इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ – Kanika Khabar
Wednesday, October 21Nepali News Portal

इरानको अडान: एक ग्राम पनि प्रशोधित युरेनियम विदेश पठाउँदैनौँ

    मा प्रकाशित

काठमाडौँ । इरानले आफ्नो एक ग्राम पनि प्रशोधित युरेनियम अर्को देशमा नपठाउने स्पष्ट पारेको छ ।

अमेरिकाले विश्वास दिलाउने ठोस कदम नचालेसम्म र इरानका सबै सर्त पूरा नगरेसम्म वार्ता पनि नहुने इरानी अधिकारीहरूले बताएका छन् । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले विश्वास जित्ने कदम चाल्नुपर्ने र इरानका सर्त स्वीकार गर्नुपर्ने बताएका हुन् ।

इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले पनि अमेरिकाले इरानका सात सर्त पूरा नगरेसम्म विश्वास जित्न नसक्ने बताएका छन् । ती सर्तहरूमा इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने र क्षेत्रका सबै मोर्चामा युद्ध रोक्ने माग समावेश छन् ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले पनि आणविक हतियार बनाउन आवश्यक स्तरको नजिक पुगेको प्रशोधित युरेनियम देशबाहिर पठाउन नहुने बताउँदै आएका छन् ।

इरानको आणविक कार्यक्रम अमेरिका र इरानबीच सहमति कायम गर्ने प्रमुख बाधक बनेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसै महिनाको सुरुवातमा इरानले युरेनियम प्रशोधन गर्ने क्षमतामा ठोस कटौती गर्नुपर्ने बताएका थिए । उनका अनुसार अमेरिका र इरानबीच आठ महिनादेखि जारी युद्ध अन्त्य गर्न पनि यो आवश्यक छ ।

प्रशोधित युरेनियममा एक प्रकारको आणविक कणको मात्रा बढाइएको हुन्छ । यसको प्रयोग आणविक ऊर्जा उत्पादनका साथै आणविक हतियार निर्माणमा पनि हुन सक्छ । अमेरिका, इजरायल र केही पश्चिमी देशले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

इरानले युरेनियमलाई ६० प्रतिशतसम्म प्रशोधन गरिसकेको विषय उनीहरूको चिन्ताको प्रमुख कारण हो । सामान्य नागरिक प्रयोजनका लागि आणविक ऊर्जा उत्पादन गर्दा यति उच्च स्तरको प्रशोधन आवश्यक पर्दैन भने आणविक हतियारमा प्रयोग हुने युरेनियमको प्रशोधन स्तर करिब ९० प्रतिशत हुन्छ। इरानले भने आणविक हतियार बनाउन खोजेको आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर १५ मा दिएको अन्तर्वार्तामा इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने बताएका थिए । ट्रम्पले इरानसँग कहिल्यै आणविक हतियार नहोस् भन्ने सुनिश्चित गर्न अमेरिका चाहेको बताएका छन् । इरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न सक्ने उनको दाबी थियो । ट्रम्पले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित पहाडमुनि रहेको केन्द्रलाई निशाना बनाउनुपर्ने सम्भावना पनि औँल्याएका छन् । यद्यपि, उनले इरानविरुद्धको युद्धमा अमेरिकाले आणविक बम प्रयोग नगर्ने स्पष्ट पारेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्