैज्ञानिक असरलाई समेत अपिलमा समेटेका छन्। अचानक आएको विपद्ले कतिपय बालबालिकालाई के भयो भन्ने सोच्नसमेत समय नदिएको र उनीहरूका आँखाले आफ्ना बाबुआमा तथा आफन्त खोजिरहेको हुनसक्ने उनले उल्लेख गरेका छन्।

“साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्ने–कुद्ने चौरहरू पुरिएका छन्,” उनले लेखेका छन्।

उनले प्रभावित क्षेत्रका बालबालिकालाई उनीहरूको आफ्नै ठाउँ आज बिरानो जस्तो बनेको अनुभूति भइरहेको हुनसक्ने बताएका छन्।

बालबालिकालाई उद्धारमा प्राथमिकता

प्रधानमन्त्री शाहका अनुसार बाढी आएलगत्तै गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा प्राथमिकता दिइएको थियो। प्रभावित क्षेत्रमा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा बालबालिकासहित विस्थापितहरूलाई राखिएको उनले बताएका छन्।

“हामीलाई थाहा छ, यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ,” उनले भनेका छन्।

सरकारले प्रभावित बालबालिकालाई पुनः आफ्नो भविष्यको सपना बुन्न सक्ने वातावरण तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

‘भोलिका उज्याला झुल्का’

प्रधानमन्त्री शाहले बालबालिकालाई देशको भविष्यका रूपमा चित्रित गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकार खटिरहेको बताएका छन्।

“यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ। जतिसक्छौँ हामी खटिरहेका छौँ,” उनले लेखेका छन्।

भोटेकोशी विपत्तिले तत्कालीन उद्धारसँगै दीर्घकालीन पुनःस्थापना र विपद् जोखिम न्यूनीकरणको आवश्यकता पनि उजागर गरेको शाहको भनाइ छ।

विपद्सँग जुध्न बालबालिकालाई तीन सुझाव

प्रधानमन्त्री शाहले बालबालिकालाई भविष्यमा आउन सक्ने विपद्का लागि अहिलेदेखि नै तयार हुन आग्रह गरेका छन्। उनले विशेषगरी तीनवटा विषयमा ध्यान दिन सुझाएका छन्।

पहिलो, घरमा सबैले सजिलै भेट्न सक्ने ठाउँमा ‘विपद् झोला’ तयार राख्न उनले आग्रह गरेका छन्। यस्तो झोलामा घाउचोटमा लगाउने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा र केही नगदजस्ता अत्यावश्यक सामग्री राख्नुपर्ने उनको सुझाव छ।

दोस्रो, सानैदेखि बचत गर्ने बानी बसाल्न उनले आग्रह गरेका छन्। दैनिक एक रुपैयाँ मात्र बचत गर्दा पनि नेपालभरका बालबालिकाले एक वर्षमा ठूलो रकम जम्मा गर्न सक्ने भन्दै उनले यसको हिसाब आफैँ गर्न बालबालिकालाई भनेका छन्।

तेस्रो, जलवायु परिवर्तन र विपद् जोखिमबारे अध्ययन तथा छलफल गर्न उनले आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारिरहेको प्रभावबारे बुझ्न, एकआपसमा छलफल गर्न र जनचेतना फैलाउन बालबालिकालाई अगाडि आउन उनले आह्वान गरेका छन्।

१३ हजारभन्दा बढीको उद्धार, खोजी अझै जारी

भोटेकोशी बाढीपछि खोज तथा उद्धार कार्य अझै जारी छ। पछिल्लो विवरणअनुसार बाढीबाट उद्धार गरिएका मानिसको संख्या १३ हजार ९९५ पुगेको जनाइएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन्।

बाढीपछि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएका छन्। सुरुआती चरणमै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको थियो। उद्धारका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीले संसदमा जानकारी दिएका थिए।

विपत्तिको दसौँ दिनसम्म आइपुग्दा पनि भोटेकोशी बाढीको मानवीय क्षतिको पूर्ण विवरण आउन सकेको छैन। खोजी तथा उद्धारसँगै शव पहिचान, राहत र विस्थापितको व्यवस्थापनको काम पनि भइरहेको छ। पछिल्लो सरकारी विवरणमा मृतकको संख्या १,२५२ पुगेको र ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेको उल्लेख छ।

विश्व समुदायलाई पनि जोखिमबारे सचेत गराउनुपर्ने

प्रधानमन्त्री शाहले भोटेकोशी विपत्तिलाई जलवायु परिवर्तन र हिमालय क्षेत्रमा बढ्दै गएको विपद् जोखिमसँग जोड्दै विश्व समुदायलाई नेपालको वास्तविकता निरन्तर जानकारी गराउनुपर्ने बताएका छन्।

नेपाल हिमाली देश भएकाले यहाँका नागरिक सधैँ सजग रहनुपर्ने उनको भनाइ छ। प्रत्यक्ष रूपमा विपद् भोगेका बालबालिकामात्र नभई देशका अन्य क्षेत्रका बालबालिकालाई समेत विपद्बाट बच्ने, लड्ने र अरूलाई बचाउने सीप सिक्न उनले आग्रह गरेका छन्।

‘विपद्को भाषा विनाश हो, तर हाम्रो जवाफ एकता’

प्रधानमन्त्री शाहले विपद्को समयमा देशभित्र र बाहिरबाट प्राप्त सहयोगप्रति पनि आभार व्यक्त गरेका छन्। उद्धारमा आफ्नो ज्यानको पर्वाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य विज्ञ टोलीलाई उनले धन्यवाद दिएका छन्।

विदेशमा रहेका नेपाली, मित्रराष्ट्र र विकास साझेदार संस्थाले गरेको सहयोगप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

“विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,” शाहले भनेका छन्।

श्रीकृष्णको शिक्षालाई स्मरण गर्दै उनले संघर्ष र विपद्को समयमा निराश भएर बस्ने नभई धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने सन्देश दिएका छन्।

‘हामी रोकिँदैनौँ’

भोटेकोशी बाढीले हजारौँ परिवारको जीवन तहसनहस बनाएको बेला प्रधानमन्त्री शाहको अपिलको मूल सन्देश भने आशा र पुनर्निर्माणमा केन्द्रित छ।

पीडामा रहेका बालबालिकालाई सुरक्षित आवास, सहज वातावरण र भविष्यको सपना बुन्ने अवसर दिलाउने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्त्यमा सबै नेपालीलाई विपद्को सामना गर्न एकजुट हुन आह्वान गरेका छन्।

“आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ,” उनले अपिलमा भनेका छन्।

यस्तो छ प्रधानमन्त्रीको अपिल

हाम्रा प्यारा नानीबाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानीबाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यौ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानीबाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्