काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यले वैधानिक आम्दानीभन्दा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको हो । आयोगका अनुसार आचार्य र उनको परिवारको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार रुपैयाँ रहेकोमा खर्च तथा लगानी १५ करोड ९८ लाख ३५ हजार रुपैयाँ देखिएको छ । आचार्यमाथि गैरकानुनी सम्पत्ति आर्जनसँगै ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ । मुद्दामा उनकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरू आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ । आयोगले पत्नी र अन्य प्रतिवादीमाथि पनि सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचारमा सहयोग गरेको आरोप लगाउँदै सजाय र सम्पत्ति जफतको माग गरेको छ ।
२- सन् २०२६ को अक्टोबर महिनामा नेपालमा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको अक्टोबरको तुलनामा पर्यटक आगमन ५०.५ प्रतिशतले बढेको छ । अक्टोबरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकबाट २४ हजार ५३ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १८.११ प्रतिशत हो । सार्क मुलुकमध्ये भारतबाट १२ हजार ९७, श्रीलङ्काबाट ५ हजार ५६०, बङ्गलादेशबाट ४ हजार ८९३, भुटानबाट १ हजार १०४, पाकिस्तानबाट ३५३, माल्दिभ्सबाट ४६ र अफगानिस्तानबाट ७ जना पर्यटक आएका छन् । क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक युरोपबाट आएका छन् । युरोपबाट ३९ हजार ८७७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, अन्य एसियाली मुलुकबाट २७ हजार ४०, अमेरिकी महादेशबाट २१ हजार २७०, ओसियानियाबाट १० हजार १४३, मध्यपूर्वबाट २ हजार ३३५ र अफ्रिकाबाट ४२१ जना पर्यटक आएका छन् । अन्य क्षेत्रबाट ७ हजार ६७५ जना पर्यटक भित्रिएका छन् । कुल पर्यटक आगमनमा युरोपको हिस्सा ३०.०२ प्रतिशत, अन्य एसियाली मुलुकको २०.३६ प्रतिशत, सार्क क्षेत्रको १८.११ प्रतिशत र अमेरिकी महादेशको १६.०१ प्रतिशत रहेको छ। सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने नेपालमा कुल १० लाख ८ हजार ६१६ जना विदेशी पर्यटक भित्रिएका छन् । यस अवधिमा सार्क मुलुकबाट मात्रै २ लाख ५५ हजार ४३६ जना पर्यटक आएका छन् ।
३- नेपाली कांग्रेसले सभापति गगन थापा नेतृत्वमा १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण बुझाएका हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा पुष्पा भुसाल महिला उपसभापति, चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका थिए । त्यसैगरी प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कात्तिक १३ गते शपथ ग्रहण गरी पार्टीको जिम्मेवारी सम्हालेका थिए । निर्वाचन आयोगमा विवरण बुझाएसँगै कांग्रेसको नयाँ नेतृत्वको विवरण आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ ।
४- बलिवुड अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धको विरोध प्रदर्शनमा सहभागी भएको विषयमा बम्बई उच्च अदालतसँग बिनासर्त माफी मागेका छन् । उनले आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासमेत जनाएका छन् । भारत छाड्न जारी गरिएको सूचना खारेजीको माग गर्दै उनले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले माफी र लिखित प्रतिबद्धता मागेको थियो । अदालतले डिसेम्बर ७ सम्म इमरानविरुद्ध जारी भारत छाड्ने सूचनाको कार्यान्वयनमा रोक लगाउँदै तत्काल देश छाड्न नपर्ने आदेश दिएको छ । अमेरिकी नागरिकता भएका र सन् २००६ देखि भारतको प्रवासी नागरिक कार्ड लिएका इमरानको कार्ड रद्द गर्ने विषयमा समेत छुट्टै सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा तोकिएको छ । अभिनेता खानले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको थियो र त्यसको विरुद्ध उनी अदालतमा गएका थिए ।
५- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य पछाएको काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । काठमाडौँका लागि रशिद खानले ५० रन बनाए भने कप्तान करण केसीले ४४, जहानदाद खानले २२, आदील आलमले २० र डेभिड वार्नरले १६ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर सोमपाल कामी र हुसैन तालतले २-२ तथा मार्क वाट र नन्दन यादवले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको थियो । कर्णालीका लागि अरिफुल इस्लामले ४४ रन बनाए भने हुसैन तलतले ४० रन बनाएका थिए । त्यस्तै पवन सराफले ३० रन बनाए भने गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । त्यसैगरी काठमाडौँका बलर करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सनतोष यादवले एक एक विकेट लिए । यो काठमाडौँ दोस्रो खेलमा पहिलो जित हो भने कर्णालीको तेस्रो खेलमा पहिलो हार हो ।
६- भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आगामी बुधबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्री नोभेम्बर ४ देखि ५ सम्म नेपाल भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव र भारतीय विदेश सचिवबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच लामो समयदेखि रहँदै आएको निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल हुनेछ । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । मिस्री नोभेम्बर ५ मा काठमाडौं हुँदै नयाँदिल्ली फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
७- जापानका लागि प्रस्तावित नेपाली राजदूत जीज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले आफ्नो नाम फिर्ता लिने जानकारी आफुलाई गराएको र निवेदन दिएको बताएका हुन् । संसदीय सुनुवाइ समितिको आज बस्ने बैठक अघि भएको अनौपचारिक छलफलमा जापानको प्रस्तावित राजदुतमा थापाको स्वार्थ बाझिने विषय भएको विषय जानकारी गराएकोले थापा आफैले नाम फिर्ता लिने बताएको श्रेष्ठले जानकारी दिए ।
८- विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बिचौलिया प्रकरण, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारमाथि भएको धरपकडलगायत विषयमा छलफल गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । उनका अनुसार सार्वजनिक भएका पछिल्ला विषयको समाधान संसद्बाटै खोज्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेकाले पनि संसद् बैठक अपरिहार्य भएको विपक्षी दलहरूको ठहर छ । बैठकपछि बोल्दै राप्रपा सांसद खुस्बु ओलीले न्यायाधीशहरुलाई महाअभियोग लगाएर मात्र न्याय क्षेत्रका विकृति नसकिने बताउदै न्यायक्षेत्रको व्यापक पुनर्संरचना हुनुपर्ने धारणा आफुहरुको रहेको बताएकी छन् । बैठकले संवेदनशील विषयमा साझा धारणा बनाउन विपक्षी दलका नेताहरूबीच निरन्तर छलफल गर्ने र जनताको हितमा सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेर रोकिएको छ । आज ३४० कम्पनिका एक करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १३.५८ प्रतिशतले बढेको छ भने मकर जितु माया सुरी हाइड्रोको शेयर ८.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सानिमा लार्ज क्याप फण्डको शेयर ४.८६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३७ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमइ बैंकको २९ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।
१०- सर्वोच्च अदालतको फुल कोर्टले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका नाम जोडेर प्रकाशित तथा प्रसारित विषयको पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुल कोर्ट) ले हालै विभिन्न छापा, अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारबारे ध्यानाकर्षण भएको सर्वोच्च अदालतका प्रवक्ता तथा सहसचिव डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । अदालतले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले संविधान तथा कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम हुनुपर्ने भन्दै आवश्यक अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । न्यायपालिका जनताको आस्था र विश्वासमा अडिने संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आम नागरिक तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी सत्यतथ्यमा आधारित सामग्री सम्प्रेषण गर्न अदालतले आग्रह गरेको छ । अदालतले कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ । साथै, प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा सक्रिय रहन सबै अदालतमा कार्यरत न्यायाधीशहरूलाई आग्रह गरिएको छ ।
११- नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो । यसै सन्दर्भमा निगमले २०८३ कात्तिक १२ गते सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै गाभ्ने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुसार कार्ययोजना बनाई प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । यस पहलले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको निगमले जनाएको छ ।
