काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन् । कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेको हो । आइतबार विरेन्द्रनगरको कर्भड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णय अनुरुप १० औं राष्ट्रिय खेलकुदको आयोजनासम्बन्धि विभिन्न निर्णय गरेको हो । यस निर्णयमा १०औं राष्ट्रिय खेलकुदको सम्पूर्ण बजेट खर्च नेपाल सरकारबाट प्राप्त भएको १० औं राष्ट्रिय खेलकुद आयोजनाको बजेटबाट हुनेछ। यस प्रतियोगिता पश्चात पहिलो पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हुने निर्णय गरिएको छ । १० औं राष्ट्रिय खेलकुदमा हुने ३२ खेलमा एथ्लेटिक्स , कुस्ती, ब्याटमिन्टन, कबड्डी (महिला र पुरुष), बक्सिङ, कराते, बस्केटबल (महिला र पुरुष), फुल कन्ट्याक्ट कराते, शारिरिक सुगठन, आइटीएफ तेक्वान्दो, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटबल (महिला र पुरुष), बुद्धिचाल , ह्यान्डबल (महिला र पुरुष), जुडो, खो खो (महिला र पुरुष), रग्बी (महिला र पुरुष), पौडी, तेक्वान्दो, टेनिस, भलिबल (महिला र पुरुष), आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन, हक्की (महिला र पुरुष), ई स्टोस्ट्र्स, स्वाक्स, सुटिङ, साइक्लिङ, टेनिस, आर्चरी, जिम्न्यास्टिक र सेपाकताक्रो रहेका छन् ।
२- नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले राष्ट्रिय टिमलाई बिदाई गरेका हुन् । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् । अक्टोबर ९ देखि शुरु हुने यस सिरिजमा नेपालसहित ओमान र क्यानडाले खेल्ने तालिका रहेको छ । नेपालले अक्टोबर ११ मा क्यानडासँग, अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् । नेपालको हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।
३- नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताएका हुन् । उनले भने- ‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ ।’ उनले देउवाको ढोकामा पटक-पटक सलामी दिएर सम्मान नहुने भन्दै उनले काम गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन योगदान गरे भन्ने आधारमा हुने बताए । उनले भने- ‘हामीले शेरबहादुर देउवाको मान राख्ने भनेर उहाँको ढोकामा कतिपटक सलामी दिएर मान हुने होइन । उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो। हामी त्यो मान राख्छौँ ।’
४- रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभामा सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई पार्टीमा बसेर हैरान गर्नेलाई फकाउन भन्दा छोडिदिएकै राम्रो हुन्छ भन्ने सुझाव दिएका हुन् । उनले भने- ‘कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ ।’ काँग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै सभापति लामिछानेले अहिले सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै सरकार नढल्ने स्पष्ट गरेका हुन् । उनले लोकतन्त्रप्रति आफुहरु प्रतिबद्ध रहेको भन्दै अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका थिए । लामिछानेले चुनावको विषयमा हल्का टिप्पणी गरेको भन्दै जनताको मतको अपमान नगर्न आग्रह गरे । लामिछानेले काँग्रेसको बलियो र कमजोर दुवै पक्ष यसको इतिहास भएको बताएका छन् । काँग्रेसले विगतमा पिछडिएको वर्गलाई नहेरेको, समानुपातिक सिट बेचेको आरोप लगाउदै त्यसो नगरेको भए आफु पनि काँग्रेस हुनसक्ने थिए भनेका थिए । सभापति लामिछानेले आफुहरु लोकतन्त्रका मुल्य र मान्यताको विरुद्ध डेक नचल्ने बताउदै लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिने बताए ।
५- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उपसभापति शर्माले महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन् । उनले बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान पुर्याउने प्रतिबद्धता जनाए । उनले संविधान संशोधन केवल संसद्को गणितको विषय मात्र नभई यसमा सबैको अपनत्व र भावना जोडिनुपर्ने बताए । संशोधन प्रक्रियामा हाल संसद्मा नरहेका तर विगतमा संविधान सभामा रहेका दलहरूलाई पनि समेटेर अगाडि बढ्न सरकारलाई आग्रह गरे । उनले देशको विकास र समृद्धिका लागि सरकारसँग सहकार्य गर्ने र सरकारलाई साथ दिने बताए ।
६- नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् । काँग्रेसको १५औं महाधिवेशनमा शुभकामना दिदै आफुले भन्ने गरेको निरन्तरतामा क्रमभंगता गगन थापाले काँग्रेसमा गरेको बताउदै शुभकामना दिएका थिए । देशको विषम परिस्थितिमा काँग्रेसलाई नयाँ बनाउने जमर्को गरेको भन्दै गगन थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताए । प्रचण्डले लोकतन्त्रका पक्षधरहरुले वरिष्ठ नेताहरुलाई अपमानित नगर्न र सम्मानसहित सबैलाई एक बनाएर देशको नेतृत्व गर्न सुझाव दिएका थिए । उनले देश अहिले अप्ठ्यारोमा रहेको बताउदै सरकारका गतिविधिले देश अझ खतरामा जाने होकी भन्ने चिन्ता रहेको बताए । प्रचण्डले शान्तिप्रक्रियाका टुंगाउन बाँकी रहेका कामहरु टुंगाउन आग्रह गर्दै ति विषय नटुंगिएमा त्यसको परिणमा नराम्रो हुने बताए । उनले अब शान्तिप्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गरेका छन् ।
७- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् । आइतबार, काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनमा स्वीकार्य सभापतिको रुपमा स्थापित हुने विश्वास गरेका थिए । उनले भने- ‘१५औँ राष्ट्रिय महाधिवेशनबाट सिंगो नेपाली कांग्रेसको स्वीकार्य सभापतिका रूपमा स्थापित हुनुहुन्छ भन्ने विश्वास र अपेक्षाका साथ शुभकामना व्यक्त गर्न चाहन्छु ।’ उनले विगतमा काँग्रेससँग मिलेर आन्दोलन गर्दै देशमा गणतन्त्र स्थापना गरेको सम्झना गर्दै अहिले फेरी एक भएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए । उनले भने- ‘पहिले निरंकुशताको अन्त्यका लागि कांग्रेसले वामपन्थीसँग सहकार्य गरेको थियो । लोकतन्त्रको रक्षाका लागि अब सहकार्य गर्छ वा गर्दैन भन्ने प्रश्न आएको छ ।’ नेता पोखरेलले जननिर्वाचित सरकार संसद्प्रति उत्तरदायी नभएको, नागरिकप्रति जबाफदेही नभएको भन्दै लोकतन्त्रमा खतरा उत्पन्न भइरहेको टिप्पणी गरेका थिए ।
८- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देश लिकबाट बाहिर गएको बताएका छन् । नेपाली काँग्रेसको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश अहिले अध्यारो सुरुङतर्फ धकेलिएको भन्दै देशमा संकट बढेको र देश लिकबाट बाहिर गएको बताएका हुन् । उनले पहिला विचार नमिल्दा गोलि हानियो भने अहिले फरक मत राख्दा सामाजिक संजाल आउने बताउदै व्यक्ति फेरिए पनि देशको परिस्थिति नफेरिएको टिप्पणी गरे । देशको राजनीतिमा व्यक्तिमा मात्र समस्या नरहेको भन्दै उनले व्यवस्था र संबिधानमा समस्या रहेको बताए । उनले अहिले पनि व्यक्तिमा समस्या रहेको कुरा अहिलेको ६ महिनाले देखिएको बताए । देशमा नविन समझदारीको खाँचो रहेको बताउदै अध्यक्ष लिङदेनले राजादेखि राजनीतिक दल र नया पुस्तालाई एक ठाउमा राखेर देशलाई निकास दिनुपर्ने बताए ।
९- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सञ्चालन हुँदैछ। मन्त्री पोखरेलले प्रतियोगिताको तयारीसँगै यसको उत्सवसमेत सुरु भइसकेको बताए । उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट हो।’ मन्त्री पोखरेलले यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिता विगतका प्रतियोगिताभन्दा थप प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफल बनाउन तीनै तहका सरकार तथा सम्पूर्ण सरोकारवाला मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार प्रतियोगितालाई सफल बनाउन संघ, प्रदेश र स्थानीय तहसहित सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक छ । बैठकमा आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा व्यवस्थापनका विषयमा छलफल भएको थियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन हुदैछ ।
१०- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले काँग्रेस देशमा प्रजातन्त्र स्थापनाको लागि जन्मिएको पार्टी भएको बताएका छन् । काँग्रेसको महाधिवेशनमा शुभकामना दिदै महासचिव राईले देशकै पुरानो दल नेपाली काँग्रेस हल्लाद्वारा स्थापित पार्टी नभएको र प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरूले राष्ट्र निर्माणको सपना देखेर निर्माण भएको पार्टी हो भन्ने बुझेको बताए ।उनले भने- ‘नेपाली कांग्रेस वास्तवमा एउटा हल्लाद्वारा स्थापित पार्टी होइन । नेपालमा लोकतान्त्रिक गणतन्त्र, प्रजातन्त्र स्थापनाका निम्ति थुप्रै योद्धाहरूले राष्ट्र निर्माणको सपना देखेर निर्माण भएको पार्टी हो भन्ने हामीले बुझेका छौँ ।’ राईले विगतका गल्ती सच्याएर नयाँ पुस्ताले देश निर्माणमा योगदान दिनुपर्ने बताउदै राजनीतिक दलहरूबीच अब कामको प्रतिस्पर्धा हुनुपर्ने बताएका थिए ।
११- सभापति गगन थापाले नेपाली कांग्रेसको १५औं महाधिवेशनको विधिवत् उद्घाटन गरेका छन् । काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति थापाले महाधिवेशनको उद्घाटन गरेसँगै विधिवतरुपमा शुरू भएको हो । सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन् । महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पूर्व प्रधानमन्त्री डा, बाबुराम भट्टराईलगायत सहभागी छन् । यस महाधिवेशनमा काँग्रेसका करिब ७६ सय प्रतिनिधि सहभागी हुँदैछन् । आज उद्घाटन समारोह हुदैछ भने सोमबार र मंगलबार बन्दसत्र हुने छ । बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल र कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।
१२- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ र शहबाज सरिफ सरकारबीचको वार्ता विफल भएको छ। वार्ता टुंगोमा नपुगेपछि पार्टीले इस्लामाबादतर्फको लामो मार्च जारी राख्ने निर्णय गरेको छ । दुवै पक्षबीच शनिबार साँझदेखि आइतबार बिहानसम्म दोस्रो चरणको वार्ता चले पनि सहमति हुन सकेन । इमरान खानसँग तत्काल भेट गर्न दिनुपर्ने, उनका निजी चिकित्सकलाई स्वास्थ्य परीक्षणको अनुमति दिनुपर्ने तथा आवश्यक परे अस्पताल लैजानुपर्ने पीटीआईको मुख्य माग छ। सरकारले भने पहिले मार्च र प्रदर्शन रोक्ने घोषणा गर्नुपर्ने अडान राखेको थियो । पीटीआईले इमरान खानकी बहिनीहरू तथा प्रदर्शनअघि पक्राउ परेका अन्य कार्यकर्ताको रिहाइ, उनकी पत्नी बुशरा बीबीको स्वास्थ्य परीक्षण र उनीविरुद्धका मुद्दाको निष्पक्ष सुनुवाइको मागसमेत गरेको छ । खैबर पख्तुनख्वामा आतंकवाद नियन्त्रणमा केन्द्र र