विश्व मधुमेह दिवस आज मनाइदै – Kanika Khabar
Saturday, November 14Nepali News Portal

विश्व मधुमेह दिवस आज मनाइदै

    मा प्रकाशित

काठमाडौँ । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।

यस बर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेहविरुद्ध समयमै कदम’ रहेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सन् २०२६ देखि २०२७ सम्म दुई वर्षे अभियान सञ्चालन गरिनेछ। यस अभियानले मधुमेहको समयमै पहिचान, रोकथाम तथा उपचारमा जोड दिनेछ ।

मधुमेह अर्थात् डायबिटिजको समस्या पछिल्लो पटक सामान्य जस्तै हुन थालेको छ  । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यो समस्या देखिने सम्भावना रहने चिकित्सक बताउँछन्  । नियन्त्रणमा राख्न सके यो समस्या जति सामान्य हो अनियन्त्रित हुँदा त्यति नै घातक पनि हुन्छ । रगतमा ग्लुकोजको मात्रा निर्धारितस्तर भन्दा बढी हुँदा मधुमेह रोग हुने गर्छ । यो रोग लाग्दा शरीरमा आवश्यकताभन्दा कम इन्सुलिन बन्न थाल्छ । यसले गर्दा ग्लुकोज समुचित रूपले डढेर ऊर्जामा परिवर्तन हुन पाउँदैन र त्यही कारण रगतमा ग्लुकोजको मात्रा बढ्छ ।

चिकित्सकहरूका अनुसार अव्यवस्थित जीवनशैलीदेखि वंशाणुगतसम्मका कारणले मधुमेह हुन सक्दछ । मधुमेह नियन्त्रणमा राख्न नसके मिर्गौला, मुटुलगायतलाई असर पार्न सक्छ । यो रोग लाग्न नदिन र लागिसकेपछि पनि सुरक्षित जीवन बिताउन नियमित व्यायाम, सन्तुलित आहार विहार र व्यवस्थित जीवनशैली अपनाउनुपर्ने चिकित्सक बताउँछन्  । मधुमेहका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्ने भएकाले समयमै सतर्कता अपनाउन जरुरी छ  । यसका लागि वर्षमा कम्तीमा १ पटक स्वास्थ्य परीक्षण गराउनै पर्ने चिकित्सक बताउँछन्  ।

मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्