आज दिनभरका प्रमुख २० समाचार बुलेटिन – Kanika Khabar
Monday, September 28Nepali News Portal

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    मा प्रकाशित

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश उद्धवप्रसाद गजुरेलको इजलासले सोमबार प्रहरीलाई हिरासतमा राख्न अनुमति प्रदान गरेको हो । प्रसाईलाई सोमबार बिहान साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।

२- अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् । बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् भने उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको र विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

३- त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइसकेको छ । त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना समेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो । त्यस्तै, थप केसहरूको हिसाब–किताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाब–किताब भएका केसमा करिब २१ करोड ५० लाख रुपैयाँ रकम रहेको उल्लेख छ । विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ । त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरूले studyleave@tu.edu.np मार्फत समेत सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।  तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

४- अष्ट्रेलियाले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी संसदीय अनुसन्धानका क्रममा ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईलाई सिनेटसमक्ष उपस्थित हुन बोलाएको छ । अष्ट्रेलियाको सरकारी मेडिकेयर प्रणालीको एक पोर्टलमा ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले अनधिकृत पहुँच बनाएको घटना सार्वजनिक भएपछि संसदीय अनुसन्धानमा यो विषयलाई समेत समेटिएको हो । सिनेटको सार्वजनिक सुनुवाइ अक्टोबर १ मा क्यानबेरामा हुने प्रस्ताव गरिएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजीका अनुसार गत जुनमा ओपनएआईको एक कृत्रिम बौद्धिकता प्रणालीले मेडिकेयरको तथ्यांकसम्बन्धी पोर्टलका सार्वजनिक तथा गैरसार्वजनिक फाइलमा अनधिकृत पहुँच बनाएको थियो । तर अहिलेसम्म बिरामीको व्यक्तिगत स्वास्थ्यसम्बन्धी विवरणमा पहुँच पुगेको प्रमाण फेला नपरेको सरकारले जनाएको छ । घटनाबारे सरकारी निकाय र ओपनएआईको अनुसन्धान जारी छ । ओपनएआईले पनि उक्त गतिविधि जानाजानी नगरिएको र प्रारम्भिक अनुसन्धानमा निजी जानकारी प्रभावित भएको प्रमाण नदेखिएको जनाएको छ । सिनेट सुनुवाइमा कृत्रिम बौद्धिकता प्रणालीको सुरक्षा, तथ्यांकमा पहुँच, निगरानी, घटनाको जानकारी दिने प्रक्रिया र कम्पनीहरूको जवाफदेहितालगायत विषयमा प्रश्न उठ्ने अपेक्षा गरिएको छ । अल्टम्यान र अमोडेई स्वयं सुनुवाइमा उपस्थित हुने वा नहुने भने स्पष्ट भइसकेको छैन ।

५- नारायणी नदीको पुलको छेउमा अड्किएको राइनो क्रुज क्रेनको सहयोगमा निकालिएको छ । दुई वटा ठुला क्रेनको सहयोगमा क्रुजलाई निकालिएको हो । पुलमा कुनै क्षति नपुग्ने गरी क्रुज निकाल्न प्राविधिकहरुको टिम परिचालन गरिएको थियो । आइतबार नारायणी नदीमा आएको बाढीले पुल भन्दा केहि माथि रोकेर राखिएको राइनो क्रुज बगाएर नारायणी पुलको गैडाकोट पट्टिको पिलरमा अड्किएको थियो । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि राइनो क्रुज सञ्चालनमा आएको थियो । नवलपुर र आसपासका पर्यटकीय क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजनासहित राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा करिब ५० करोड रुपैयाँको लगानीमा क्रुज र होटल रिभर क्राउन सञ्चालनमा ल्याएका थिए । साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा रहेको छ । क्रुजमा एकपटकमा दुई सय जनासम्म यात्रु राख्न सक्ने क्षमता रहेको थियो ।

६- राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा नियन्त्रणमा परेपछि आइतबार आयोगको टोली अनुगमनका लागि टेकु पुगे पनि उनलाई भेट्न नदिएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो । आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो । शनिबार राति प्रहरीले नियन्त्रणमा लिएका चोलेन्द्रलाई आइतबार अपराहन्न करिब २ बजे परिवारको जिम्मा लगाइएको थियो ।

