धन्वन्तरी जयन्ती आज मनाइदै – Kanika Khabar
Saturday, November 7Nepali News Portal

धन्वन्तरी जयन्ती आज मनाइदै

    मा प्रकाशित

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार आज धनवन्तरी जयन्ती मनाइने बताएको छ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो । वि.सं २०२९ देखि भने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालनमा रहेको छ । आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवसका अवसरमा  भगवान् धन्वन्तरीको पूजा आराधना हुने गर्छ । आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा वि सं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्