१२- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक १५ गते आइतबारसम्मको चलचित्र ‘गौथली’, ‘कबड्डी ५ : फाइनल’, ‘पेन्सन पट्टा’, ‘आ बाट आमा २’, ‘बा : एक योद्धा’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको ‘गौंथली’ ले १ लाख ४६ हजार ६६४ टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार आम्दानी गरेको छ । त्यस्तै, कार्तिक ६ गतेबाट प्रदर्शनमा आएको ‘कबड्डी ५ : आफ्टर द फाइनल’ ले ३ लाख ४६ हजार ४२७ टिकट बिक्रीबाट १० करोड ७६ लाख ७३ हजार आम्दानी गरेको छ । त्यस्तै भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पेन्सन पट्टा’ ले ३ लाख ६२ हजार २०१ टिकट बिक्री गर्दै १० करोड २८ लाख २८ हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । त्यसैगरी असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा २’ ले २ लाख १३ हजार ११४ टिकट बिक्रीबाट ६ करोड २४ लाख ७० हजार आम्दानी गरेको छ । यस्तै, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र ‘बा : एक योद्धा’ले १ लाख २७ हजार २१७ टिकट बिक्री गर्दै ३ करोड ५४ लाख ४० हजार कमाएको छ । यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले एक लाख ३ हजार ९७९ टिकट बिक्रीबाट ३ करोड ३४ लाख ८४ हजार आम्दानी गरेको छ भने असोज ३० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘१२ गाउँ २’ ले भने ७४ हजार ८०३ टिकट बिक्री गर्दै २ करोड २९ लाख ५७ हजार आम्दानी गरेको छ ।
१३- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरेको छ । सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी धरपकड गर्ने र आदेश दिने दुवै पक्षलाई कानुनी कारबाही गर्न माग गरेको हो । कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संविधान र कानुनभन्दा माथि रहेर शासन सञ्चालन गर्न नपाइने बताइन् । उनले पत्रकारमाथि समाचार कक्षमै प्रहरी परिचालन गर्नु प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत भएको बताइन् । कांग्रेसले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र संवैधानिक संस्थाको स्वायत्ततामाथि सरकारबाट हस्तक्षेप भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ । साथै, विवादित सरकारी गतिविधिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको छ ।
१४- बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ शक्तिशाली आँधीमा परिणत भएको छ । भारतीय मौसम विभागका अनुसार सोमबार बिहान चक्रवात चेन्नईबाट २६० किलोमिटर र नेल्लोरबाट २९० किलोमिटर टाढा रहेको थियो । प्रतिघण्टा २० किलोमिटरको गतिमा अघि बढिरहेको चक्रवात नोभेम्बर २ रातिदेखि ३ तारिख बिहानसम्म आन्ध्र प्रदेशको ओंगोल नजिक समुद्री तटमा ठोक्किने सम्भावना छ । त्यसबेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । एक साताभित्र बंगालको खाडीमा विकसित भएको यो दोस्रो चक्रवात हो । यसअघि अक्टोबर २८ मा ‘अर्नब’ नामको चक्रवात आन्ध्र प्रदेशको तटमा ठोक्किएको थियो । ‘मुरासु’ को प्रभाव मध्यप्रदेश, छत्तीसगढ, ओडिशा, आन्ध्र प्रदेश, तमिलनाडु, केरल, तेलंगाना, कर्नाटक र महाराष्ट्रसम्म पर्ने अनुमान गरिएको छ । भारतीय मौसम विभागले आन्ध्र प्रदेश, रायलसीमा र ओडिशामा तीव्र हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ओरेन्ज चेतावनी जारी गरेको छ । नोभेम्बर २ र ३ मा ओडिशामा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ । तमिलनाडु, केरल, कर्नाटक, पुडुचेरी, तेलंगाना र छत्तीसगढमा एलो चेतावनी जारी गरिएको छ । नोभेम्बर ४ मा आन्ध्र प्रदेशमा आँधीहुरी र वर्षाको उच्च जोखिम रहेकाले रातो सतर्कता जारी गरिएको छ । छत्तीसगढ र ओडिशामा सुन्तला तथा मध्य महाराष्ट्र, विदर्भ, उत्तरी कर्नाटक, तेलंगाना, रायलसीमा, आन्ध्र प्रदेश र केरलमा एलो चेतावनी जारी गरिएको छ । यसैबीच, उत्तर प्रदेशका १० सहरमा सोमबार बिहान बाक्लो हुस्सु लागेको थियो भने बिहारको सुपौलमा हुस्सुका कारण दृश्यता ६० मिटरसम्म घटेको थियो । उत्तराखण्डका पाँच पहाडी जिल्लामा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । यता नेपालमा भने मौसम पूर्वानुमान महाशाखाले यो नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पार्ने सम्भावना नरहेको बताएको छ ।
१५- इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएका केसीलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ । डा. केसी दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि उनलाई आज काठमाडौं ल्याइएको हो । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । उनी इलामको प्रसिद्ध तीर्थस्थल नारायणस्थान मन्दिर परिसरमा अनशन बसेका थिए । डा. केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि निष्पक्ष छानबिन गर्नुपर्ने र सम्भावित स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको माग छ । उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २३ सयले बढेर दुई लाख ७४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७२ हजारमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६५० रुपैयाँमा कारोबार भएको थियो ।
