काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो सरकारले आवश्यकताभन्दा बढी कडा नीति अपनाएको स्वीकार गरेका छन् ।
सीबीएस टेलिभिजनको कार्यक्रम ‘६० मिनेट्स’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी सीमाबाट अवैध रूपमा प्रवेश गर्ने आप्रवासीको संख्या घटाउन आफ्नो प्रशासन सफल भएको दाबी गर्दै यसका लागि ‘ए प्लस’ अंक पाउनुपर्ने बताएका थिए ।
तर, ठूलो संख्यामा आप्रवासीलाई देशनिकाला गर्ने नीतिका कारण आफूलाई राजनीतिक क्षति पुगेको पनि उनले स्वीकार गरेका छन् । मंगलबार सम्पन्न मध्यावधि निर्वाचनमा आप्रवासनको मुद्दा रिपब्लिकन पार्टीका लागि फाइदाजनक र हानिकारक दुवै बनेको उनको भनाइ थियो ।
ट्रम्पले खराब गतिविधिमा संलग्न व्यक्तिलाई देशबाट निष्कासन गरेको विषयमा आफूले राम्रो मूल्यांकन पाउनुपर्ने बताएका छन् । तर, अमेरिकी गृह सुरक्षा विभागले अवैध आप्रवासीविरुद्धको कडा नीतिबाट सरकार पछि नहट्ने स्पष्ट पारेको छ ।
मध्यावधि निर्वाचनका दिन गरिएको सर्वेक्षणअनुसार आप्रवासन मतदाताका लागि तेस्रो सबैभन्दा महत्त्वपूर्ण मुद्दा बनेको थियो। यसले अमेरिकी राजनीतिमा आप्रवासनसम्बन्धी नीतिको प्रभावलाई पुनः चर्चामा ल्याएको छ ।