७-  असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेको छ । बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आएका छन् भने क्षतिग्रस्त संरचनाका कारण बन्द रहेका केही केन्द्र सञ्चालनमा आउन अझै समय लाग्ने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । वितरण प्रणालीअन्तर्गत अधिकांश स्थानमा वर्षा रोकिएलगत्तै सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा विद्युत् सेवा सुचारु गरिएको छ। बाँकी क्षेत्रमा पनि विद्युत् लाइन सञ्चालन गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएको प्राधिकरणले जनाएको छ । राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ । सफाइ गरी आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्डको अवस्था भने सामान्य रहेको र चार्ज गरिसकिएको छ । कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा सातवटा जलविद्युत् केन्द्रका १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन भने सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको जनाइएको छ । सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र बाढीका कारण अवरुद्ध भए पनि सञ्चालनमा आएका छन् । बाढीका कारण बन्द कालीगण्डकी जलविद्युत् केन्द्रको १४४ मेगावाट उत्पादन आज बेलुकासम्म सञ्चालनमा आउने जनाइएको छ । कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । बाटो अवरुद्ध भएकाले अन्य क्षतिग्रस्त स्थानको विस्तृत विवरण आउन बाँकी रहेको छ । वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको थियो । म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन र रुकुम पूर्वमा विद्युत् सुचारु भइसकेको छ । मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् सुचारु गर्ने र मनाङमा भोलिसम्म विद्युत् सेवा सञ्चालन गर्ने योजना रहेको छ । त्यस्तै, सुखायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । माग–आपूर्ति सन्तुलनका लागि विभिन्न माध्यमबाट थप १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । ढल्केवर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसबाट कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बी २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति पुगेपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको जनाइएको छ । यस क्षेत्रमा प्राधिकरण तथा सहायक कम्पनीहरूको करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

८- नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५७ कम्पनिका एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता शेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी १० प्रतिशत केबीएल डिभेन्चर ९० को शेयर १२.१७ प्रतिशतले बढेको छ भने ७ प्रतिशत लक्ष्मी सनराइज डिभेन्चर २०९२ को शेयर १० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १०.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको ३५ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २९ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

९- आज सेप्टेम्बर २८ अर्थात् विश्व रेविज दिवस २०२६ मनाइँदैछ । रेविजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्दै रेविज निवारणतर्फको प्रतिबद्धता दोहोर्‍याउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ । सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवस पनि हो । रेविजविरुद्धको पहिलो सफल खोप विकासमा उनको महत्वपूर्ण योगदान रहेको थियो। यस वर्ष ‘एकतामा शक्ति, रेविजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेविज दिवस मनाइँदैछ । रेविज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेविजका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ । रेविजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् । नेपालमा पनि रेविज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ । नेपालमा हुने मानव रेविजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित छन् । नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु हुने अनुमान गरिएको छ । नेपालको करिब ५० प्रतिशत जनसंख्या उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था छ । रेविजसम्बन्धी सेवा विस्तार गर्ने क्रममा देशभर हाल २८६ वटा सेवा केन्द्रबाट रेविजविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ । कुकुर, बिरालो वा अन्य सम्भावित रेविज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा त्यसलाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्न हुँदैन भने यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनु हुँदैन । त्यसपछि सम्भव भएसम्म तत्काल नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्छ । स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्छ । जनावरको टोकाइलाई सानो घाउ भन्दै बेवास्ता गर्नु हुँदैन । रेविजको लक्षण देखिएपछि यो सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिने समय पर्खनु हुँदैन । जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेविजबाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो ।

१०- भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते बुधबार निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले निर्वाचन मिति र समयका बारे जानकारी गराएका हुन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने सभामुख अर्यालले जानकारी दिए । असोज ५ गते बसेको संसद बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति’ नाम दिइएको समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कंडेल, मोहन आचार्य, मिग्मा ग्याबू शेर्मा , रमेश मल्ल, रविन्द्र पटेल, सरस्वति लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन् ।

११- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ११ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, झिंगे दाउ-२, पार्वती र तिनीहरु इलेफेन्ट इन द फग, कार्की साइलाको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९५ लाख ८४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४१ हजार ३७२ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ७ करोड १ लाख ४१ हजार कमाई गरेको छ भने यस चलचित्रका २ लाख ४४ हजार ८४२ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ९६ लाख ३६ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख ५ हजार ३३८ टिकट विक्री भएको छ । त्यस्तै, असोज २ गते देखि प्रदर्शनमा आएको झिंगेदाउ- २ ले एक करोड ३४ लाख ८४ हजार कमाई गरेको छ । यस फिल्मले ४३ हजार ७८६ टिकट विक्री गरेको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २८ लाख ५५  हजार कमाई गरेको छ भने अहिलेसम्म ८१ हजार ३९७ टिकट विक्री भएका छन् । त्यस्तै अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड २५  लाख कमाइ गरेको छ । यस चलचित्रले ३५ हजार ३३७ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।

१२- अविरल वर्षासँगै आएको पहिरोमा परी बागलुङका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकामा पहिरोले घर तथा गोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो । तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घरसमेत बगाएको छ । तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर विक र ६५ वर्षीया उदीसरा विकको मृत्यु भएको छ । सोही घटनामा हस्तवीरकी श्रीमती बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज विक, आठ वर्षीय मुकेश विक र तीन वर्षीय निशान विक रहेका छन् । त्यस्तै, निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।  पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा निकायको टोली उद्धारमा परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

१३- हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ । एसोसिएसनका अनुसार आइतबार खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव निकालिएको थियो भने आज थप दुई जना वीरेंद्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो । हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । मौसम र अवस्था अनुकूल रहे टोलीले थप ३ देखि ४ घण्टा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ । एसोसियसनका अनुसार हिमपहिरोमा अझै १० जना बेपत्ता रहेका छन् । आइतबार आएको हिमपहिरोमा किचन स्टाफ १४ जना र २ जना आरोहण गाइड बेपत्ता भएका थिए ।

१४-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ हजारले घटेर तोलाको २ लाख ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९९ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले घटेर ४५१० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४६५५ मा कारोबार भएको थियो ।

१५-  एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो क्वार्टरफाइनल खेल पनि भारी वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएपछि भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यस खेलमा भारतले अफगानिस्तानको सामना गर्ने तयारी गरेको थियो । कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो । भारतले अब सेमिफाइनलमा नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ । यसअघि आजै भएको पहिलो क्वार्टरफाइनलमा पाकिस्तान र हङकङबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । अन्तर्राष्ट्रिय टी-२० वरीयताका आधारमा पाकिस्तान सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले अब बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ । अब नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल खेल भने भोलि हुनेछ । त्यस्तै बंगलादेश र मलेसियाबीचको क्वार्टरफाइनल पनि भोलि नै हुने तालिका छ । वर्षाका कारण लगातार खेल प्रभावित भएपछि बाँकी खेलका लागि मौसम सुधार हुने अपेक्षा गरिएको छ ।

१६- एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एसियाली पूर्वाधार लगानी बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका लागि बैंककी अध्यक्ष जियायीसँग आग्रह गरेका छन् । कतारको राजधानी दोहामा भएको भेटवार्तामा नेपालमा पूर्वाधार विकासका लागि लगानी बढाउने तथा विपद्पछिको पुनर्निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

१७- इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईलाई उपचार भइरहेको अस्पतालमा अमेरिकी बमबारी भएपछि भग्नावशेषबाट उद्धार गरिएको दाबी गरिएको छ । इरानको विशेषज्ञ सभाका सदस्य मोहसेन हैदरीले कतारको टेलिभिजन सञ्जाल अल अरबिसँगको अन्तर्वार्तामा मोज्तबा घाइते भएपछि अस्पताल भर्ना गरिएको र तेहरानका तीन अस्पतालमा बमबारी हुँदा उनी तेस्रो अस्पतालको भग्नावशेषमा पुरिएको बताएका छन् । उनका अनुसार मोज्तबालाई भग्नावशेषबाट निकालिएको थियो । मोज्तबा खामेनेईलाई गत मार्च ८ मा इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको थियो । हैदरीले सरकारी टेलिभिजनबाट घोषणा नभएसम्म मोज्तबालाई समेत आफ्नो चयनबारे जानकारी नभएको दाबि गरेका छन्  । हैदरीले मोज्तबा स्वस्थ रहेको र धार्मिक तथा नेतृत्व क्षमता भएकाले उनलाई सर्वोच्च नेताका रूपमा चयन गरिएको दाबी गरेका छन् । यद्यपि, मोज्तबाको हालको अवस्थाबारे स्वतन्त्र रूपमा विस्तृत जानकारी सार्वजनिक भएको छैन ।

