बडादशैंको घटस्थापना आज, कति बेला छ उत्तम साइत ? – Kanika Khabar
Sunday, October 11Nepali News Portal

बडादशैंको घटस्थापना आज, कति बेला छ उत्तम साइत ?

    मा प्रकाशित

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।

बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन् । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

कति बेला छ घटस्थापनाको शुभ साइत ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाका लागि बिहान ११: ४७ बजेको समय निर्धारण गरिएको छ । यस दिनबाट बडादसैँको मुख्य धार्मिक अनुष्ठान सुरु हुनेछ । त्यसैगरी असोज २६ गते सोमबार झण्डा फेर्ने कार्यक्रम रहेको छ । यसका लागि पश्चिम मोहडा निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ । त्यसपछि कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।

दशमीको टिकाको शुभ साइत:

विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११: ५२ बजेको समय तोकिएको छ।

समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ । समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्