काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ।
यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि देशका विभिन्न स्थानमा परेको भारी वर्षा तथा प्राकृतिक विपत्तिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न हुन नसकेपछि महाधिवेशन दुई दिन सारिएको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिमा केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको उल्लेख छ।
सोही परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।
यसअघि नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।