प्रान्तीय सरकारको भूमिकाबारे पनि वार्तामा सहमति हुन नसकेको बताइएको छ । वार्ता विफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहैल अफ्रिदीले मार्च अघि बढाउने घोषणा गरेका छन् । मार्च विभिन्न जिल्लाका समर्थकलाई सहभागी गराउँदै पेशावर हुँदै खैराबाद पुग्ने र त्यसपछि इस्लामाबादतर्फ अघि बढ्ने योजना छ । सरकारले भने प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिने चेतावनी दिएको छ । राजधानीतर्फ जाने सडकमा कन्टेनर राखेर अवरोध गर्ने तथा सुरक्षाकर्मीको संख्या बढाउने तयारी गरिएको छ । यससँगै पीटीआईको मार्च र सरकारबीच प्रत्यक्ष टकरावको सम्भावना बढेको छ ।
१३- जनमत पार्टीको दोस्रो महाधिवेशनले सिके राउतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वीरगञ्जमा सम्पन्न महाधिवेशनले अध्यक्ष पदमा डा. सीके राउतलाई निर्बिरोध निर्वाचित गरेको हो । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार राष्ट्रिय उपाध्यक्षमा अनिता कुमारी मण्डल, अनिता देवी शाह, नरेन्द्र प्रसाद चौधरी, बसन्त कुमार कुशवाह, डा. जयकान्त राउत, राजकुमार यादव त्यागि र माधव प्रसाद सिंह निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा संजयकुमार यादव निर्वाचित भएका छन् भने उपमहासचिवमा निर्मल कुमार मण्डल निर्वाचित भएका छन् । त्यस्तै राष्ट्रिय सचिवमा सुरेन्द्र कुमार चौधरी, पारस प्रसाद शाह, सन्तोष राज सहानी, अन्जनी देवी, राधा कुमारी यादव, हरेन्द्र चौधरी र बाल गोविन्द चौधरी निर्वाचित भएका छन् । त्यस्तै महाधिवेशनले ४८ जना कार्यकारीणी सदस्य निर्वाचित गरेको छ ।
१४- बागमती नगरपालिका–४ जंगलटोलस्थित जिरायतको नयाँ बस्तीमा आइतबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । समुदायिक वनको पश्चिमतर्फ बूढी बागमतीको पूर्वपट्टि रहेको परवल बारीमा हात्ती मृत अवस्थामा फेला परेको जनाइएको छ । स्थानीयले हात्ती मृत अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए । घटनापछि प्रहरी तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाएका छन् । हात्तीको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१५- अभिनेता अजय देवगनको फिल्म : द कन्क्लुजन’ ले प्रदर्शनको दोस्रो दिनमा नै सय करोड क्लब पार गरेको छ । सैकनिल्कका अनुसार फिल्मले पहिलो दिन भारतमा ६६.७५ करोड भारु खुद कमाइ गरेको थियो भने दोस्रो दिन ५३.५ करोड कमाई गरेको छ । फिल्मले भारतमा मात्र दुई दिनमा ११५.५० करोड कमाई गरेको छ । त्यस्तै फिल्मले दुई दिनमा विदेशमा ४१ करोड कमाई गरेको छ । फिल्ममा अजय देवगन पुनः विजय सालगाउँकरको भूमिकामा देखिएका छन् । उनीसँगै तब्बु, श्रिया सरन, इशिता दत्ता, मृणाल जाधव, रजत कपूर र प्रकाश राज पुरानै भूमिकामा फर्किएका छन्। यसपटक जयदीप अहलावत पनि फिल्ममा नयाँ पात्रका रूपमा जोडिएका छन्। यसअघि अभिनेता अक्षय खन्नाले अन्तिम समयमा फिल्म छाडेको विषय पनि चर्चामा आएको थियो। निर्देशक अभिषेक पाठकका अनुसार अजय देवगनसँग अक्षयका दृश्य छायांकन हुनुभन्दा एक साताअघि उनले फिल्म छाडेका थिए। त्यसपछि निर्माताले तीन दिनमै कथा पुनर्लेखन गरी अक्षयको भूमिका नयाँ पात्रमा परिवर्तन गर्दै जयदीप अहलावतलाई सहभागी गराएका थिए ।
