काठमाडौं । नेपाली कांग्रेसले साउदी अरबमा ड्रोन आक्रमणका कारण एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न र आवश्यक परे उद्धारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
बिहीबार कांग्रेसले घटनाप्रति ध्यानाकर्षण जनाउँदै साउदी अरबमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि तत्काल आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
साउदी अरबको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको निधन भएको घटनालाई कांग्रेसले अत्यन्त दुःखद र चिन्ताजनक भनेको छ। कांग्रेसले मृतक नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत रहेको उल्लेख छ। कांग्रेसले यस्ता घटनाको घोर निन्दा र भर्त्सना गर्दै नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको जनाएको छ।
विज्ञप्तिमा साउदी अरबमा कार्यरत नेपाली नागरिकको सुरक्षाका लागि गम्भीर पहलकदमी लिन, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन तथा आवश्यकता देखिएमा नेपाली नागरिकको उद्धारको प्रबन्ध गर्न सरकारलाई आग्रह गरिएको छ।
विदेशमा रोजगारीका लागि पुगेका नेपाली नागरिकको जीवनरक्षा र सुरक्षा सुनिश्चित गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएकाले जोखिमपूर्ण परिस्थितिमा रहेका नेपालीको अवस्थाबारे सरकारले समयमै आवश्यक कदम चाल्नुपर्ने कांग्रेसको भनाइ छ।



