
दाङ – लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले पाँच वर्षमुनिका सबै बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि अनिवार्य रूपमा खुवाउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत कात्तिक १७ र १८ गते सञ्चालन भइरहेको अभियानमा सहभागी हुँदै वडा अध्यक्ष चौधरीले बालबालिकाको स्वास्थ्य र पोषणलाई विशेष ध्यान दिन अभिभावकलाई आग्रह गर्नुभएको हो ।
लमही नगरपालिका वडा नम्बर ३ को मजगाउँस्थित मरवा चोकमा आयोजित कार्यक्रममा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउँदै उहाँले सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको सेवा सुविधाबाट कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “बालबालिकाको स्वास्थ्य राम्रो भए मात्रै उनीहरूको शारीरिक तथा मानसिक विकास राम्रोसँग हुन सक्छ । त्यसैले अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक छ । सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा सबैले आफ्ना बालबालिकालाई सहभागी गराउनुपर्छ ।”
वडा अध्यक्ष चौधरीले सामान्य लापरबाहीका कारण बालबालिकाले पाउनुपर्ने स्वास्थ्य सेवा छुट्न नहुने उल्लेख गर्दै वडा नम्बर ३ का सबै अभिभावकलाई नजिकैको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत सञ्चालन हुने अभियानमा सहभागी हुनसमेत अनुरोध गर्नुभयो ।
यसैबीच राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत कात्तिक १७ गते सञ्चालित अभियानमा लमही नगरपालिका वडा नम्बर ३ मा ३७३ जनाले भिटामिन ‘ए’ क्याप्सुल र ३३४ जना गरि ७०७ जना बालबालिकाले जुकाको औषधि सेवन गरेको टिकुलीगढ नगर स्वास्थ्य केन्द्रकी अनमी प्रतीक्षा ज्ञवाली जानकारी दिनु भयो । आज खुवाउन छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने उहाँको भनाई छ ।
सरकारले बालबालिकामा हुने भिटामिन ‘ए’ को कमीबाट उत्पन्न हुने स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण तथा परजीवीजन्य संक्रमण नियन्त्रण गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


