दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै अब पार्टीभित्रको प्रतिस्पर्धालाई सहकार्यमा बदल्दै संगठन निर्माणमा केन्द्रित हुनुपर्ने नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले बताएका छन्।
अधिवेशन मर्यादित, सौहार्दपूर्ण र विवादरहित ढङ्गले सम्पन्न भएकोमा सम्पूर्ण कांग्रेसजनलाई बधाई तथा धन्यवाद दिँदै सुवेदीले निर्वाचनको परिणामलाई स्वीकार गरेर अब संगठनलाई थप बलियो बनाउने अभियानमा जुट्न आग्रह गरेका हुन्।
उनले अधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूलाई ‘जितलाई अहंकार नबनाउन र हारलाई निराशा नबनाउन’ आग्रह गरेका छन्। निर्वाचन सकिएसँगै संगठन निर्माणको नयाँ जिम्मेवारी सुरु भएको उल्लेख गर्दै उनले विजयी हुनेहरूले पराजित साथीहरूलाई अझ आत्मीयताका साथ साथमा लिएर अघि बढ्नुपर्ने र पराजित हुनेहरूले पनि परिणामलाई स्वीकार गर्दै संगठन सुदृढीकरणमा हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
सुवेदीले १४औँ र १५औँ महाधिवेशनबीच पार्टीभित्र देखिएको परिवर्तनलाई यसपटक प्रत्यक्ष रूपमा महसुस गरिएको बताएका छन्। युवाहरूले अघि सारेको ‘रूपान्तरण अभियान’ ले नयाँ सोच, नयाँ प्रश्न, खुला बहस तथा संगठनभित्र परिवर्तनको आवश्यकतालाई बलियो रूपमा उठाएको उनको भनाइ छ।
उनका अनुसार रूपान्तरण अभियान कुनै व्यक्तिविशेषको विरोध नभई नेतृत्वप्रति सम्मान कायम राख्दै पार्टीभित्रको पुरानो कार्यशैलीमा सुधार ल्याउने र कांग्रेसलाई नयाँ पुस्ताको आशा तथा भरोसाको पार्टी बनाउने प्रयास हो।
‘अब अभियान रोकिने होइन,’ सुवेदीले भनेका छन्, ‘आगामी चार वर्षसम्म गुट र समूहभन्दा माथि उठेर, व्यक्ति होइन विचारलाई केन्द्रमा राख्दै खुला संवाद र सहभागितामार्फत संगठनलाई अझ सुदृढ बनाउने निरन्तर प्रयास हुनेछ।’
उनले अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने क्षेत्रीय प्रतिनिधि, निर्वाचन समिति, उम्मेदवार तथा समर्थक, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
अधिवेशनपछि कांग्रेसभित्र सहकार्य र संगठन निर्माणको नयाँ अध्याय सुरु हुनुपर्नेमा जोड दिँदै सुवेदीले ‘निर्वाचनमा प्रतिस्पर्धा भयो, अब संगठन निर्माणमा सहकार्य गरौँ’ भन्ने सन्देश दिएका छन्।
उनले अधिवेशन सम्पन्न भए पनि रूपान्तरणको अभियान भने समाप्त नभएको स्पष्ट पार्दै यसलाई अझ जिम्मेवार र संगठित ढङ्गले अघि बढाउने नयाँ सुरुवातका रूपमा लिनुपर्ने बताएका छन्।