१६- नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ १५औं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने समझदारी बनेको हो । हाल काँग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने व्यवस्था छ । अब पदाधिकारी संख्या १७ बाट २१ पुग्ने भएको छ । जस अनुसार उपसभापतिमा २ जना र सहमहामन्त्री २ जना थप गर्ने सहमति बनेको छ । नेताहरुमा पदाधिकारीका आकांक्षीहरु बढेकाले उनीहरुको व्यवस्थापन गर्न पदाधिकारी बढाइएको बताइएको छ । अब एक वरिष्ठसहित चार उपसभापति हुने छन् जसमा एक महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने २ जना सभापतिले केन्द्रीय सदस्यबाट मनोनित गर्ने व्यवस्था गर्न लागिएको छ । यसअघि विशेष महाधिवेशनबाट पारित विधानमा ८ जना सहमहामन्त्री निर्वाचित हुने र ३ जना सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो । महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान भने नहुने भएको छ । मतदान विद्युतीय मेसिनबाट नगरी ब्यालेट पेपरबाट नै गराउने भएको समितिले जनाएको छ । विद्युतीय मतदान विगतमा एमाले, रास्वपाको महाधिवेशनमा पनि धेरै समय लागेकाले काँग्रेसले ब्यालेट पेपरबाटै मतदान गर्न लागेको बताएको छ । काँग्रेसले नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ । खुलामञ्चमा उद्घाटन समारोह र बन्दसत्र गर्ने तयारी गरेको काँग्रेसले मतदान भने राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा गर्ने तयारी गरेको छ ।
१७- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २९ सयले घटेर तोलाको २ लाख ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४३९० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४४५० मा कारोबार भएको थियो ।
१८- जापानको आइची–नागोया शहरमा सम्पन्न एसियाली खेलकुद २०२६ मा चीनले सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा प्रतियोगिता टुंग्याएको छ । चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३४१ पदक जितेको छ । आयोजक जापान ८३ स्वर्ण, ९५ रजत र ९१ कांस्यसहित २६९ पदक जितेर दोस्रो स्थानमा रह्यो भने दक्षिण कोरिया ३९ स्वर्ण, ४३ रजत र ६८ कांस्यसहित १५० पदक जित्दै तेस्रो भयो । त्यस्तै, भारतले २१ स्वर्ण, २७ रजत र ३७ कांस्य गरी ८५ पदक जितेर चौथो स्थान हासिल गरेको छ । समान २१ स्वर्ण जितेको उज्वेकिस्तान भने २५ रजत र २४ कांस्यसहित कुल ७० पदकका आधारमा पाँचौँ स्थानमा रह्यो । इरानले १९ स्वर्णसहित ५२, थाइल्यान्डले १८ स्वर्णसहित ५२ र काजकिस्तानले १२ स्वर्ण, २४ रजत तथा ४८ कांस्यसहित ८४ पदक जिते । हङकङले ११ स्वर्णसहित ५४ तथा बहराइनले ११ स्वर्णसहित २२ पदक जितेका छन् । मलेसियाले ९ स्वर्ण, ७ रजत र १६ कांस्यसहित ३२ पदक जित्दा उत्तर कोरियाले ७ स्वर्ण, १३ रजत र ९ कांस्यसहित २९ पदक हात पार्यो । संयुक्त अरब इमिरेट्सले ७ स्वर्णसहित १२ पदक जितेको छ । चिनियाँ ताइपेले ५ स्वर्ण, १७ रजत र ३३ कांस्यसहित ५५ पदक जितेको छ । इन्डोनेसियाले ५ स्वर्णसहित ३९, कतारले ५ स्वर्णसहित १६, फिलिपिन्सले ४ स्वर्णसहित २९ तथा कुवेतले ४ स्वर्णसहित ९ पदक जितेका छन् । भियतनामले ३ स्वर्ण, ३ रजत र १९ कांस्यसहित २५ पदक जितेको छ । साउदी अरेबियाले ३ स्वर्णसहित १४ पदक पाउँदा सिङ्गापुरले २ स्वर्ण, ९ रजत र ७ कांस्यसहित १८ पदक जितेको छ । त्यस्तै, ताजिकिस्तानले २ स्वर्णसहित १६, जोर्डनले २ स्वर्णसहित ११, म्यानमारले २ स्वर्णसहित ५ र मकाउले १ स्वर्ण, ४ रजत तथा १ कांस्यसहित ६ पदक जितेका छन् । किर्गिस्तानले १ स्वर्ण, ३ रजत र १० कांस्यसहित १४, मंगोलियाले १ स्वर्ण, १ रजत र १३ कांस्यसहित १५ तथा श्रीलंकाले १–१ स्वर्ण, रजत र कांस्यसहित ३ पदक जितेको छ । पाकिस्तानले २ रजत र ८ कांस्यसहित १० पदक जित्दा इराकले २ रजत र ३ कांस्यसहित ५ पदक जितेको छ । तुर्कमेनिस्तानले २ रजतसहित २ पदक हात पारेको छ । अफगानिस्तान र लेबनानले समान १ रजत र २ कांस्यसहित ३–३ पदक जितेका छन् । ओमानले १ रजत र १ कांस्यसहित २ पदक जितेको छ । कम्बोडियाले ४ कांस्य, नेपालले २ कांस्य, तथा बंगलादेश, ब्रुनाई, लाओस र सिरियाले समान १–१ कांस्य पदक जितेका छन् । नेपालले यस एशियन खेलकुदमा महिला कबड्डी र करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् । यस अघि २०२३ को एशियन खेलकुदमा एरिका गुरुङले करातेमा रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टिमले कास्य पदक जितेको थियो ।
१९- वेस्ट इन्डिजले भारतविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ५ विकेटले पराजित गरेको छ । तर पहिलो दुई खेल जितिसकेको भारतले सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ । न्यु चण्डीगढस्थित पिसिए अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा भारतले दिएको ३५२ रनको लक्ष्य वेस्ट इन्डिजले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । वेस्ट इन्डिजको यो एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमानसमेत बनेको छ । वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले अविजित १६२ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले १४३ बलको सामना गर्दै १७ चौका र ३ छक्का प्रहार गरेका थिए । उनको यही शानदार पारीका कारण उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए । होपले आफ्नो शतक १४३ बलमा पूरा गरेका थिए । उनको १६२ रन वेस्ट इन्डिजका ब्याटरले सफल लक्ष्य पछ्याउने क्रममा बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोरसमेत बनेको छ । उनले ब्रायन लाराले सन् १९९३ मा पाकिस्तानविरुद्ध बनाएको १५३ रनको कीर्तिमान तोडेका हुन् । लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले सुरुवातमै जोन क्याम्पबेललाई गुमाएको थियो । त्यसपछि होपले अमिर जाङ्गुसँग महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हाले । जाङ्गुले ५६ बलमा ६७ रन बनाए। त्यसपछि अन्य ब्याटरले पनि होपलाई साथ दिएपछि वेस्ट इन्डिजले भारतमाथि दबाब कायम राखेको थियो । वेस्ट इन्डिजका लागि किमो पलले ४४ रन बनाए। भारतका मोहम्मद सिराज, गुरनूर बरार, कुलदीप यादव र नमन धीरले एक–एक विकेट लिए पनि भारतीय बलरले वेस्ट इन्डिजको लक्ष्य पछ्याउने क्रममा ठूलो दबाब सिर्जना गर्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३५१ रन बनाएको थियो। भारतका लागि विकेटकिपर ब्याटर केएल राहुलले अविजित १२९ रन बनाए । उनले ८७ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए। यो उनको एकदिवसीय क्रिकेटमा नवौँ शतक हो । राहुलले दबाबमा रहेको भारतीय पारीलाई सम्हाल्दै उत्कृष्ट अन्त्य दिएका थिए। भारतले सुरुवाती १० ओभरमा २८ रनमै दुई विकेट गुमाएको अवस्थामा राहुलले पारी सम्हालेका थिए। उनले आफ्नो अर्धशतक ४१ बलमा पूरा गरेका थिए भने अन्तिम चरणमा आक्रामक ब्याटिङ गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका थिए । भारतका पूर्व कप्तान रोहित शर्माले ९२ रन बनाए भने ऋतुराज गायकवाडले ५७ रन बनाएका थिए । तेस्रो खेल गुमाए पनि भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । अब भारत र वेस्ट इन्डिजले ५ खेलको टी-२० सिरिज खेल्ने छन् । सिरिजको पहिलो खेल अक्टोबर ६ मा हुने तलिका रहेको छ ।
