
दाङ, भदौ २४ । नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा बिपी कोइरालाको प्रतिमा पुनःअनावरण तथा ‘अग्रज नेतृत्व जीवनी सङ्ग्रह’ र ‘दाङ कांग्रेस आवाज’ स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्व तथा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नेपाली कांग्रेस एकताबद्ध भएर आगामी १५औँ महाधिवेशनमा अघि बढ्नुपर्नेमा जोड दिइन्। बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा उहाँको स्मरण गर्दै बीपीका विचार, आदर्श र सिद्धान्तलाई आत्मसात् गरी संगठन सुदृढीकरणमा सबै नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने उनले बताइन ।
उनले दाङ कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा अग्रज नेतृत्वले पुर्याएको योगदान, संघर्ष र त्यागबाट वर्तमान पुस्ताले महत्वपूर्ण सन्देश लिनुपर्ने धारणा व्यक्त गरिन। अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई समेत साथमा लिएर नेपाली कांग्रेसलाई थप सशक्त, संगठित र गतिशील बनाउनुपर्नेमा उनले जोड दिइन्।
बिपी कोइरालाका विचार र लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्दै संगठनलाई बलियो बनाउने, पुस्तान्तरणलाई प्रभावकारी बनाउने र सबैलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउनेतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री श्री योगेन्द्र चौधरी, केन्द्रीय सदस्यहरू केशवराज आचार्य, प्रदीपराज शर्मा र लीला नेपाली, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे तथा लुम्बिनी प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाली कांग्रेस दाङका पूर्व सभापतिहरू वीरकेशरी गौतम, मोहनलाल वली, घनश्याम रेग्मी र कीर्तिबहादुर खड्का, नेपाली कांग्रेस दाङका पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, दाङ जिल्ला समन्वय समितिका प्रमुख, क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका तथा वडा सभापति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, क्रियाशील सदस्य तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गत वर्षको जेन्जी आन्दोलनका क्रममा बीपी कोइरालाको शालिक तोडफोड भई पूर्ण रूपमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको प्रतिमाको विशेष समारोहबीच पुनःअनावरण गरिएको हो।
कार्यक्रममा ‘अग्रज नेतृत्व जीवनी संग्रह’ तथा ‘दाङ कांग्रेस आवाज’ स्मारिका समेत विमोचन गरिएको थियो। प्रारम्भकालदेखि २०४६ सालसम्म दाङमा नेपाली कांग्रेसको नेतृत्व गर्दै आउनुभएका अग्रज नेताहरूको जीवन, संघर्ष, योगदान र राजनीतिक यात्रालाई समेटेर ‘अग्रज नेतृत्व जीवनी संग्रह’ ग्रन्थ प्रकाशन गरिएको हो।
त्यसैगरी, नेपाली कांग्रेस दाङले आफ्नो कार्यकालमा गरेका विभिन्न राजनीतिक, संगठनात्मक तथा सामाजिक गतिविधि एवं कार्यहरूको विवरणसँगै दाङको राजनीतिक तथा सामाजिक इतिहासका महत्वपूर्ण पक्षहरू समेटिएको ‘दाङ कांग्रेस आवाज’ स्मारिका समेत विमोचन गरिएको थियो।
कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले गरेका थिए ।