१८- एसियाली खेलकुदमा चीनका अनुभवी खेलाडीसँगै नयाँ पुस्ताका खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १३ वर्षीया पौडी खेलाडी यु जिदी यसको सबैभन्दा चर्चित उदाहरण बनेकी छन् । एसियाली खेलकुदमा पहिलोपटक सहभागी युले अहिलेसम्म तीन व्यक्तिगत स्वर्ण पदक जितिसकेकी छन् । उनले २०० मिटर बटरफ्लाई, २०० मिटर व्यक्तिगत मेड्ली र ४०० मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण जित्दै तीनवटै स्पर्धामा खेलकुद कीर्तिमान कायम गरेकी छन् । ४०० मिटर व्यक्तिगत मेड्लीमा उनले ४ मिनेट २८.५६ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् । अर्को महिना १४ वर्ष पुग्ने यु विश्व स्विमिङ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडीसमेत हुन् । तीन स्वर्ण जितेपछि युले आफूलाई सफलता सहज नभएको बताएकी छन् । उनले लगातारको प्रतिस्पर्धा निकै थकानपूर्ण भए पनि आफ्नो प्रदर्शनमा सुधार गर्न सफल भएको बताएकी छन् । चीनको नयाँ पुस्ताबाट १९ वर्षीय पौडी खेलाडी चाङ झान्सुओले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनले १५ सय मिटर र २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नुका साथै रिले स्पर्धामा पनि चीनलाई स्वर्ण दिलाउन योगदान गरेका छन् । यस्तै, १६ वर्षीया जिम्न्यास्टिक खेलाडी के छिनछिनले व्यक्तिगत सर्वाङ्गीणमा रजत जितेपछि चीनलाई महिला टोलीतर्फ स्वर्ण दिलाउन महत्वपूर्ण भूमिका खेलेकी छन् । एसियाली खेलकुदमा चीनको सबैभन्दा कम उमेरकी खेलाडी १२ वर्षीया स्केटबोर्ड खेलाडी छाउ शिक्वीले पनि प्रतिस्पर्धा गरिरहेकी छन् । यससँगै १७ वर्षीया धाविका छन युचे र १८ वर्षीया भालाफेँक खेलाडी यान यिजीले पनि चीनको नयाँ पुस्ताको प्रतिनिधित्व गरिरहेका छन् । जापानमा जारी एशियाली खेलकुदमा चीनले अहिलेसम्म १२२ स्वर्ण पदकसहित कुल २११ पदक जितेको छ ।

१९- भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ८ विकेटको शानदार जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । भारतको जितमा विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित १३९ रन बनाए । उनले ८८ बलमा १३९ रनको पारी खेले। शुभमन गिलले पनि १०८ बलमा ११० रन बनाए । कोहली र गिलको उत्कृष्ट साझेदारीपछि भारतले सहज रूपमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९५ रन बनाएको थियो । वेस्ट इन्डिजका जस्टिन ग्रिभ्सले शतकीय पारी खेल्दै १०८ बलमा १०१ रन बनाए । जोन क्याम्पबेलले ६० बलमा ६२ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई राम्रो सुरुवात दिलाएका थिए । भारतका कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४० रन दिएर ४ विकेट लिए। प्रसिद्ध कृष्णाले दुई विकेट लिए । कुलदीपको उत्कृष्ट बलिङका कारण वेस्ट इन्डिजलाई ३०० रनको आँकडा पार गर्नबाट रोकिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुलदीपलाई ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित गरिएको छ । भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय खेल सेप्टेम्बर ३० मा गुवाहाटीमा हुनेछ ।

२०- म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको शव फेला पारिएको हो । अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर पुन, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी ५ वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी शिल कुमारी गर्बुजाको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ।  वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएपछि प्रहरी परिचालन गरी थप खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । यसैबीच पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा सम्पूर्ण यातायात आवागमन ठप्प भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्