२०- उत्तर कोरियाले मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणको प्रत्यक्ष निगरानी गरेको जनाइएको छ । उनकी बहिनी किम यो जोङले परीक्षण गरिएको क्षेप्यास्त्र कम उचाइमा उड्दै आफ्नो बाटो परिवर्तन गर्न सक्ने बताएकी छन् । उत्तर कोरियाका अनुसार क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकतासँग सम्बन्धित क्षमतासमेत रहेको छ । कम उचाइमा उडेर मार्ग परिवर्तन गर्न सक्ने क्षमताका कारण दक्षिण कोरिया र जापानका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि यसलाई रोक्न कठिन हुन सक्ने उत्तर कोरियाको दाबी छ । दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्र पूर्वी तटको वोनसानबाट प्रहार गरिएको थियो र यसले ७०० किलोमिटरभन्दा बढी दूरी पार गरेको थियो । जापानको रक्षा मन्त्रालयले भने यसको उडान दूरी करिब ६८० किलोमिटर रहेको जनाएको छ । किम यो जोङले दुवै देशले दिएको तथ्यांकमा फरक देखिनुले क्षेप्यास्त्रको उडानलाई सही ढंगले निगरानी गर्न नसकेको देखाउने दाबी गरेकी छन् । जापानी सेनाका अनुसार क्षेप्यास्त्र उसको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर समुद्रमा खसेको थियो । दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा भएका बारुदी सुरुङ विस्फोटलाई लिएर पनि तनाव बढेको छ । सेप्टेम्बर २१ मा सैन्य सीमाबाट करिब १० मिटर दक्षिणतर्फ भएका विस्फोटमा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए । दक्षिण कोरिया र संयुक्त राष्ट्रसंघीय कमान्डको नेतृत्वमा गरिएको अनुसन्धानले उत्तर कोरियाले बिछ्याएका बारुदी सुरुङ विस्फोटको कारण भएको निष्कर्ष निकालेको थियो । संयुक्त राष्ट्रसंघीय कमान्डले यसलाई कोरियाली युद्धपछि भएको युद्धविराम सम्झौताको उल्लंघन भनेको थियो । तर उत्तर कोरियाले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । दक्षिण कोरियाले उत्तर कोरियासँग माफी माग्न र सीमामा किल्लाबन्दी रोक्न आग्रह गरेको छ । उत्तर कोरियाले सीमामा बारुदी सुरुङ तथा ट्यांक रोक्ने अवरोध निर्माण गरिरहेको बताइएको छ । किम यो जोङले दक्षिण कोरियाको माग अस्वीकार गर्दै दुई देशबीचको सम्बन्ध अन्त्य गर्न उत्तर कोरिया इच्छुक रहेको बताएकी छन् । उत्तर कोरियाले पछिल्ला केही सातामा लगातार क्षेप्यास्त्र परीक्षण र सैन्य गतिविधि बढाएको छ । सेप्टेम्बर २० मा वोनसानमै अतिध्वनिक क्षेप्यास्त्र प्रणालीको परीक्षण गरिएको थियो । यसअघि सन् २०२४ मा उत्तर कोरियाले ठोस इन्धनबाट चल्ने मध्यम दूरीका क्षेप्यास्त्रसमेत सार्वजनिक गरेको थियो । दक्षिण कोरियाले थप क्षेप्यास्त्र परीक्षण हुन सक्ने भन्दै निगरानी बढाएको छ । उसले अमेरिका र जापानसँग क्षेप्यास्त्रसम्बन्धी सूचना आदानप्रदान गरेको जनाएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले पछिल्लो परीक्षणलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिबन्धको उल्लंघन भनेको छ । अमेरिकी प्रशान्त कमान्डले भने परीक्षणबाट अमेरिकी सैनिक, अमेरिकी क्षेत्र वा उसका साझेदारलाई तत्काल खतरा नरहेको जनाएको छ । सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको वार्ता लगभग रोक्दै आएका छन् । पछिल्लो समय उत्तर कोरियाले रुससँगको सम्बन्धलाई प्राथमिकता दिएको छ । उत्तर कोरियासँग आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका क्षेप्यास्त्र रहेको बताइन्छ। तीमध्ये अमेरिकासम्म पुग्न सक्ने लामो दूरीका क्षेप्यास्त्रसमेत छन् ।