१७- प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएका छन् । सरकारले आगामी एक महिनाभित्र बाँकी सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको उल्लेख गर्दै नागरिकलाई सेवा लिन टाढाका सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ को अवधारणालाई व्यवहारमा उतार्दै सरकारी सेवा नागरिकको नजिक पुर्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को व्यवस्थाअनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । हालसम्म ३३ वटा स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । सरकारले बाँकी स्थानीय तहमा समेत आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यसका लागि आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताएका छन् । यस व्यवस्थाले स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउने र नागरिकले जग्गासम्बन्धी सेवा सहज रूपमा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने सरकारको विश्वास छ । यससँगै भूमि प्रशासन तथा नापीसम्बन्धी सेवामा केन्द्रमा निर्भर रहनुपर्ने अवस्था क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ ।
१८- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो । उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ ।
१९- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको बहुप्रतीक्षित खेलमा आर्सनलले लिभरपुललाई १–० गोलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको प्रतिस्पर्धात्मक खेलमा आर्सनलका लागि काइ हाभर्ट्जले निर्णायक गोल गरेका थिए । खेलको १६औँ मिनेटमा डेक्लान राइसको उत्कृष्ट पासमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । लिभरपुलको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै आर्सनलले गोल गरेको थियो । खेलमा लिभरपुलले बलमाथि ५५ प्रतिशत नियन्त्रण कायम राखेको थियो । घरेलु टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । फ्लोरियन विर्ट्जको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने एलेक्सिस म्याक एलिस्टरले पाएको राम्रो अवसर खेर फालेका थिए । दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन लगातार प्रयास गरे पनि आर्सनलको रक्षापङ्क्ति तोड्न सकेन । आर्सनलका गोलरक्षक डेभिड रायालाई लिभरपुलले १७ पटक प्रहार गरे पनि एकपटक पनि गोलको दिशामा प्रहार गर्न सकेन । यस जितसँगै आर्सनलले १४ वर्षपछि प्रिमियर लिगमा एनफिल्डमा पहिलो जित निकालेको छ । यसअघि आर्सनलले सन् २०१२ मा एनफिल्डमा लिभरपुललाई पराजित गरेको थियो । जितपछि आर्सनलले नौ खेलबाट २४ अंक जोड्दै लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा आर्सनल तीन अंकले अगाडि रहेको छ । यता लिभरपुल भने १५ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
२०- स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रेसिङ सान्टान्डरलाई ३–० गोलले पराजित गरेको छ । सान्टान्डरस्थित एल सार्दिनेरो मैदानमा भएको खेलमा रियल म्याड्रिडका लागि किलियन एम्बाप्पे, जुड बेलिङ्घम र यान डियोमान्डेले गोल गरेका थिए । खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै एम्बाप्पेले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि जुड बेलिङ्घमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यस्तै, खेलको ३६औँ मिनेटमा यान डियोमान्डेले उत्कृष्ट प्रहारमार्फत गोल गरेपछि रियल म्याड्रिडले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन । एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्ने अवसर पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो । यस जितसँगै रियल म्याड्रिडले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकालेको छ । टोलीले पछिल्ला ६ खेलमा १८ गोल गरेको छ भने ६ गोल खाएको छ । यस जितपछि रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा झारेको छ । बार्सिलोनाको ११ खेलपछि ३० अंक रहेको छ भने रियलको २७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २८ अंक रहेको छ । त्यसैगरी रेसिङ सान्टान्डरको भने ११ खेलमा ११ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।


