दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) को प्रदेश सभा क्षेत्रीय सभापतिमा शिशिर अधिकारी विजयी हुनुभएको छ। अन्तिम मतपरिणामअनुसार अधिकारीले २१५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी मायाकुमारी पोख्रेलले २११ मत प्राप्त गर्नुभयो। अधिकारी ४ मतको अन्तरले विजयी हुनुभएको हो।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको उपसभापतिमा इन्द्रमणि वली २५४ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी विनोद गौतमले १६१ मत प्राप्त गर्नुभयो।
त्यस्तै, सचिवमा भुवन गौतम २३९ मतसहित विजयी हुनुभएको छ भने शालिकराम पाण्डेयले १७२ मत प्राप्त गर्नुभयो।
निर्वाचनमा कुल ४४७ मत खसेकोमा ८ मत बदर भएको थियो।
सभापति, उपसभापति र सचिव पदको परिणाममा शिशिर अधिकारी नेतृत्वको प्यानलका उम्मेदवारहरू विजयी भएका छन्। यससँगै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) को प्रदेश सभा क्षेत्रीय नेतृत्वमा अधिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ।
मा प्रकाशित


