काठमाडौं । मेक्सिको सरकारले विद्यालयमा पढाइ हुने समयमा विद्यार्थीलाई मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति क्लाउडिया शिनबाम सरकारको यो निर्णय प्राथमिक र माध्यमिक तहका विद्यालयमा लागू हुनेछ ।
सरकारका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मोबाइलको लत, तनाव र पढाइमा ध्यान भङ्ग हुने समस्याबाट जोगाउन प्रतिबन्ध लगाउन लागिएको हो । यद्यपि, शिक्षकको निर्देशनमा शैक्षिक प्रयोजन, स्वास्थ्य समस्या, अपाङ्गता र आपत्कालीन अवस्थामा मोबाइल प्रयोग गर्न छुट दिइनेछ ।
तर मेक्सिकोका विभिन्न क्षेत्रमा अभिभावकले निर्णयको विरोध गरेका छन् । देशमा सङ्गठित अपराध र गोलीबारीका घटना भइरहने भएकाले विद्यालयमा मोबाइल प्रयोग गर्न नपाउँदा आपत्कालीन अवस्थामा आफ्ना सन्तानसँग सम्पर्क गर्न कठिन हुने उनीहरूको चिन्ता छ ।
गत अक्टोबर २२ मा सिनालोआ क्षेत्रमा विद्यार्थी सवार बसमाथि गोली प्रहार भएको घटनाले अभिभावकको चिन्ता थप बढाएको छ । घटनामा बस चालक घाइते भएका थिए भने विद्यार्थीहरू सुरक्षित रहेका थिए ।
यसैबीच, विशेषज्ञहरूले बालबालिकालाई डिजिटल उपकरणको नकारात्मक प्रभावबाट जोगाउन विद्यालयमा मोबाइल प्रयोग नियन्त्रण आवश्यक रहेको बताएका छन् । युनेस्कोका अनुसार विश्वका ११४ देशमा विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।


